भदौ ३, एजेन्सी : सन् २०२३ को लिग्स कपको उपाधि विश्वकप विजेता लियोनल मेस्सी आबद्ध इन्टर मायामीले हात पारेको छ । मेस्सी मायामी आबद्ध भएको केही समयमै यस क्लबले इतिहासमै पहिलोपटक उपाधि जित्न सफल भएको हो ।
आइतबार निकै रोचक र नाटकीय खेलमा मायामीले पेनाल्टीमा १०–९ गोलले न्यासभिल सक्कर क्लबलाई हराएको हो । निर्धारित समय १–१ गोलको बराबरीमा रोकिएपछि खेलमा हारजितको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
लियोनल मेस्सीले खेलको २३औँ मिनेटमा आकर्षक गोल गर्दै मायामीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ५७औँ मिनेटमा न्यासभिलले बराबरी गोल फर्कायो । कर्नर हानिएको बललाई फाफा पिकाउले हेडरमार्फत गोल गरेपछि खेल बराबरीमा फर्किएको थियो ।
पेनाल्टीमा समेत निकै रोचक प्रतिस्पर्धा भयो । किनभने दुवै टोलीका सबै ११–११ खेलाडीले पेनाल्टी हाने । सुरुवाती पाँच–पाँच खेलाडीले पेनाल्टी हान्दा दुवैतर्फ ४–४ गोल भयो, त्यसपछि अन्य सबै खेलाडीले पनि अवसर पाए । अन्ततः मायामीले पेनाल्टीमा १० गोल गर्न सक्यो भने न्यासभिलले ९ गोल । मायामीका एक खेलाडीले मात्र पेनाल्टी मिस गरेउता न्यासभिलका दुई खेलाडीले गोल गर्न सकेनन् ।
यस जितसँगै मेस्सी लिग्स कपको सर्वाधिक गोलकर्ता र लिगको सर्वोत्कृष्ट खेलाडी पनि घोषित भएका छन् । मेस्सीले मायामीमा खेलेका सबै सात खेलमा गोल गर्न सफल भएका छन् । उनले ७ खेलमा १० गोल गरिसके ।
मायामी इतिहासमै पहिलो उपाधि जित्न सफल हुँदा मेस्सीले कीर्तिमानी ४४औँ पटक फुटबलमा उपाधि हात पार्न पनि सफल भए । उनी फुटबलमा सबैभन्दा बढी ट्रफी पाउने खेलाडी बनेका हुन् ।
मेस्सीको यो सफलतासँगै यतिबेला उनलाई यस वर्षको बालुन डि’ओरको विजेताको रूपमा हेर्न थालिएको छ । मेस्सीले सन् २०२२–२०२३ भित्र विश्वकपको उपाधि हात पारे, उनी विश्वकपको सर्वोत्कृष्ट खेलाडी पनि घोषित भए, उनले कोन्मेबोल–यूईएफए कप अफ च्याम्पियन्स जित्दा पीएसजीबाट लिग वान र फ्रेन्च सुपर कप हात पारे ।
बालुन डि’ओरका अर्का हकदारका रूपमा अर्लिङ हलान्डलाई हेरिएको छ । म्यानचेस्टर सिटीका फरवार्ड उनले सन् २०२२–२०२३ भित्र च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कपसँगै यूईएफए सुपर कप जितेका छन् । उनले युरोपियन गोल्डेन बुट जित्दा, प्रिमियर लिगका उत्कृष्ट खेलाडीको अवार्ड पाए भने च्याम्पियन्स लिगका पनि उनी नै सर्वाधिक गोलकर्ता बने ।

