भदौ ७, काठमाडौँ : वैदेशिक रोजगारीका लागि सर्बिया र इटाली पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–१२ स्थायी घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने २७ वर्षीय सुमन बुढाथोकी तथा इलाम सूर्योदय नगरपालिका–१४ घर भई हाल काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका–९ बस्ने ३० वर्षीय छविलाल अधिकारी रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।

यसैगरी वैदेशिक रोजगारीका लागि इटाली पठाइदिने भन्दै रकम ठगी गर्ने कालीकोट तिलागुफा नगरपालिका–३ घर भई हाल जिल्ला काठमाडौँ कीर्तिपुर नगरपालिका–५ बस्ने ५२ वर्षीय विष्णुरिषी पाण्डेलाई पनि प्रहरीले पक्राउ गरेको छ।

उनले तीर्थबहादुर थापालाई वैदेशिक रोजगारीको लागि इटाली पठाइदिन्छु त्यसका लागि रु आठ लाख लाग्ने तथा इटाली पुगेपछि पेट्रोलपम्पमा काम लगाइदिने भन्दै विश्वास दिलाइ निज पीडितबाट पटकपटक गरी जम्मा चार लाख २५ हजार रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो। पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल, काठमाडौँ पठाएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।