भदौ १७, काठमाण्डौ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारमा आगो लगाउने भन्दै शनिबार राति विवादास्पद अभिव्यक्ति दिएपछि उनको आलोचना भइरहेको छ । उनले महानगरपालिकाको गाडी ट्राफिक प्रहरीले रोकेपछि आक्रोश पोख्दै सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका थिए ।

उनले सामाजिक सञ्जालमार्फत भनेका थिए, ‘आजको लागी केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने , सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र प्रसाद भट्टले कोटेश्वरमा नियमित चेकजाँचमा महानगरपालिकाको गाडी परेको जानकारी दिए । पासबिनाको गाडी पाइएपछि सामान्य सोधपुछ गरेर छाडिएको उनको भनाइ छ । ‘सरकारी गाडी शनिवार चलेको हुनाले सोधपुछ गरिएको हो । विदाको दिन पास छ कि छैन भनेको हो । नभेटिएपछि चालकको लाइसेन्स हेरेर पास बोकेर हिँड्नु भनेको हो’, उनले भने ।

बालकुमारीतर्फबाट आएको गाडी कोटेश्वरमा चेकजाँचमा परेको थियो । हिजो साँझ ८ बजेर ५० मिनेटमा सो गाडी चेकमा परेको थियो । सो गाडीमा सविना सवार थिइन् । लगत्तै बालेनले फेसबुकमा आक्रामक अभिव्यक्ति दिएका हुन् । बालेनको अभिव्यक्तिलाई लिएर आलोचना भइरहेको बेला आइतबार बिहान उनको पुत्रीलाभ भएको भनेर सार्वजनिक गरिएपनि एक साता अघि नै सविना डेलिभरी भएको पाइएको हो ।

ba pa

आईभीएफ प्रविधिमार्फत बालेन पत्नी सविना काफ्लेले एक साताअघि नै दुई छोरीलाई जन्म दिएकी हुन् । तर, जन्मपछि दुईमध्ये एक बच्चालाई भने बचाउन नसकिएको अस्पताल निकट स्रोतले जनाएको छ ।

यस्तै अर्को बच्चाको स्वास्थ्यमा केही समस्या भएपछि ललितपुरको मेडिसिटी अस्पतालकै एनआईसीयूमा उपचार भइरहेको अस्पताल स्रोतको भनाइ छ । बच्चा अस्पतालमै रहेपनि सविना भने दुई दिनअघि नै डिस्चार्ज भइसकेकी छन् । बच्चा अस्पतालमा रहेकाले सविनासहित बालेनको परिवारका सदस्यको अस्पतालमै आउजाउ भइरहेको छ।

मेडिसिटी अस्पताल स्रोतले सविनाको एक साताअघि नै डेलिभरी भएको पुष्टि गर्यो । ‘उहाँ डेलिभरी भएको एक साता भइसक्यो । हामीलाई उहाँहरुले बाहिर केही नलैजानु भन्नुभएकाले धेरै भन्न मिल्दैन’, मेडिसिटीका एक अधिकारीले भने, ‘बच्चा अस्पतालमै छ । सबिनाजीको पनि दुई दिनअघि डिस्चार्ज गरिसकिएको छ ।’