२७ भदौ, काठमाडौं । सरकारले नेपालका विद्यालयमा मातृभाषासँगै नेपाली, संस्कृत र अंग्रेजी भाषामा पनि पढाउन पाइने प्रस्ताव गरेको छ ।
बुधबार संघीय संसद सचिवालयमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा शिक्षणको माध्यमभाषा मातृभाषा, नेपाली, संस्कृत र अंग्रेजी हुने व्यवस्था गरिएको छ । तर माध्यम भाषा जे सुकै भए पनि विज्ञान, गणित र कम्प्युटर भने अंग्रेजी भाषामा नै पढाउनुपर्ने व्यवस्था विधेयकमा गरिएको छ ।
नेपाली मौलिक कला, संस्कृति, सभ्यता, सामाजिक रहनसहन समेटिएका सामाजिक अध्ययनका विषय नेपाली वा मातृभाषा नै पढाउनुपर्नेछ ।