
१७ मंसिर, काठमाडौं । समग्र सेयर बजार डेढ वर्षयता ‘साइडवेज ट्रेन्ड’मा देखिए पनि बैंकिङ सूचक भने चरम बियरिस देखिएको छ । २ भदौ २०७८ मा ३१९८ विन्दुको उच्चत्तम रेकर्ड बनाएयता घटेको नेप्सेले पटकपटक १८ सय नजिक टेवा पाइरहेको छ । नेप्सेले डेढ वर्षदेखि नै १८ सय नजिक टेवा पाइरहँदा बजारमा सबैभन्दा शक्तिशाली रहेको बैंकिङ समूह भने ३० असार २०७७ यताकै न्यूनतम विन्दुमा झरेको छ । ‘बैंकिङ’ सूचक हाल ११४४ विन्दुमा कायम भएको छ, जुन विन्दु २९ महिनायताकै कम हो ।
नेपाल स्टक एक्स्चेन्जमा सूचीकृतमध्ये आधाभन्दा धेरै वाणिज्य बैंकहरुको सेयर मूल्य यतिबेला २ सय रुपैयाँभन्दा तल झरेको छ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बाहेक नेप्सेमा कुल १९ वटा बैंक सूचीकृत छन् । वाणिज्य बैंकमा कुमारीको सेयर मूल्य सबैभन्दा सस्तो १५० रुपैयाँ १० पैसा कायम भएको छ ।
नेप्सेभन्दा उच्च गिरावटमा बैंकिङ:
बैंकिङको गिरावट किन उच्च ?
अर्थतन्त्रमा पहिले देखिएको खराबको प्रभाव यतिबेला बैंकिङ क्षेत्रमा परेको सेयर बजारका जानकार रामहरि नेपाल बताउँछन् । ‘अर्थतन्त्रको नकारात्मक प्रभावले अहिले बैंकहरुको निष्क्रिय कर्जा उच्च दरले बढ्यो, यसले नाफा तथा प्रतिफलमा पनि असर पार्यो,’ उनले भने, ‘नबिलसहित केही बैंकले इतिहासकै कमजोर लाभांश दिए, केही बैंक लाभांश दिन नसक्ने अवस्थामा छन् ।’
बैंकहरुले अहिले घोषणा गरेको लाभांश गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हो । गत वर्षको नाफामा अघिल्लो वर्षको बिजनेस जोडिएको, जतिबेला अर्थतन्त्र समस्यामा परेको थियो, त्यसको असर अहिलेसम्म परिरहेको उनको भनाइ छ ।
अर्कोतर्फ बैंकहरुको पहिलो त्रैमासिक वित्तीय विवरण पनि सन्तोषजनक नदेखिँदा सेयर लगानीकर्ता यस क्षेत्रप्रति अझै आशावादी हुन नसकेको लगानीकर्ता पिताम्बर खकुरेलले बताए ।
‘अहिलेको वित्तीय विवरणको असर आगामी वर्ष दिने लाभांशमा पर्छ, पहिलो त्रैमासिक वित्तीय विवरण राम्रो देखिएन,’ उनले भने, ‘त्यसकारण यो क्षेत्रमा आशलाग्दो पक्ष नै देखिएको छैन, २/३ वर्षसम्मै राम्रो लाभांश नआउनेजस्तो देखिँदा पैसा भएकाहरु पनि बैंकमा राखेर ब्याज नै खान्छन् नि !’ जब लगानीकर्ताको तर्फबाट बैंकहरुको सेयर माग पक्ष कमजोर बन्छ, त्यसले समूहको सूचक घटाउँदै लान्छ ।
तुलनात्मक रुपमा अरु समूहरुको तुलनामा बैंकिङ क्षेत्रको पूँजी उच्च छ, जसले गर्दा यो समूहले समग्र बजारलाई ‘ह्यान्डल’ गर्ने क्षमता राख्छ भने आपूर्ति थेग्ने सामथ्र्य पनि कमजोर बन्ने गरेको उनको भनाइ छ ।
प्राविधिक ट्रेन्डलाइनमा थप कमजोर बैंकिङ :
फियर एण्ड ग्रिड इन्डेक्समा यतिबेला बैंकिङ समूह फियर जोनमा पुगेको छ । यसको अर्थ बैंकहरुको सेयर खरिदका लागि लगानीकर्तामा विश्वास कमजोर बनेको छ । बोलिङ्गर ब्यान्डअनुसार बैंकिङ उपसमूहको क्यान्डल स्टिक लोअर ब्यान्डभन्दा तल झरेको छ । जसले गर्दा बैंकिङ उपसमूहमा सेयर डिमान्ड पक्ष थप कमजोर बन्ने संकेत जनाउँछ ।
एमएसीडी लाइनले सिग्नल लाइनलाई क्रस गरेर तल झर्ने संकेत देखाएको छ । एमएसीडी र सिग्नल लाइनबीचको ‘ग्याप’ ठूलो नभए पनि एमएसीडी ‘बेसलाइन’ ऋणात्मक (रातो) भइसकेको छ । यसले बैंकिङ उपसमूह थप घट्ने सम्भावना देखाएको छ । बैंकिङ समूहको आरएसआई ३१.५ मा छ । आरएसआई न्यूनतम अंकमा रहेकाले मूल्य उतारचढावका हिसाबले भने बैंकिङ क्षेत्र कम जोखिम रहेको संकेत गर्दछ ।