
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का नवनियुक्त उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः तीन वर्षे बनाइने बताएका छन् ।
त्रिविले २०७१/०७२ सालदेखि व्यवस्थापन सङ्कायतर्फ चार वर्षे स्नातक कार्यक्रम सुरुआत गरेको थियो ।
अमेरिकालगायत केही देशमा चार वर्षे स्नातक तहका कार्यक्रम सञ्चालनमा रहेको उल्लेख गर्दै उपकुलपति बरालले ‘त्यस्ता देश वा त्यस्तै चार वर्षे विषय पढ्न जान चाहने विद्यार्थीका लागि तीन वर्षे कोर्ष सकेपछि थप एक वर्षको छुट्टै मानार्थ उपाधिका कार्यक्रम चलाउन सकिन्छ ।’
साथै उन्ले विषयको विशिष्टताका कारण केही विषयका स्नातक कार्यक्रम भने चार वर्षे वा पाँच वर्षे हुनसक्ने बताए । विश्वविद्यालयका केही कार्यक्रममा विद्यार्थी सङ्ख्या अत्यन्त न्यून र केहीमा शून्य रहेकातर्फ औंल्याउँदै उहाँले अहिले मानविकी सङ्कायमा अरू कार्यक्रमको तुलनामा कम विद्यार्थी भर्ना हुने गरेको बताए ।
यसको समाधानका लागि मानविकीलाई सबै सङ्काय र कार्यक्रमबाट आउन मिल्ने (मल्टी डिसिप्लिनरी लिवरल आर्ट)का रूपमा पुनः संरचना गरिने जानकारी पनि बरालले दिए । शिक्षा सङ्कायका कार्यक्रमलाई पनि सबै विषयबाट प्रवेश गर्न मिल्ने बनाइन उन्ले बताए ।
केही वर्षयता त्रिविको संरचना ठूलो र भद्दा भएको चर्चा गरिने उल्लेख गर्दै उपकुपति बरालले यसको पुनः संरचनाका लागि आफू तयार रहेको बताए ।
उपकुपति प्रा.डा. बरालले त्रिविका शैक्षिक कार्यक्रमहरूलाई उत्पादन र बजारसँग जोड्न आफू लागिपर्ने बताए। देशको मौलिक र रैथाने ज्ञानलाई विश्वविद्यालयको प्राज्ञिक अध्ययन(अनुसन्धानसँग जोड्नका लागि दीर्घकालीन योजना बनाइने जानकारी पनि उन्ले दिए । साथै हिमाली उपचार पद्धति आम्ची र आयुर्वेदिक अध्ययन(अनुसन्धानका कार्यक्रममा पनि विशेष जोड दिएर उठाइने बताए ।
यसैगरी, देशको विशिष्टता अनुरूप पर्वतारोहणको उच्चशिक्षाका लागि विशेष योजना ल्याइने र विदेशी विश्वविद्यालयसँग ज्ञान आदानप्रदानका कार्यक्रममार्फत अघि बढाइने पनि उपकुलपति प्रा.डा. बरालले बताए । होटल व्यवस्थापनमा अध्ययनसँगै कमाइको अवधारणालाई त्रिवि कार्यक्रमभित्रै समेटेर अघि बढाइने समेत जानकारी दिए ।
प्रा.डा. बराललाई निवर्तमान कार्यवाहक उपकुपति शिवलाल भुसाललगायत त्रिविका वरिष्ठ कर्मचारी तथा प्राध्यापकहरूले स्वागत गरेका थिए ।