३० वैशाख, काठमाडौं । बाटो हिँड्ने क्रममा आपसमा ठोक्किएको निहुँमा उत्पन्न विवाद बढ्दै जाँदा काठमाडौंमा एक युवकको हत्या भएको खुलेको छ ।
काठमाडौं बत्तिसपुलतीस्थित कुमारी टोलमा मोरङ घर भएका २४ वर्षीय शम्भु धिमालको शनिबार राति साढे ७ बजेतिर हत्या भएको थियो । हत्या आरोपमा पक्राउ परेकामाथि अनुसन्धान गर्दा सामान्य निहुँमै हत्या भएको खुलेको हो ।
धिमालको हत्या आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ परेका १८ वर्षभन्दा कम उमेरका रहेकाले प्रहरीले उनीहरूको नाम, ठेगाना सार्वजनिक गरेको छैन । उनीहरू साथीको जन्मदिनको भोजमा गएर फर्किएको पाइएको छ ।
‘मृतक र पक्राउ परेकाहरू बीच कुनै चिनजान पनि देखिँदैन । अन्य कारण पनि देखिँदैन । ठोक्किएकै निहुँमा हत्या भएको देखिन्छ,’ एसपी अधिकारीले भने ।
किशोरहरूको आक्रमणबाट धिमालसँगै रहेका मोरङकै मनिष चौधरी सामान्य घाइते भएका छन् ।

