गर्भावस्थामा ग्यास्ट्रिकले सतायो, के गर्ने ?

गर्भावस्था संवेदनशील र महत्वपूर्ण अवस्था हो । यो समयमा हर्मोनको गडबडले स्वास्थ्यमा विभिन्न समस्या देखिन्छ । स्वास्थ्य समस्या देखिएमा कुनै पनि औषधि खाँदा विशेष सावधानी अपनाउनुपर्छ ।

‘ओभर द काउन्टर’ मनलाग्दी औषधि त खानै हुँदैन । किनकि औषधिको डोजले यो समयमा अन्यबेला बढी समस्यामा पार्न सक्छ । आमालाई मात्र होइन, गर्भमा रहेको बच्चालाई समेत नकारात्मक असर पार्ने हुँदा सजग हुनैपर्छ ।

गर्भावस्थामा सबैभन्दा बढी सताउने समस्या ग्यास्ट्रिक पनि हो । ग्यास्ट्रिकले सताएपछि गर्भवती महिलालाई अब के गर्ने ?  औषधि खान मिल्ने हो कि होइन, के ग्यास्ट्रिकले नै असहज गराइरहेको हो त ? जस्ता  मनमा प्रश्न र चिन्ता दुवै हुन्छ ।

गर्भावस्थामा ग्यास्ट्रिक किन हुन्छ ?

पहिलेदेखि नै ग्यास्ट्रिक भएको महिलालाई गर्भावस्थामा थप सताउँछ । पहिला यो समस्या नभए पनि हर्मोनको गडबड र भ्रूणले ठाउँ लिंदा शरीरमा बढ्ने चापका कारण ग्यास्ट्रिक हुनसक्छ ।

प्रोजेस्टोरोन हर्मोनको गडबडले आन्द्रामा असर पार्ने कारणले ग्यास्ट्रिक गराउन सक्छ । अर्को भनेको यो समयमा अन्ननली कमजोर भई पेटको अम्लीय पानी घाँटीमा आइरहने समस्या हुन्छ । जसकारण महिलाले अमिलो पानी मुखमा आएको अनुभव गर्छिन् । त्यस्तै, कुनै खानेकुरा र औषधिको प्रतिक्रियाले पनि यो समस्या ल्याउँछ ।

लक्षण:

छाती पोल्ने, बान्ता हुने, अमिलो डकार आउने, पेट दुख्ने वा अप्ठ्यारो अनुभव हुने र हल्का डाइरिया हुने जस्ता लक्षण हुनसक्छ ।

ग्यास्ट्रिक देखिए उपचार के हुनसक्छ ?

यस्तो समस्या भएको २४ घण्टामै अवस्था सामान्य छ भने केही औषधि गर्नु पर्दैन । तर  समस्या बढ्यो भने एक पटक देखाइरहेको चिकित्सकको परामर्श लिनु आवश्यक हुन्छ । यस्तो अवस्थामा गर्भवती महिलालाई प्रत्येक दुई घण्टामा सुपाच्य खानेकुरा खानुपर्छ । चिकित्सकले अवस्था हेरेर एन्टिएसिड औषधिको रुपमा डायजिनको झोल चलाउन सकिन्छ ।

त्यसले पनि असर नगरेमा प्यानटप एकिलग भन्ने औषधि सिफारिस गर्न सक्छन् । यी औषधि अन्य औषधिभन्दा कम साइड-इफेक्ट र सुरक्षित छ । तर चिकित्सकको सल्लाह विना लिन भने मिल्दैन ।

औषधिसँगै पर्याप्त मात्रामा पानी खाने, फाइबरयुक्त खानेकुरा खाने, सोडायुक्त, तारेको, मसालेदार खानेकुरामा कम गर्ने, सहज हुने खालका हलुका लुगा लगाउने र मनतातो पानीले नुहाउने गर्दा यो समस्या कम हुँदै जान सक्छ । सुपाच्य खानेकुरामा बढी जोड दिनुपर्छ । ताकि, पाचन प्रक्रियामा खानेकुरा टुक्राउन र पचाउन सहज होस् ।

ग्यास्ट्रिकले गर्भमा रहेको बच्चामा कुनै असर पार्छ ?

ग्यास्ट्रिक भएमा महिलालाई मात्र प्रभाव पार्छ । ग्यास्ट्रिकको प्रकृति अनुसारकै लक्षण देखिन्छ । तर गर्भमा रहेको बच्चामा भने यसको नकारात्मक प्रभाव पर्दैन ।