खगेन्द्र पराजुली पुस ८, नवलपुर । धौवादीको पहिरो कुनै पनि बेला कावासोतीका लागि खतरा रहेको अध्ययनले देखाएको छ । हुप्सेकोट गाउँपालिकामा पर्ने उत्तरी पहाडी क्षेत्र राम्चेको भीर पनि भनेर चिनिने डाँडो ठूलै विनास निम्त्याउन सक्ने अवस्थामा रहेकोले सम्भावित क्षति रोकथाममा विशेष गरी हुप्सेकोट र कावासोती नगरपालिका गम्भीर हुन पनि अध्ययन प्रतिवेदनमार्फत विज्ञ टोलीले सुझाएको छ ।
आइतबार जिल्ला समन्वय समिति नवलपुरमा आयोजित दिगो रूपमा नदीजन्य पदार्थ उत्खनन र संरक्षण विषयक अन्तरक्रिया कार्यक्रममा अध्ययनले देखाएको निष्कर्ष जस्ताको तस्तै प्रस्तुत गरेका वातावरणविद् निरोज तिमिल्सिनाले धौवादी डाँडाको भौगोलिक बनावट र प्राकृतिक कारणले कुनै पनि बेला जोखिम निम्तन सक्ने खतरा रहेको बताए ।
वातावरण विद् तिमिल्सिनाका अनुसार राम्चेको डाँडोको आधार नै कमजोर छ । डाँडाको जगको रुपमा मान्न सकिने तलको आधार (वेस) मा चिप्लो ढुंगा र माथीपट्टि ठूल्ठूला, गह्रुंगा चट्टान भएका कारण विनासकारी पहिरोको सम्भावना छ– वातावरणविद् तिमिल्सिनाले भने ।
राम्चेको पहिरो रोक्न सक्ने सामथ्र्य नरहेको बताएका वातावरणविद् तिमिल्सिनाले धौवादी हुप्सेकोटको हो भनेर कावासोती मौन बस्न नहुने पनि बताए । राम्चेको पहिरो खस्दा सबैभन्दा धेरै क्षति कावासोतीलाई नै हुने भएकाले यसलाई जिल्लाकै अस्तित्व संरक्षणका लागि सवै पक्षले गम्भीर हुन पनि सुझाए । उनले कावासोती जिल्लाकै सदरमुकाम भएकाले यहाँ बन्ने प्रक्रियामा रहेको नमूना सदरमुकामदेखि, कावासोतीको मानवीय, भौतिक, जैविक सम्पत्तिको सुरक्षाका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारका जनप्रतिनिधि, सरोकारपक्ष र जिम्मेवार निकायले बेलैमा सोच्नुपर्नेतर्फ पनि संकेत गरे ।
अध्ययन प्रतिवेदन बाहेक पनि नदीजन्य पदार्थको उत्खनन् र ब्यवस्थापन, वातावरण संरक्षणका मापदण्ड, नियमावलीका साथै गण्डकी प्रदेशको वातावरण संरक्षण ऐन, वन र निकुञ्जका पनि छुट्टै ऐन, नियममा तालमेल नमिलेको बताएका उनले भौगोलिक स्थितिको अध्ययनका आधारमा आवश्यकता अनुसार कानून संसोधन गर्दै विपत्ति रोकथाम गर्न सकिने विषय प्राथमिकतामा राख्नुपर्ने बताए ।
सहमति गैंडाकोटले आयोजना गरेको अन्तरक्रियामा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले कावासोती मात्र नभएर सिंगो नवलपुर सदरमुकाम जोखिममा छ भन्ने बुझेर जिल्लास्थित राजनैतिक दल, स्थानीय सरकार, नवलपुरबाट संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने मन्त्री–सांसद गम्भीर भएर राज्यको ध्यानाकर्षण गराउन जरुरी रहेको बताए । उनले समन्वयले गर्ने समन्यवकारी भूमिकाको प्रतिवद्धता पनि जनाए ।
आयोजक संस्था सहमतिका उपाध्यक्ष नगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा भएको कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर अमलटारीका प्रमुख मधु नेपालीले नदीजन्य पदार्थको उत्खनन्, संरक्षण केन्द्रित निकुञ्जको ऐन, नीति, निर्देशिकाका बारेमा प्रस्तुति राखेकी थिईन् ।
डब्लु, डब्लु एफ र सहमतिको आयोजना तथा जिल्ला समन्वय समिति नवलपुरको समन्वयमा भएको अन्तरक्रिया कार्यक्रमको सहजीकरणसँगै विषयप्रवेश गराएका सहमतिकै एक परियोजना ‘प्रकृतिमा आधारित समाधान– ट्रिपल वेनिफिट प्रोग्रामका संयोजक खेमराज खनालको सहजीकरणमा भएको कार्यक्रममा सहमतिका उपाध्यक्ष नगेन्द्र रिजालले बिकासको गतिमा अगाडि बढ्दै गरेको कावासोतीको चासो–चिन्ता सवैले गर्नुपर्ने र त्यसका लागि सहमतिले गर्नुपर्ने भूमिकाका लागि तयार रहेको बताए ।
समग्रमा बातावरणविद् विज्ञ सहितको टोलीले गरेको अध्ययन प्रतिवेदन प्रस्तुतिकरण र सरोकारसम्वद्ध पक्षका प्रतिनिधिहरुको भनाई र धारणालाई आधार मान्दा अर्वौ रकमको लगानीमा बन्ने एकिकृत भवन पुर्वाधारसहितको नमूना नवलपुर सदरमुकाम मात्रै नभएर शहरीकरण सहितको बिकासले निर्माण भइरहेको कावासोतीको खरबौको निजी तथा सार्वजनिक–सामुदायिक भौतिक सम्पत्ति, मानव बस्ती, खेतीयोग्य तथा आवासीय जमिन क्षेत्रको बचाउका लागि सम्वन्धित पक्षको बेलैमा गम्भीर ध्यानाकर्षण हुन जरुरी देखिन्छ ।