बोमलाल गिरीः नवलपुर, असार १० गते । नवलपुरका सबै पालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को आय व्यायको विवरण सार्वजनिक गरेका छन् । जिल्लाका चारवटा नगरपालिका र चारवटा गाउँपालिकाले आयव्यायको विवरण सार्वजनिक गरेका हुन् ।

जसमध्ये गैँडाकोट नगरपालिकाले सबैभन्दा धेरै १ अर्ब ८ करोड ७२ लाख ४४ हजार रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख शान्ति कोइरालाले नगरसभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ ६३ करोड ३१ लाख ४६ हजार अर्थात ५८.२३ प्रतिशत र पूँजीगततर्फ ४५ करोड ४० लाख ९८ हजार अर्थात् ४१.७७ प्रतिशत छुट्टाइएको छ ।

नगरपालिकाले सञ्चित कोष तथा अन्य कोषहरुबाट ५ करोड ५० लाख, आन्तरिक राजश्वबाट २७ करोड ८६ लाख १० हजार, संघीय सरकार तथा गण्डकी प्रदेश सरकारबाट राजश्व बाँडफाँटबाट १६ करोड ६१ लाख ७१ हजार, अन्तर सरकारी वित्तिय हस्तान्तरण तथा अन्तर सरकारी अख्तियारीबाट ५८ करोड ७४ लाख ६३ हजार रुपैयाँको अनुमान पेश गरेको छ ।

मध्यविन्दु नगरपालिकाले एक अर्ब पाँच करोड ३४ लाख ३९ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । पालिकाको १७औं नगरसभामा नगर उपप्रमुख पूर्णकला चौधरीले प्रस्तुत गरेको आय व्यायको विवरण नगरसभाले स्वीकृत गरेको छ । जसमध्ये चालु खर्चतर्फ ६६ करोड २९ लाख ३६ हजार रुपैयाँ र पुँजीगत खर्च तर्फ ३९ करोड पाँच लाख ३ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

बजेट वक्तव्यमार्फत नगरपालिकाले विगत वर्षमा देखिएका चुनौतीलाई सामना गर्दै आगामी वर्षलाई अझ बढी जनमुखी, समावेशी र दिगो विकासतर्फ डोहोर्याउने प्रतिवद्धता जनाएको छ । बजेटमा आर्थिक क्षेत्र अन्तर्गत कृषिलाई यान्त्रिकीकरण, व्यावसायिकरण तथा जैविक प्रविधि अपनाइ आत्मनिर्भर बनाउने उद्देश्य राखिएको छ ।

त्यस्तै कावासोती नगरपालिकाले १ अर्ब ६१ लाख ४४ हजार रुपैयाँको आय व्याय विवरण सार्वजनिक गरेको छ । नगर उपप्रमुख फुलकुमारी थनेतले मंगलबार बसेको १७औं नगरसभामा कृषि, पूर्वाधार, ऊर्जा, बालस्वास्थ्य र सरसफाई क्षेत्रलाई प्राथमिकता दिएर कुल अनुमानित आय १ अर्ब ६१ लाख ४४ हजारको बजेट सार्वजनिक गरिन् ।

यसमा नगरको आन्तरिक स्रोतबाट ६ करोड ५० लाख, संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १७ करोड २ लाख, राजस्व बाँडफाँड १४ करोड ८३ लाख, सशर्त अनुदान ४३ करोड ६६ लाख, विशेष अनुदान ४ करोड १८ लाख, समपूरक अनुदान ६० लाख, प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण २ करोड २८ लाख अनुमान गरिएको छ ।

देवचुली नगरपालिकाले चालूतर्फ ५५ करोड ५८ लाख ९१ हजार ५ सय २ रूपैयाँ र पूँजीगततर्फ ३२ करोड ९५ लाख ६८ हजार ४१ रूपियाँ गरि ८८ करोड ५४ लाख ५९ हजार ५ सय ४३ रुपैयाँको बजेट सार्बजनिक गरेको हो ।

नगरसभामा नगर उपप्रमुख पार्वता तिवारीले आव ०८२/८३ का लागि सोमबार बजेट पेश गरेकी हुन् । उप प्रमुखद्वारा पेस गरिएको बजेटमा संङ्घीय सरकारको ससर्त अनुदान ३४ करोड ५६ लाख, वित्तिय समानीकरण अनुदान १३ करोड ६७ लाख, विशेष अनुदान २ करोड २५ लाख, राजस्व बाँडफाड १२ करोड ९१ लाख २५ हजार ६ सय ९३ रूपैया, र गण्डकी प्रदेश सरकारबाट वित्तिय समानीकरण अनुदान १ करोड ७९ लाख ३२ हजार समावेश गरिएको छ ।

विनयी त्रिवेणी गाउँपालिकाले ८३ करोड ६२ लाख १० हजार को बजेट ल्याएको छ । गाउँ सभाको अधिवेशनमा उपाध्यक्ष भगवती वैदवारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी हुन् । उपाध्यक्ष वैदवारले पेश गरेको बजेटमा पुँजीगत तर्फ ३१ करोड ७८ लाख ४७ हजार र चालु तर्फ ५१ करोड ८२ लाख ६३ हजार व्यवस्था गरिएको छ ।

हुप्सेकोट गाउँपालिकाले ५५ करोड १० लाख ८० हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँ सभामा उपाध्यक्ष पूर्णसिंह राना मगरले आगामी आर्थिक वर्षका लागि ५५ करोड १० लाख ८० हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन ।

 

रानाले गाउँ सभामा पेश गरेको बजेटमा सामाजिक विकासमा सबैभन्दा धेरै अर्थात् २६ करोड ८ लाख १४ हजार विनियोजन गरिएको छ । त्यसैगरी आर्थिक विकासतर्फ २ करोड ८४ लाख ६५ हजार, पूर्वाधार विकासमा १८ करोड २३ लाख, प्रशासन र सुशासनमा ७ करोड ७० लाख, वन, वातावरण तथा विपद् व्यवस्थापनमा २४ लाख ९० हजार छुट्याइएको छ ।

यस्तै बुलिङटार गाउँपालिकाले ५० करोड ५५ लाखको आयव्यायको विवरण सार्वजनिक गरेको छ । बौदिकाली गाउँपालिकाले ४८ करोड ५५ लाख ६७ हजार १२ रुपैयाको बजेट विनियोजन गरेको छ ।