विष्णु गौडेल, कावासोती : नवलपुरकाे हुप्सेकोट गाउँपालिकामा अदुवामा आधारित कृषि वन प्रणाली विकास गर्ने उद्देश्यले किसानहरूलाई विभिन्न प्रजातिका बिरुवा वितरण गरिएको छ ।

सिआरएस( CRS ) नेपालको आर्थिक साझेदारीमा हिकोडेफको आयोजना एवं हुप्सेकोट गाउँपालिकाको समन्वयमा स्थानीय ४५० जना कृषकहरूलाई फलफूलका बिरुवा वितरण गरिएको हो ।  हुप्सेकोट गाउँपालिकाको वडा नं.२,४,५ र ६ का चार सय ५० घरपरिवारलाई एक हजार नौ सय कफी, तीन हजार कागती र एक सय ५० वटा सुन्तलाको बिरुवा वितरण गरिएको परियोजना संयोजक प्रशान्त रिजालले बताए ।

मध्य पहाडी क्षेत्रमा क्षयग्रस्त भू–परिवेशमा दिगो तथा सुधारिएको कृषि प्रणाली विकास गर्दै जैविक विविधताको प्रवद्र्धन, पारिस्थितिक प्रणालीको संरक्षण, साना कृषकको जीवनस्तर उकास्ने र आर्थिक–जीविकोपार्जन सहनशीलता अभिवृद्धि गर्न यो कार्यक्रम सञ्चालन गरिएको संयोजक रिजालले जानकारी दिए ।

परियोजनाले घरदैलोमै पुगेर कृषकलाई प्राविधिक तथा सामाजिक सहयोग समेत गर्ने भएको छ । यसले अदुवा उत्पादन र बजारीकरणमा समूहगत प्रवद्र्धन गर्ने तथा कृषि शाखा र पालिकाका कार्यक्रमसम्म कृषकलाई जोड्ने पुलको भूमिका खेल्ने लक्ष्य लिएको जनाइएको छ ।
अदुवा खेतीमा आवश्यक ओसपुग र फलफूल खेती विस्तारले कृषकको आयआर्जनमा ‘पेन्सन’ जस्तै दिगो स्रोत सिर्जना गर्ने र कार्बन शोषणमार्फत वातावरणीय दिगोपनामा योगदान पुर्याउने विश्वास गरिएको संयोजक रिजालले बताए ।

कृषकहरूलाई बिरुवा हस्तान्तरण गर्दै हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले पहाडी क्षेत्रका जनालाई आत्मनिर्भर बनाउन यो कार्यक्रम सहयोग सिद्ध हुने विश्वास व्यक्त गरिन। भिरालो जमिनमा अदुवा मात्र खेती गर्ने किसानले अव कागती,कफी,सुन्तला लगायतका बिरुवा समेत लगाएर आम्दानी गर्न सक्ने उहाँले बताइन ।

आगामी पाँच वर्ष सम्म सञ्चालन हुने यस परियोजनाले कृषकहरूलाई बिरुवा रोप्ने देखि उत्पादन बिक्री गर्ने सम्मको सम्पूर्ण प्रक्रियामा प्रत्यक्ष सहयोग गर्ने बताए । हुप्सेकोट गाउँपालिका उपाध्यक्ष पूर्ण सिङ रानाले परम्परागत कृषि गरिरहेको अवस्थामा बहु उपयोगी कृषि तर्फ पहाडी क्षेत्रका जनालाई जोडन पाउनु ठुलो सफलता रहेको बताए । बहु वर्षीय  उत्पादनमा कृषकलाई जोड्दा आर्थिक स्तरमा समेत फड्को मार्न सकिने उपाध्यक्ष रानाले बताए ।

नवलपरासी पुर्वकाे हुप्सेकोट र बौदीकाली गाउँपालिकामा सञ्चालन हुने वातावरणीय दिगोपनका लागि लगानी र क्षमताहरूको सुरक्षा र संरक्षण ( SPICES   ) परियोजना मार्फत दुई पालिकामा कुल ९०० जना कृषकसँग प्रत्यक्ष सहकार्य हुने जनाइएको छ । यसमार्फत कुल तीन हजार एक सय कफी, पाँच हजार कागती र तीन हजार पाँच सय सुन्तलाका बिरुवा कृषकलाई वितरण गरिएको छ ।

बिरुवा वितरणका लागि वडा, पालिका र कृषि शाखासँगको समन्वयमा अदुवा खेतीमा संलग्न समूहलाई प्राथमिकता दिइएको परियोजनाका कृषि प्राविधिक समीर लामिछानेले बताए ।

परियोजना हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ) मार्फत सञ्चालन गरिएको हाे ।