असार १, पोखरा,
गण्डकी प्रदेशको कास्की सँगै देशैभरका धेरैजसो जिल्लाहरुमा लगातार भारी वर्षा हुँदा विभिन्न स्थानहरु डुवानमा परेका छन् भने केहि ठाउँहरुमा पहिरोले क्षति पुर्याएको छ ।
लगातारको वर्षाले आएको बाढीका कारण कास्कीमा निर्माणाधीन सुपर मादी हाइड्रोपावरमा ठुलो क्षति पुगेको छ । हाइड्रोपावरमा रहेका मेसिनरी, यन्त्र उपकरण, क्रसर उद्योग सेट, रड आदि गरी करिब १५ करोड बराबरका सामग्री बगाएको हाइड्रोका सञ्चालक धनराज आचार्यले जानकारी दिनुभएको छ ।
निर्माण स्थलमा रहेका एक्स्काभेटर,लोडर, आरएमसी सेट, क्रसरको ४ युनिट, ठुलो जेनरेटर, काटेर राखिएका रडको थुप्रो लगायत बगाएको र यसबारे प्रहरीले लगत जुटाउने कार्य गरिरहेकोले १५ करोड भन्दा अझै धेरैको क्षति भएको हुनसक्ने सञ्चालक आचार्यले बताउनुभयो ।
यस्तै
पोखरा महानगरपालिका वडा नं. ६ मा नहरमा आएको बाढी थुनिदा तीन घरमा क्षति पुगेको छ । बैदामको स्ट्रिट ३१ स्थित वसन्त बैठक नहर मार्गमा सिचाईको नहर थुनिदा स्थानीय विश्वेश्वर पौडेल र वासु पौडेलको ३ घरमा क्षति पुगेको वडाध्यक्ष जगत पहारीले बताउनुभयो ।
वर्षाका कारण पोखरा ९ नयाँबजार शिध्द्धमार्ग देखी सेती नदी जाने बाटो छेउ भत्किएको छ । सो क्षेत्र वरिपरिका घरहरु जोखिममा परेका छन् ।
यस्तै
वर्षासँगै आएको पहिरोका कारण बागलुङको काठेखोला गाउँपालिकामा पाँच घर विस्थापित भएका छन् । काठेखोला गाउँपालिका–७ जिरेदीमा घरमाथी र घरमुनीबाट पहिरो गएपछि ५ परिवार विस्थापीत भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
सदरमुकाम बागलुङ बजार हुँदै रेश जोड्ने सडकको जिरेदी भन्ने स्थानमा सडक भासिँदा घरमाथि पहिरो आएको वडाअध्यक्ष प्रेम जिसीले बताउनुभयो । पहिरोका कारण बागलुङ सदरमुकाम र स्थानीय तहबीचको सडक सञ्जाल पनि टुटेको छ ।
अविरल वर्षाकै कारण सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिला र त्यस क्षेत्रका बजार डुबानमा परेको छ । पर्वत, स्याङजा र गूल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका–६ सेतीवेणीमा रहेको स्याङ्जातर्फको बजार डुबानमा परेको हो ।
कालीगण्डकीमा पानीको सतह २८ वर्ष यताकै उच्च विन्दुमा पुगेपछि शिलासँगै बजार पूर्णरूपमा डुबानमा परेको स्थानीय तीलक पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार दर्जन भन्दा वढि घरहरु डुबानमा पर्न थालेपछि उनीहरूको पसलमा रहेका सामान र मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
उता
मनाङको सदरमुकाम चामेमा ६ घर बगाएको छ । दुईवटा खोलामा आएको बाढीले चामेमा ट्रस्ट बनाएर बसेका थुप्रै होटल र पसलहरु समेत बगाएको छ । चामेका बासिन्दालाई तत्कालै माडास्थित कारागारमा पु¥याएका कारण मानवीय क्षति हुन नपाएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । बाढीका कारण जिल्ला प्रहरी कार्यालय समेत डुबानमा परेको प्रहरीले बताएको छ ।