सप्तकोशीले पश्चिम भूभाग कटान गर्दा श्रीलंका टापुका ५ सय घरपरिवार बाढीको उच्च जोखिममा

  • समाचार
  • २०७८ श्रावण ३२, सोमबार २१:५७

सुनसरी, साउन ३२ । सप्तकोशी नदीमा आएको बाढीले सुनसरीको पश्चिम भूभागमा तीब्र कटान गरेको छ ।

पूर्वी पहाडी जिल्लाहरुमा लगातार पानी परेपछि सप्तकोशीमा आएको बाढीले सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ को श्रीलंका टापुमा कटान थालेको छ ।

पूर्वी तटबन्धमा बगिरहेको सप्तकोशी यस पटक भने पश्चिमतर्फ फर्किएको छ । भारतको बिहार सरकारले पूर्वी तटबन्ध निर्माणको काम गरेपछि कोशीले पश्चिमतर्फ धार परिवर्तन गरेको हो ।

भारतले पश्चिमतर्फ तटबन्ध निर्माण नगर्दा यस क्षेत्रमा बाढीले बर्षेनी हजारौं बिघा जमिन कटान गरेको छ । सप्तकोशीको बाढी जमिन कटान गर्दै सप्तकोशीको बीचमा पर्ने श्रीलंका टापुको बस्ती नजिक आएपछि स्थानीय त्रसित बनेका छन् ।

सप्तकोशीको बाढीले पश्चिमतर्फको भू–भाग कटान गर्दा श्रीलंका टापुका ५ सय घरपरिवार बाढीको उच्च जोखिममा परेको बराहक्षेत्र नगरपालिकाका वडा नम्बर ६ का वडा सदस्य श्यामबहादुर लिम्बुले बताउनुभयो ।

सप्तकोशीले पश्चिमतर्फको श्रीलंका टापु आसपासका क्षेत्रमा नौ किलोमिटर लम्बाई र एक किलोमिटर चौडाई कटान गर्दा २ हजार ५ सय बिघा खेतियोग्य जमिन गुमाउनु परेको उहाँको भनाइ छ ।

सप्तकोशी नदीको बाढी बस्ती नजिक आएपछि सप्तकोशीको बीचमा रहेको श्रीलंका टापुका ५ हजारभन्दा बढी सर्वसाधारण विस्थापित हुने अवस्था रहेकाले तत्काल कोशी कटान नियन्त्रणको काम थाल्न वडा सदस्य लिम्बुले सरकारसँग माग गर्नुभयो ।

सप्तकोशीमा आएको बाढीले बर्षेनी सर्वसाधारणका घरखेत बगाउँदा समेत स्थानीय, प्रदेश र संघीय सरकारले बाढी नियन्त्रणमा चासो नदिएको र पीडित परिवारलाई राहत उपलब्ध नगराएको स्थानीयको गुनासो छ ।

कोशी कटान संघर्ष समितिका अध्यक्ष मिश्रीलाल महतोले सप्तकोशी नदीले जमिन कटान गरेर बस्ती नजिक आउँदासमेत यहाँका बासिन्दाको जिउधनको सुरक्षाका लागि सरकारले कुनै पहल नगरेको गुनासो गर्नुभयो ।

भारतको नियन्त्रणमा रहेको कोशी ब्यारेजका सबै ढोका नखोल्दा नदीमा आएको बाढीले हालसम्म ५० हजार विघाभन्दा बढी खेतियोग्य जमिन कटान गर्नुका साथै हजारौं परिवारका घर बगाएर विस्थापित बनाएको उहाँको भनाइ छ ।

सप्तकाशीले विस्थापित भएका पीडित परिवारलाई भारत सरकारले क्षतिपूर्ति दिने कोशी सम्झौतामा उल्लेख गरिएको छ । तर विस्थापित भएका हजारौं कोशी पीडितले हालसम्म केही पाएका छैनन् ।

सप्तकोशीले सुनसरीको बराहक्षेत्र नगरपालिका, कोसी गाउँपालिका, उदयपुरको बेलका नगरपालिका र सप्तरीको कङकालिनी हनुमाननगर नगरपालिका, कोलारी तिलाठी र छिन्नमस्ता नगरपालिकामा ५० हजार विघाभन्दा बढी जमिन कटान गरेको कोशी आयोजनाका भू–आर्जन अधिकृत सन्तोष लिम्बुले बताउनुभयो ।

कोशी सम्झौंता अनुसार प्रमाणीकरण भएको ७ हजार ८ सय ६३ विघा जमीनको भारतले उपलब्ध गराउनु पर्ने ८० करोड ४६ लाख रुपैयाँ क्षतिपूर्ति बापतको रकम पनि हालसम्म उपलब्ध नगराउँदा कोशी पीडित कष्टकर जीवन बिताउन बाध्य भएको उहाँले बताउनुभयो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 40 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 106 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *