
२० असोज, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले वर्तमान मन्त्रिपरिषदमा आफ्नो पक्षका तीन जना मन्त्री हुनुपर्ने माग गरेको छ । तर प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले दुई जना मात्र मन्त्री दिन सकिने बताएका छन् ।
पार्टी क्रियाशील सदस्यता र मन्त्री भागवण्डाबारे छलफल गर्न पौडेल समूहका नेताहरु बालुवाटार पुगेका थिए । भेटमा पौडेल समूहका नेताहरुले पार्टीले पाएको ८ मध्ये तीन मन्त्री आफूहरुले पाउनुपर्ने बताएका थिए । तर देउवाले दुई जना भन्दा बढीलाई मन्त्री बनाउन नसकिने बताएका छन् ।
सरकारमा हाल कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्री छन् । गृहमन्त्री बालकृष्ण खाँण, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमन्त्री नारायण खड्का र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ देउवा समूहका हुन् ।
नेताहरुका अनुसार देउवाले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहलाई एक मन्त्री दिने बताएका छन् । यो समूहबाट उमाकान्त चौधरी मन्त्री बन्ने तय भइसकेको नेताहरु बताउँछन् ।
देउवा समूहबाट पुष्पा भुसाल मन्त्री बन्ने सम्भावना छ । प्रधानमन्त्री देउवाले एक मन्त्रालय भने आफैंसँग राख्ने देखिएको कांग्रेस नेताहरु बताउँछन् ।
अनलाइनखवरवाट………………..