पेट किन बढ्छ? कसरी घटाउने?
रामदेवी महर्जन ,योग तथा उचित आहार, विहार, विचार प्रशिक्षक।।
पुट्ट बाहिर निस्केको पेट नै सबै रोगको घर हो। शरीरमा आउने अधिकांश समस्या पेटबाट सुरू हुन्छ।
एउटा भनाइ छ– टाउको दुख्यो भने पेटमा चिसो लगाउनू।
त्यसैले स्वस्थ रहन हाम्रो पेट हर हालतमा ठीक अवस्थामा हुनुपर्छ, सफा हुनुपर्छ।
हाम्रो समाजमा मोटाघाटा, पेट लागेकालाई गण्यमान्य र प्रतिष्ठित व्यक्तिका रूपमा लिइन्छ। अलि मोटो हुनुपर्छ अनि मात्र बलियो भइन्छ भन्ने गलत बुझाइ छ। वास्तवमा पेट बढ्नु भनेको शरीरबाट बाहिर निस्कासन हुनुपर्ने फोहोर शरीरमै जम्मा भएर बस्नु हो।
यदि त्यही गलत खानपान गरिरहे विकार शरीरको पछाडि भागतिर पनि फैलिन्छ। यसरी विकार चारैतिर फैलिन्छ र शरीरको आकारमा परिवर्तन आउँछ। शरीर जस्तो आकारमा हुनुपर्ने हो त्यस्तो नभई आकार बढ्नु नै मोटोपन हुनु हो।
त्यसैले पेट बढ्नु, पेट छातिभन्दा बाहिर निस्कनु भनेको शरीरमा अतिरिक्त फोहोर, विकार सञ्चय हुनु हो। सबै रोगका लागि घर तयार हुनु हो।
उदाहरणका लागि, हाम्रो कोठामा फोहोर जम्मा भयो भने के हुन्छ? किटाणु अर्थात् भुसुना लाग्छ र त्यसले पूरै कोठामा दुर्गन्ध फैलाउँछ। त्यसैगरी शरीरमा फोहोर जम्मा भयो भने शरीरमा रोगका किटाणु सल्बलाउने आधार तयार हुन्छ र आधार तयार भएपछि सम्पूर्ण शरीरमा दुर्गन्ध फैलिन्छ।
त्यसैले स्वस्थ रहन पेट बाहिरी रूपमा ठीक हुनुपर्छ र भित्री रूपमा पनि सफा हुनुपर्छ। बाहिर निस्केको पेटले शरीरलाई भद्धा देखाउने मात्र होइन, सबै रोगको कारण बन्छ।
पेट बढ्नुको कारण
अहिले अधिकांश मानिसले भन्छन्, ‘म माछा, मासु खाँदिनँ तर पनि मेरो पेट लागेको छ, किन होला?’
पेट बढ्न माछा, मासु नै खानुपर्छ भन्ने छैन। कार्बोहाइड्रेट मात्रा बढी भएमा पनि पेट लाग्छ। कार्बोहाइड्रेट हुने खाना भन्नाले हामीले दैनिक खाने भात, रोटी, ढिँडो, मकै, गहुँ आदि हुन्। यी खाना बढी हुँदा पनि पेट बढ्छ।
हाम्रो समाजमा खाना बढी र तरकारी कम खाने चलन छ। त्यसमा पनि आलुको मात्रा बढी हुन्छ। साथै शरीरका लागि पोषण चाहिन्छ भनेर विभिन्न थरीका आहार जस्तै माछा, मासु, अण्डा, दूध, दाल, गेडागुडी लगायत अन्य भारी खाना खाने चलन छ। तर खाना खाइसकेपछि राम्रोसँग पाचन भएर निस्कासन हुन जरुरी छ र त्यसका लागि निस्कासक आहारको पनि उत्तिकै महत्व छ भन्ने हामीले बिर्सेका छौं।
शरीरलाई पोषक आहार जति आवश्यक हुन्छ त्यति नै निस्कासनका लागि रेशा, छोक्राबोक्रा प्रशस्त भएका आहार चाहिन्छ। रेशा, छोक्राबोक्रा भएका आहारमा नफलेको चामल, चोकरसहितको पिठो, गहुँ, मकै, कोदो, फापर आदि एक दलीय अन्न, ताजा हरिया सागसब्जी, काँचो खानेकुरा सलाद र फलफूल पर्छन्।
अधिकांश स्वास्थ्य समस्या यही रेशा, छोक्राबोक्रा भएका आहारको कमीले आएको छ। त्यसैगरी मैदाजन्य, जंक, चिनीबाट बनेका, चिल्लोमा तारे भुटेका, चिया, कफी, कोल्डड्रिंक्स, चकलटे, आइसक्रिम जस्ता खानेकुरा खाँदा पनि पेट बढ्छ। खानासँग पानी खाने बानीले र बीचबीचमा कुचुकुचु खाने बानीले पनि पेट बढ्छ।
यसर्थ पेट बढ्नुको मुख्य कारण शरीरलाई चाहिनेभन्दा बढी खानु नै हो। चाहिनेभन्दा एक गाँस मात्र बढी खानाले पनि शरीरलाई हानी नै गर्छ।
तर हामी सबै गल्ती आफू गर्ने, मन लागि खाने, शरीरलाई आवश्यकताभन्दा बढी खाने र बारम्बार त्यही गल्ती दोहोर्याउने र आफ्नो गल्तीबाट बढेको समस्या लिएर डाक्टरकहाँ गएर भन्छौं– डाक्टरसाब् ! म त्यस्तो धेरै केही पनि खाँदिनँ तर पनि पेट बढेको बढ्यै छ। मेरो यो पेट कसरी घटाउने? घटाइदिनु पर्यो, घटाउने औषधि दिनु पर्यो।
आफ्ना लागि आफैंले गर्नुपर्छ, अरूले गरिदिएर हुँदैन।
शरीरलाई चाहिनेभन्दा बढी खाएर पेट बढेको हो, त्यसैले खाना घटाएरै मात्र घट्छ। पेट, तौल घटाउने त्यस्तो कुनै औषधि छैन। त्यो त सम्पूर्ण आफ्नै हातमा छ।
बुझ्नुपर्ने कुराः
हामी जति मेहनत र परिश्रम अन्य काममा लगाउँछौं त्यत्तिकै ध्यान आफ्नो शरीर र आफूले के खाँदैछौं भन्नेमा दिए पेट बढ्नेदेखि लिएर अरु स्वास्थ्य समस्याको शिकार हुनुपर्दैन। हाम्रो पहिलो कर्तव्य नै शरीरलाई हरहालतमा ठीक राख्नु हो। त्यसका लागि कुनै ठूलो कुरा गर्नुपर्दैन, शरीरको बोली र यसको संकेत ध्यान दिएर बुझे पुग्छ।
पेटको बोलीः
हाम्रो शरीरले हरपल हामीसँग बोलिरहेको हुन्छ, संकेत दिइरहेको हुन्छ। पेटले पनि यसै गर्छ। खाना खाँदा होस् वा पानी पिउँदा, हिँड्दा वा सुत्दा, विचार गर्दा या रिसाउँदा, हरपल संकेत दिन्छ। तर हामी यसको भाषा, बोली र संकेतमा ध्यान दिँदैनौं र समस्यामा पर्छौं।
खाना खाँदा पेटले दिने संकेतः जब हामी खाना खान्छौं तब हाम्रो पेट भरिँदै जान्छ। भरिँदै गएपछि पेटले संकेत दिन थाल्छ। संकेतका रूपमा पहिलो डकार आउँछ। पहिलो डकारको संकेत हो- पेट भरियो, अब खाना कम गर।
डकार वेवास्ता गरी त्यही अनुपातमा खाना खाएमा दोस्रो डकारले संकेत दिन्छ। दोस्रो डकारको संकेत हो- अब पूर्ण रूपमा पेट भरियो, खाना बन्द गर।
तर यसको पनि बेवास्ता गरेर खाएमा खाना विष सरह बन्छ।
त्यसैले शरीरलाई चाहिनेभन्दा एक गाँस मात्र बढी खाए पनि पेट उकुसमुकुस हुन्छ। उकुसमुकुस हुने गरी होइन, पेट एक भाग खाली हुनेगरी खानुपर्छ। शरीरलाई चाहिनेभन्दा एक गाँस बढी पनि, पेट बढ्ने र रोगको कारण बन्छ।
पानी पिउँदा दिने संकेतः हामीले एकैपटक बढी पानी पिए पेटले तुरुन्तै संकेत गर्छ। एकै पटक धेरै पानी पिउँदा पेट फुल्छ, डुम्म हुन्छ।
शारीरिक गतिविधि नमिल्दा दिने संकेतः खाना खानेबित्तिकै भारी व्यायाम गर्ने, दौडने, कुद्ने र सुत्ने गर्नाले पेटले अप्ठ्यारो भएको संकेत दिन्छ।
विचार नमिल्दाः हामीले चर्को रिस, तनाव आदिमा खाना खाएमा पाचनमा गडबडी हुन्छ।
पेटको यो सरल नियम ध्यानमा राखी हामीले खाए, पिए, सुते र विचार गरे पेट बढ्ने मात्र होइन, अरु स्वास्थ्य समस्याबाट पनि सजिलै मुक्त हुन सक्छौं।
पेट घटाउने सरल खानपानः
हाम्रो पाचनका लागि शरीरलाई ६० देखि ७० प्रतिशत रेशा, छोक्राबोक्रा चाहिन्छ। हाम्रो खानामा अधिकांश सेता देखिने खाद्य पदार्थ, जस्तै सेतो चामल, मैदा आदि प्रयोग हुन्छ। चोकर खुइल्याइएका सेता देखिने खानामा रेशा वा छोक्राबोक्रा हुँदैन। त्यसैले सेतो चामलको सट्टा नफलेको चामल अर्थात् ब्राउन भात, आँटा, घरमै पाइने मकै, गहुँ, फापर खानुपर्छ।
त्यसैगरी खानासँग प्रशस्त हरिया सागब्जी र अन्त्यमा काँचो सलाद जस्तै गाजर, बन्दा, काँक्रा लगायत ताजा फलफूल खानुपर्छ।
यसरी तीनै थरी बराबर मिलाएर खाँदा ३३ प्रतिशत अन्न, ३३ प्रतिशत हरिया सागब्जी र ३३ प्रतिशत काँचो सलादको भाग पर्छ। यसमा हरियो सब्जी र काँचो सलाद दुई थरी गरी ६६ प्रतिशत रेशा, छोक्राबोक्राको मात्रा पुग्छ। यसले पाचनका लागि चाहिने रेशा प्रशस्त पुग्छ र पाचन राम्रो भई पेट सफा हुन्छ। पेट सफा भएपछि पेट बढ्नेदेखि अरू स्वास्थ्य समस्या आउन पाउँदैन। त्यसैले दैनिक खानामा खाना बराबर हरिया सागसब्जी र सलाद अनिवार्य हुनुपर्छ।
पेट बढेका र मोटा व्यक्तिले भने आफूले खाइरहेको खानामा ४ भागमा १ भाग खाना कम गर्ने, तरकारी लगभग खानाभन्दा केही बढी करिब ३०० ग्राम लिने। र, अन्त्यमा सलाद करिब १५० ग्राम खाने।
यसरी खाना मिलाएर खाएमा पेट पनि भरिने र साताको १ किलो टौल घटी पेट पनि घट्दै जाने हुन्छ। पेट घट्दै गएर ठिक अवस्थामा आएपछि कम गरेको खानालाई बढाई भात, तरकारी र सलाद तीनै थरी बराबर खान सकिन्छ।
पानीको पनि उचित प्रयोग हुनुपर्छ। बिहान उठ्नेबित्तिकै खाली पेटमा करिब १ लिटर पानी पिउनुपर्छ भने दिनमा प्रतिघन्टा एकएक गिलासका दरले पिउनुपर्छ। कुनै पनि ठोस आहारसँग पानी नलिने र बेलुकी सुत्दा १ गिलास पानी पिएर सुत्ने। यसरी पानी नियमअनुसार पिउँदा शरीरमा फोहोर जम्मा हुन पाउँदैन र पेट बढ्न पाउँदैन।
ध्यान दिनुपर्ने कुरा खाना चपाई चपाई खानुपर्छ। खानासँग पानी पिउने बानी गर्नु हुँदैन।
उचित गतिविधिः
जसरी स्वस्थ रहन खानपान मिल्नुपर्छ त्यसैगरी हामीले गर्ने गतिविधि पनि मिल्नुपर्छ। गतिविधि भन्नाले शरीरले गर्ने सबै क्रियाकलाप हुन्।
एउटा भनाइ छ- शरीर जति चलायमान रह्यो, त्यति नै बलियो र स्वस्थ हुन्छ र मन जति स्थिर हुन्छ त्यतिकै राम्रो।
तर हामीकहाँ ठीक उल्टो भएको छ, हाम्रो मन धेरै चल्छ भने शरीर स्थिर र धेरै आराममा।
उहिले हाम्रा बाजेबराजु एक खाना खाएपछि अर्को खाना जोहो गर्न शिकार गर्न हिँड्नु पर्थ्यो वा कुटो-कोदालो लिएर खेतमा काम गर्नु पर्थ्यो। यसले शारीरिक परिश्रम राम्रो भई खाना राम्ररी पच्थ्यो। शरीर बलियो र तगडा हुन्थ्यो। त्यस्तै जंगलका जनावर पनि एक खाना खाएर अर्को खानाका लागि घन्टौं शिकार खोज्नु पर्छ। यसले गर्दा जंगली जनावर दिनभर क्रियाशील र स्वस्थ हुन्छन्।
अहिले हाम्रो अवस्था- फ्रिजमा भरी खाना, खानापछि आरामै आराम, परिश्रमको निकै कमी।
हाम्रा दुई हात र दुई खुट्टा परिश्रम गर्न दिइएको हो। त्यसैले स्वस्थ रहन शारीरिक परिश्रम हुनैपर्छ। परिश्रम कम छ भने दैनिक १ घन्टा जोर्नी र मांसपेशी सञ्चालन हुने व्यायाम गर्नुपर्छ। व्यायामले दिनभर स्फूर्ति र स्वस्थ राख्न सहयोग गर्छ। व्यायाममा बिहानी हावामा हिँड्दा हुन्छ या योग या अन्य अभ्यास गर्दा पनि हुन्छ।
व्यायामका साथै सुत्ने, उठ्ने, खाने, पिउने हर कुरा उचित हुनुपर्छ जसले शरीरलाई ठीक राख्न सहयोग गर्छ।
खाने क्रमः
हाम्रो खानेको कुनै ठेगान छैन। जतिबेला जे भेटिन्छ खान्छौं, पिउँछौं। बुझ्नुपर्ने कुरा के भने, खाना जिब्रो र स्वादका लागि होइन, यो शरीरका लागि हो। त्यसैले शरीरलाई मापदण्ड बनाएर खाने गरे स्वस्थ रहन सकिन्छ।
अहिले हामी कुन बेला खाने, कति बेला खाने, कति पटक खाने भन्नेमा अलमलमा छौं। कोही भन्छन् २–२ घन्टामा खानुपर्छ, कसैले ४ देखि ५ घन्टाको अन्तरमा।
के हामीले विज्ञ वा अन्यको सल्लाहअनुसार मात्र खानु पर्ने हो त?
वास्तवमा हाम्रो शरीर संसारको सबभन्दा ठूलो र भरपर्दो प्रयोगशाला हो। हामीले खाएको खाना मिले-नमिलेको देखिने पहिलो ठाउँ पनि यो शरीरमै हो। आहार, विहार र विचार ठीक छ-छैन भनेर प्रयोग गर्ने ठाउँ पनि शरीर नै हो र खाएको ठीक वा बेठिक छुट्याउने मापदण्ड पनि शरीरै हो।
त्यसैले के र कति पटक खाने भन्ने कुरा पनि हाम्रो यो शरीरलाई मापदण्ड बनाएर सजिलै बुझ्न सकिन्छ।
पाचन क्रियाअनुसार हामीले एकपटक खाएको खाना पूर्णरूपमा पच्न कम्तिमा ४ घन्टा लाग्छ। त्यसैले एक खाना र अर्को खाना बीचको अन्तर करिब ४ देखि ५ घन्टा हुनुपर्छ। ५ घन्टाको अन्तर भएमा खाना राम्ररी पच्न पाउँछ।
शरीरको धर्मअनुसार भोक लाग्दा खानु र प्यास लाग्दा पिउनु उचित हुन्छ। तर भोक मन र बानीको पनि हुनसक्छ। त्यसैले दिनको ३ पटकभन्दा बढी नखानु पेट र स्वास्थ्यका हिसाबले ठीक हुन्छ। तीन पटकभन्दा बढी खानु पेट बढ्ने र रोगको कारण बन्छ।
अन्त्यमा, खाना के र कतिपटक खाने भन्नेमा कसैको कुरा मान्ने या नमान्ने गरिरहनु पर्दैन। आफ्नो शरीरलाई मापदण्ड बनाएर हेरे पुग्छ। हामीले जुनसुकै खाना खाए पनि मिले वा नमिलेको पहिला यो शरीरमा प्रमाणित हुनुपर्छ।
खाएको खाना ठीक वा बेठिक सजिलै छुट्याउन सकिने ३ नियमः
पहिलोः खाना २४ घन्टामा पचेर भोलि बिहान सर्लक्क दिशा खलास हुनुपर्छ। दिसा खलास भएन भने खाएको ठीक भएन भन्ने बुझ्नुपर्छ। ठीक वा बेठिक शरीरले २४ घन्टामै देखाउँछ, कुनै ल्याबमा गइरहनु पर्दैन।
दोस्रोः खाइसकेपछि शरीर र मनमा दुवैमा कुनै अप्ठ्यारो र रोग लाग्नु हुँदैन। यदि शरीर या मनमा कुनै अप्ठ्यारो या रोग लागेको छ भने खाएको मिलेन भन्ने बुझ्नुपर्छ। यो प्रत्यक्ष शरीरमा देखिने कुरा हो।
तेस्रोः खाएपछि पेट बढ्ने वा मोटाउने हुनुहुँदैन। पेट वा मोटोपन बढेको छ भने खाएको मिलेन भनेर देखाएको संकेत हो।
यही सरल विधि अपनाएर आफ्नो स्वास्थ्य आफ्नै हातमा लिई स्वस्थ रहनुपर्छ।
पेट घटाउने योग आसनहरूः
सामान्यतया जुनसुकै व्यायामले पनि पेटको बोसो घटाउन सहयोग गर्छ। तर सुतेर गर्ने योगासनले पेटको मोटोपन घटाउन मद्दत गर्छ। यो व्यायाम मर्निङवाक अथवा कुनै हल्का व्यायाम गरेपछि १५ देखि २० मिनेट गर्दा हुन्छ।
पवनमुक्त्तासन १
सिधा उत्तानो सुत्ने। दुवै खुट्टा सिधा राख्ने, दुवै हातलाई कम्मरको दायाँ बायाँ राख्ने। विस्तारै गहिरो सास तान्दै बायाँ खुट्टा ९० डिग्रीमा उठाउने, दायाँ खुट्टा सिधा भुइँमा राख्ने, मनमनै १० गन्ने र विस्तारै सास छाड्दै खुट्टा तल झार्ने। पालैपालो पाँच-पाँच पटक गर्ने।
पवनमुक्त्तासन २
एकै पटक सास तान्दै दुवै खुट्टा ९० डिग्रीमा उठाउने, मनमनै १० गन्ने र विस्तारै सास छाड्दै तल झार्ने। ५ पटक गर्ने।
पवनमुक्त्तासन ३
पालैपालो दुवै खुट्टा घुँडासम्म खुम्चाएर गोलो गोलो घुमाउने, दायाँ र बायाँ दुवैतिरबाट ५–५ पटक घुमाउने।
पवनमुक्त्तासन–४
दुवै खुट्टा घुँडासम्म खुम्चाएर दायाँ र बायाँ दुवैतिरबाट ५–५ पटक गोलो घुमाउने।
पवनमुक्त्तासन–५
सास छाड्दै सासको तालमा साइकल चाल गर्ने, सुल्टो र उल्टोबाट १०–१० पटक गर्ने।
पवनमुक्त्तासन– ६
पालैपालो सास छाड्दै खुट्टा घुँडासम्म खुम्चाउने, दुवै हातले खुट्टामा समातेर लक गर्ने र टाउको उठाएर चिउँडोले घुँडा छुने प्रयास गर्ने। अर्को खुट्टा भुइँमा सिधा हुनुपर्छ, मनमनै १० गन्ने र विस्तारै सास तान्दै खुट्टा तल झार्ने। पालैपालो ५–५ पटक गर्ने।
पवनमुक्त्तासन–७
सास छाड्दै दुवै खुट्टा घुँडासम्म खुम्चाउने, दुवै हातले खुट्टामा समातेर लक गर्ने र टाउको उठाएर चिउँडोले घुँडाको बीचमा छुने प्रयास गर्ने। मनमनै १० गन्ने र विस्तारै सास तान्दै खुट्टा तल झार्ने। ५ पटक गर्ने।
पादोतानासन– १
सास तान्दै पालैपालो बायाँ खुट्टा र दायाँ हातलाई ९० डिग्रीमा उठाउने, अर्को खुट्टा र हात भुइँमा सिधा राख्ने, मनमनै १० गन्ने र विस्तारै सास छाड्दै खुट्टा र हात तल झार्ने। पालैपालो ३ देखि ५ पटक गर्ने।
पादोतानासन–२
सास तान्दै दुवै खुट्टा र दुवै हात ९० डिग्रीमा उठाउने, मनमनै १० गन्ने र विस्तारै सास छाड्दै खुट्टा र हात तल झार्ने। ५ देखि १० पटक गर्ने।
अन्त्यमा, अश्वासनः
उत्तानो सुत्ने, दुवै खुट्टा घुँडासम्म खुम्च्याउने, दुवै हात लक गरेर गर्धनमुनि राख्ने। दुवै कुइनाले भुइँ छुवाउने। विस्तारै सास छाड्दै दुवै खुट्टा बायाँ र टाउकोलाई दायाँ मोडेर कुइनालाई हेरिरहने। मनमनै ३० गन्ने र सास तान्दै बीचमा फर्कने। दायाँ, बायाँ पालै पालो ५–५ पटक गर्ने।
योग आसन, व्यायामले शरीर लचिलो, फूर्तिलो र बलियो बनाउन सहयोग गर्छ भने उचित खानपानले स्वस्थ रहन। त्यसैले उचित आहार विहार र विचारका साथै हरेक दिन योग गरौं, स्वस्थ रहौं।
उचित विचारः
आहार, विहारसँगै विचार पनि ठीक हुनुपर्छ। रिस, चिन्ता क्रोध, मोह, लोभ प्रतिस्पर्धा आदि भावले शरीरमा नराम्रो प्रभाव पार्छ जसले पाचनमा गडबडी भई कब्जियत, पेट बढ्ने र अन्य समस्या आउँछ। त्यसैले विचार उचित हुनुपर्छ।
(लेखक रामदेवी महर्जन योग तथा उचित आहार, विहार, विचार प्रशिक्षक हुन्।)
सेताेपाटीवाट साभार………………………………
(यो लेख सेतोपाटीमा पहिलोपटक २०७७ साउन ३ गते प्रकाशित थियो।)
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा,मंसिर २७, स्याङ्जा, । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश