सामान्य विवादका क्रममा हातपात हुँदा भीमबहादुरको मृत्यु

  • समाचार
  • २०७८ कार्तिक २, मंगलवार ०६:३९

चितवनमा गत असोज २८ गते सामान्य विवादका क्रममा हातपात हुँदा भरतपुर महनगरपालिका वडा नम्बर–४ स्थित दुर्गा चोकका भीमबहादुर विकको मृत्यु भएको छ । ५८ वर्षीय विकको स्थानीय २ युवासँग विवादका क्रममा हातपात हुँदा लडेर मुत्यु भएको थियो ।

मादक पदार्थ सेवन गरेका मृतक विकको स्थानीय दिलीप श्रेष्ठ र सीताराम बस्नेतसँग विवादका कारण हातपात हुँदा लडेर मृत्यु भएको स्थानीयवासीको भनाइ छ । दसैँको नवमीको दिन मादक पदार्थ सेवन गरेका विक दुर्गा चोक स्थित बस्नेतको घर नजिक अपशब्द प्रयोग गरी होहल्ला गर्दै पुगेपछि विवाद भएको थियो ।
हल्ला नगर्न आग्रह गर्दा विकले अटेर गरेपछि बस्नेतले पोलिथिनको पाइपले खुट्टामा प्रहार गरेको र घरतर्फ पठाएका एक स्थानीयले बताए । स्थानीयका अनुसार दुर्गा चोकस्थित बस्नेत र श्रेष्ठको घर नजिकै पुगेर विकले मदिरा सेवन गरी अपशब्द प्रयोग गर्दै हल्ला गरेपछि बस्नेतले सम्झाएका थिए । तर, विकले अटेर गरेपछि बस्नेतले प्लास्टिकको पाइपले विकको खुट्टामा हिर्काएर पठाएका थिए ।
त्यसको केही समयपछि विक पुनः अपशब्द प्रयोग गर्दै बस्नेत र श्रेष्ठको घर नजिक पुगेर हल्ला गर्न थाले । घरकै सटरमा रहेको मेडिकलमा काम गरिरहेका श्रेष्ठले हल्ला नगर्न आग्रह गरे पनि विकले जथाभावी बोल्न थालेपछि विकलाई थप्पड हान्दा लडेको प्रत्यक्षदर्शीको भनाइ छ । थप्पडका कारण बस्नेतको घरको आँगनमा लड्न पुगेका विकको टाउकोमा चोट लागेको बताइन्छ ।
चोट लागेर आँगनमा लडेका विकलाई उनै श्रेष्ठ र बस्नेतले उपचारका लागि चितवन मेडिकल कलेज पु¥याएका थिए । अस्पताल पु¥याएलगत्तै विकलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
यस्तो छ जाहेरीमा :

विकको मृत्युपछि प्रहरीले बस्नेत र श्रेष्ठलाई पक्राउ गरेको छ । घटनामा संलग्न श्रेष्ठ र बस्नेत दुबैलाई सोही दिन प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई मृतक विकका छोरा किसन विकको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

किसनले जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान सम्बन्धी कसुरमा उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।किसनले जिल्ला प्रहरी कार्यालय चितवनमा २८ गते विहान भएको घटनाको विवरणसहितको जाहेरी दिएको उनको भनाइ छ ।

प्रहरी नायव उपरीक्षक अधिकारीका अनुसार मृतकका छोरा किसनले २८ गते बिहान आफ्नो बुबामाथि हातपात भएको र सोही कारणबाट मृत्यु भएको जाहेरीमा उल्लेख गरेका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धान र शवको अवस्था हेर्दा पनि मृतकको शरीरमा कुनै गम्भीर चोट पटक नरहेको उनले बताए ।

उक्त घटनामा कुनै प्रकारको हात हतियार प्रयोग भएको हालसम्म खुल्न नआएको प्रहरी नायव उपरीक्षक अधिकारीको भनाइ छ । हालसम्म सो घटनामा आधारित रहेर कुनै पनि जातीय विभेद सम्बन्धी उजुरी प्राप्त नभएको र घटनास्थल र मुचुल्कामा पनि विभेदका विषय फेला नपरेको उनले बताए ।

घटनाबारे अनुसन्धान कार्य जारी रहेकोले सबै विषयमा विशेष रुपमा अनुसन्धान कार्य गरी प्रहरीले वास्तविकता खोज्ने प्रहरीको भनाइ छ । शवको पोष्टमार्टममा रिपोर्ट आएपछि घटनाबारे थप जानकारी प्राप्त हुने प्रहरी नायव उपरीक्षक अधिकारीले बताए ।

‘अस्पतालसँग निरन्तर सम्पर्कमा छौं, पोष्टमार्टम रिपोर्ट आएपछि घटनाबारे थप तथ्य खुल्छ, अहिले हामी अनुसन्धान कार्यमा लागेका छौं, सोधपुछ र बयानको काम पनि जारी छ, त्यस्तो कुनै शंकास्पद स्थिति बनेको छैन,’ उनले भने, ‘सामान्य विवादमा हातपात हुँदा लडेर विकको टाउको पछाडी चोट लागेको छ, सोही कारण मृत्यु भएको हुनसक्छ ।’

संयमता अपनाउन नसक्दा दुर्घटना भयो : वडा अध्यक्ष आचार्य

भरतपुर महानगरपालिका–४ का वडा अध्यक्ष हरि आचार्यले चाडपर्वको समयमा मदिरा प्रयोग गरी होहल्ला नगर्न आग्रह गर्दा अटेर गरेपछि सामान्य विवादका कारण विकको मृत्यु भएको बताए ।

सामान्य विषयमा घटनामा मुछिएका श्रेष्ठ र बस्नेतले संयमता अपनाउन नसक्दा दुर्घटना भएको उनको भनाइ छ । बिना कारण विक मापसे गरेर चोकमा हल्ला गर्दा छिमेकमा रहेका श्रेष्ठ र बस्नेतले तर्साएर घर पठाउने क्रममा हातापाई भएको र सोही क्रममा लडेर विकको मृत्यु भएको वडा अध्यक्ष आचार्यले बताए । सबै जात र धर्मका व्यक्तिहरुमा सामुहिकताको भावना रहेको भन्दै उनले यो एउटा दुर्घटना भएको बताए ।

यता भरत्तपुर महानगरपालिका–४ की वडा सदस्य कल्पना परियारले घटनाको वास्तविकता दुवै आरोपीले स्वीकार गरेको र हालसम्म कुनै पनि जातीय विभेदको विषय नरहेको बताएकी छन् । संयमता नअपनाउँदा दुर्घटना निम्तिएको भन्दै उनले दोषीले सजाय भोग्नु पर्ने तर, घटनालाई बङ्ग्याउन नहुने प्रस्ट पारिन् ।

राताेपाटीबाट…………………..

सम्बन्धित समाचारहरूः

  • २०८१ माघ २०, आईतवार २२:५३
  • 91 views
अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

२० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

विस्तृत.....

  • २०८१ माघ १३, आईतवार १४:५१
  • 33 views
विद्युत् महसुल नतिर्ने चितवनका १३ सयभन्दा बढी ग्राहककाे लाइन काटियाे ।

माघ १३,चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार ३६८ ग्राहकको लाइन काटेको छ। समयमा विद्युत् महसुल नबुझाएका उनीहरूको लाइन गत साउनयता काटिएको हो। कार्यालयका प्रमुख ई. रामु…

विस्तृत.....

Leave a Reply

Your email address will not be published. Required fields are marked *