
कात्तिक ९, काठमाडौं ।। नेपाली कांग्रेसको पदाधिकारी बैठकले तल्लो तहका अधिवेशन ‘फास्ट ट्रयाक’मा अघि बढाउन निर्वाचन समितिलाई निर्देशन दिएको छ ।
तल्लो तहका अधिवेशन सकेपछि महाधिवशेनको मिति सार्न पनि नेताहरू सहमत भएका छन् ।
मंगलवार सिंहदरबारमा बसेको पार्टी सभापति शेरबहादुर देउवा सहितको पदाधिकारी बैठकले निर्वाचन समितिलाई बोलाएर तल्लो तहमा छिटोभन्दा छिटो अधिवेशनको प्रक्रिया अघि बढाउन निर्देशन दिएको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।
‘फास्ट ट्रयाकमा अधिवेशनको प्रक्रिया अघि बढाउन निर्वाचन समितिलाई भनेका छौं । छिटो गर्दा पनि केही दिन समय पुगेन भने त्यसमा छलफल गरेर निर्णय गर्न केन्द्रीय कार्यसमिति बोलाउनुपर्छ भनेको छु,’ वरिष्ठ नेता पौडेलले भने ।
राष्ट्रिय महाधिवेशन आयोजनाको तयारीका लागि व्यवस्थापन समिति बनाउन पनि केन्द्रीय कार्यसमितिको बैठक आवश्यक भएको पदाधिकारी बैठकमा पौडेलले कुरा उठाएको बताए ।
तल्ला तहको अधिवेशन सक्न र महाधिवेशनको मिति सिफारिस गर्न निर्वाचन समितिलाई जिम्मेवारी दिइएको निर्वाचन समितिका एक सदस्यले बताए ।
अहिलेकै अवस्थामा कांग्रेसको महाधिवशेन मंसिर ९–१३ गतेसम्म सम्पन्न हुन नसक्ने भएकाले सार्नुको विकल्प नरहेको निर्वाचन समितिका सदस्यले बताए ।
कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले २ जना नेता बसेर निर्णय गर्दैमा कांग्रेस महाधिवेशनको मिति सार्न नसकिने बताए । ‘पार्टीमा विधि र प्रक्रिया छ । केही नेतालाई मनमा लाग्यो भन्दैमा महाधिवेशनको मिति सार्न सकिँदैन । त्यसको बारेका केन्द्रीय समितिमा छलफल हुनुपर्छ,’ केसीले भने ।