विक्रम पाण्डेले ल्याए सर्वाधिक भोट, रेखा थापा पराजित, ग्लोबल पोस्चर रिभ्यु: अमेरिका थप युद्धमा संलग्न हुने संकेत, चीनलाई घेर्ने योजना
१. आजबाट राष्ट्रिय बाघ सर्वेक्षण सुरु
सौराहा, १९ मंसिर । वन तथा वातावरणमन्त्री मन्त्री रामसहाय प्रसाद यादवले चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहामा बुट्यानमा जडान गरिएको क्यामरा ‘अन’ गरेर राष्ट्रिय बाघ सर्वेक्षण २०२२ सुरु गरेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु सरंक्षण विभागले देशभर बाघ सर्वेक्षण गरेको हो ।
आजदेखि देशभर बाघ सर्वेक्षण सुरु भएको हो । वनमन्त्री यादवले चितवन–पर्सा कम्प्लेक्सबाट बाघ सर्वेक्षण सुरु गरेका हुन् । चितवन, पर्सा, बर्दिया, बाँके र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघ पाइन्छ । बाघ गणनाका लागि पाँच वटा राष्ट्रिय निकुञ्ज र बाघ पाइने निकुञ्जबाहेकका क्षेत्रलाई समेत समेटेर तीन वटा कम्प्लेक्स बनाइएको छ ।
चितवन–पर्सा कम्प्लेक्स, बाँके बर्दिया कम्प्लेक्स र शुक्लाफाँटा–लालाझाडी क्षेत्र गरी तीन वटा कम्प्लेक्स रहेका छन् । वनमन्त्री यादवले बुट्यानमा जडान गरिएको क्यामरा अन गरेपछि क्यामरामा बाघ कैद हुने विधिको डमी देखाएर सर्वेक्षण सुरु गरिएको हो । सर्वेक्षणका लागि सर्वेक्षकहरु आ–आफ्नो क्याम्पमा गइसकेका छन् । केहि सर्वेक्षक भोलिसम्म आफ्नो क्याम्पमा पुगिसक्ने छन् ।
२. अन्य पार्टीको भन्दा फरक ढंगले नेतृत्व दिन्छु: राजेन्द्र लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीलाई अरुको भन्दा फरक ढंगले नेतृत्व दिने दाबी गरेका छन् ।
आईतबार पार्टीको अध्यक्षमा विजयी भएपछि आयोजित सभामा बोल्दै नवनिर्वाचित अध्यक्ष लिङदेनले आफ्नो कार्यकालमा पार्टीलाई फरक तरिकाबाट नेतृत्व गर्ने दाबी गरेका छन् । उनले पार्टीलाई सही दिशा दिन र नेता, कार्यकर्ताको शिर झुक्न नदिने बताउँदै अरु नेतृत्व जस्तै रहेछ भन्ने मौका नदिने बताएका छन् ।
नवनिर्वाचित अध्यक्ष लिङदेनले पार्टीको महाधिवेशन आन्तरिक चुनाव भएकाले विजय जुलुस निकाल्न, माला र खादा लगाइदिन र मुर्दावाद र जिन्दावादको नारा लगाउन आवश्यक नरहेको बताए । नवनिर्वाचित अध्यक्ष लिङदेनले पार्टीलाई विगतको जस्तो गतिहीन र निस्क्रिय बनाउने छुट आफूलाई नरहेको भन्दै पार्टीलाई मात्र नभइ पार्टीका मुद्धालाई जोड दिने बताएका छन् ।
उनले बाध्यकारी कदमको रुपमा नेतृत्व परिवर्तन गर्नुपरेको भन्दै अब राप्रपामा गुटहरु नहुने समेत दाबी गरे । नवनिर्वाचित अध्यक्ष लिङदेनले अब पार्टीका नेता, कार्यकर्ताले कोही एक व्यक्तिको नामबाट नभई राप्रपाको कार्यकर्ता भएर भोट माग्न जान पाउने बताएका छन् ।
नवनिर्वाचित अध्यक्ष लिङदेनले नेपालको राजनीतिमा स्थापित नेतृत्वसँग प्रतिष्पर्धा गरेर राप्रपाको नेतृत्व परिवर्तन गर्नु सानो कुरा नभएको बताए । उनले नेतृत्व परिवर्तन नगरी देश विकास हुँदैन भन्ने कुरामा मात्रै सिमित रहेका देशका ठूला राजनीतिक पार्टी नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमालेका पुस्तान्तरणका कुरा गर्नेहरुलाई अब राप्रपाले नेतृत्व गर्ने बताएका छन् ।
नव निर्वाचित अध्यक्ष लिङदेनले नेकपा माओवादीले परिवर्तनको नाममा १० वर्ष ध्वंसात्मक गतिविधि सञ्चालन गरेर पुरानो भत्काउने नयाँ बनाउने भने पनि नयाँ योजना नै बनाउन नसकेको आरोप लगाउँदै अब राप्रपाले पुरानोलाई निरन्तरता दिँदै सिर्जनात्मक तरिकाले देशको विकास गर्ने बताए ।
आईतबार बिहान सम्पन्न मतपरिणाममा पार्टीका निःवर्तमान अध्यक्ष कमल थापालाई २२७ मतान्तरले पराजित गर्दै लिङदेन पार्टीको अध्यक्ष बनेका हुन् । निःवर्तमान अध्यक्ष थापाले १ हजार ६ सय १७ र लिङदेनले १ हजार ८ सय ४४ मत प्राप्त गरेका छन् ।
३. प्रकृतिलाई बिगारेर होइन सिँगारेर विकास गर्नुपर्दछस् राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिलाई बिगारेर होइन सिँगारेर मुुलुकको विकास गर्नुपर्दछ भन्ने भावना नीतिनिर्माणका सबै तहमा गहिरोसम्म स्थापित गर्नुपर्नेमा जोड दिएकी छिन् ।
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत आज यहाँ आयोजना गरेको राष्ट्रिय कार्यक्रममा उहाँले मानव र प्रकृति एकअर्कासँग जोडिएको उल्लेख गर्दै हाम्रो अस्तित्व पर्यावरणको सन्तुलनसँग गाँसिएको बताईन् ।
उनले भनिन् “यसलाई गहिरोसँग आत्मसाथ गर्दै जलवायु परिर्वतनले ल्याउने चुनौतीको सामना गर्न समुदायस्तरदेखि नै गरिने प्रयासमा महासङ्घजस्ता संस्थाको महत्वपूर्ण भूमिका रहन्छ ।”
राष्ट्रपति भण्डारीले वनजङ्गलको संरक्षणद्वारा प्रकृतिलाई जोगाउने कार्यभार र अर्कोतिर महिला हिंसा उन्मूलनलगायत विविध सामाजिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेकामा महासङ्घलाई धन्यवाद दिएकी छन् ।
उनले वनको दिगो व्यवस्थापनका माध्यमबाट गरिने जनताको जीविकोपार्जनजस्ता कार्यले वातावरण र जैविक विविधताको संरक्षणका साथै जलवायु अनुकूलन र न्यूनीकरण, सामुदायिक विकास तथा आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।
महासङ्घले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा विभिन्न चेतनामूलक सामाजिक कार्यक्रम सञ्चालन गरेकामा खुशी व्यक्त गर्दै राष्ट्रपति भण्डारीले अभियानमा सक्रिय भई सभ्य समाज निर्माण गर्ने कार्यमा सफलता मिलोस् भन्ने शुभकामना दिईन् । उनले उक्त अभियानमा आफ्नो क्षेत्रबाट योगदान गर्न सरोकारवाला सबै सरकारी निकाय तथा सामाजिक सङ्घसंस्थालाई आह्वानसमेत गरिन् ।
समाजमा अझै पनि लैङ्गिक हिंसा विभिन्नरूपले अस्तित्वमा रहिरहनु चिन्ताको विषयभएको उल्लेख गर्दै उनले भनिन् “एकातिर छाउपडी, बोक्सी, दाइजोजस्ता कुप्रथा निर्मूल गर्न सङ्घर्ष गर्नुपरेको छ भने अर्कोतिर कार्यस्थल तथा सार्वजनिक क्षेत्रमा हुने दुव्र्यहार एवं प्रविधिका माध्यमबाट महिलाविरुद्ध हुने हिंसा तथा शोषणाका नयाँ रूप प्रकट भइरहेका छन् । यी विकृतिको अन्त्य गर्न नीति र कानूनको निर्माण एवं तिनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकातर्फ सम्बद्ध सबै निकायको ध्यानाकर्षण गराउँदछु ।”
राष्ट्रपति भण्डारीले समाजबाट लैङ्गिक हिंसा उन्मूलन गर्न महिला र पुरुष दुवैको उत्तिकै सक्रियता आवश्यक रहेकोमा जोड दिईन् । कार्यक्रममा महासङ्घका अध्यक्ष भारती पाठकले लैङ्गिक हिंसा उन्मूलनका लागि कानूनको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाला सरकारी निकाय र सामाजिक संस्था जिम्मेवारीपूर्वक लाग्नुपर्ने बताईन् ।
नगरपालिका सङ्घका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्यञ्जुले महासङ्घले वन संरक्षणका साथै सामाजिक सशक्तिकरणमा पनि योगदान गरेकामा खुशी व्यक्त गरिन । कार्यक्रममा महासङ्घका पूर्वअध्यक्ष घनश्याम पाण्डे, सचिव ठाकुर भण्डारीलगायतले महासङ्घले नाङ्गा डाँडालाई वनजङ्गल संरक्षणमार्फत हरियाली बनाउने काम मात्र नभई आर्थिक, समाजिक तथा सचेतनामूलक कार्यसमेतमा विभिन्न कार्य गर्दै आइरहेको जानकारी गराईन् ।
४. विक्रम पाण्डेले ल्याए सर्वाधिक भोट, रेखा थापा पराजित
राप्रपाको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे बिजयी बनेका छन ।उनी सर्वाधिक मत ल्याएर विजयी भएका उनले २५२१ मत ल्याए ल्याए ।तर कमल थाप अध्यक्षमा पराजित भए पनि पार्टी भित्र थापापक्षको बर्चश्व देखिएको छ ।
भर्खरै घोषणा भएको परिणाम अनुसार उपाध्यक्ष र महामन्त्रीमा थापा पक्षधर उम्मेदवारहरु विजयी भएका छन् ।यसैगरी कमल थापा प्यानलबाट उठेका बुद्धिमान तामाङ १९४४ भोट ल्याएर विजयी भएका छन् भन् सोही प्यानलमा ध्रुवबहादुर प्रधान १८१४ भोट ल्याएर विजयी भएका छन् ।
महिला उपाध्यक्षमा रोशन कार्की १६८९ भोट ल्याएर विजयी भएकी छन् । उनी पनि कमल थापा पक्षकी हुन् ।महामन्त्रीको प्रतिस्पर्धामा लिङदेन पक्षका धवलशम्शेर राणाले सर्वाधिक २२२१ भोट ल्याएर विजयी भएका छन् । यसैगरि थापा पक्षकै भुवन पाठकले १८०५ भोट ल्याएर जित हासिल गरे ।महिला महामन्त्रीतर्फ थापा समूहकी कुन्ती शाही विजयी भइन् । उनले २००८ मत ल्याएकी छन् । महिला महामन्त्रीमा रेखा थापा पराजित भएकी छन् । उनल १६४० भोट ल्याइन् ।
५. आर्मीले ब्रिगेडलाई हरायो, लिगमा पहिलो जित
शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय त्रिभुवन आर्मी क्लबले ब्रिगेड ब्वाइज क्लबलाई हराएको छ ।
दशरथ रङ्गशालामा आज भएको खेलमा आर्मीले ब्रिगेडलाई एक–शून्य गोल अन्तरले हरायो । आर्मीका लागि भरत खवासले ८५ औँ मिनेटमा गोल गरे । सन्तोष तामाङले मिलाइदिएको पासलाई भरतले गोलमा परिणत गरेका हुन् ।
प्रतियोगितामा आर्मीको यो पहिलो जित हो । यसअघि आर्मीले पहिलो खेलमा पुलिस क्लबसँग एक–एक गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा आर्मीले मच्छ्रिन्द्र क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।
जितसँगै आर्मी तीन खेलमा पाँच अङ्कसहित चौथो स्थानमा पुगेको छ । चार अङ्क रहेको ब्रिगेड सातौँ स्थानमा छ ।
६. चुनावको परिणाम स्वीकार गरेर अघि बढ्नुपर्छ : राणा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष पशुपतिशम्शेर राणाले चुनावको परिणाम स्वीकार गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ । पार्टीको एकता महाधिवेशनमा चुनावद्वारा नेतृत्व चयन भएको उल्लेख गर्दै उहाँले यो परिणामलाई स्वीकार गरेर पार्टीका सबै नेता, कार्यकर्ता अघि बढ्नुपर्ने बताउनुभएको हो ।
आज आइतवार काठमाण्डौमा आयोजित नवनिर्वाचित केन्द्रीय समितिको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै उहाँले चुनावको परिणाम स्वीकार गरेर अघि बढ्न आफू तयार रहेको पनि बताउनुभयो ।
निवर्तमान अध्यक्ष राणाले पार्टीको लक्ष्य प्राप्तिका लागि सशक्त ढङ्गले अघि बढ्न पनि पार्टीको नयाँ नेतृत्वलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘मैले चार दिनअघि भनेको थिएँ– सकभर सर्वसम्मति गरौं । हुन सकेन भने परिणाम स्वीकार गरौँ भनेको थिएँ । म त्यो परिणाम स्वीकार गर्छु । साथीहरूलाई पनि स्वीकार गर्न अनुरोध गर्दछु । एउटै कुरा छ, साथीहरू बाटो सजिलो छैन । बाटो अत्यन्त कठिन छ, तपाईँहरूको सामुन्ने । त्यो बाटो बनाउँदा इमानदारिता र दक्षताको बाटो लिनुपर्छ । पार्टीले लिएको लक्ष्यमा नयाँ नेतृत्वलाई सफलता मिलोस् भन्ने शुभकामना पनि व्यक्त गर्दछु ।’
निवर्तमान अध्यक्ष राणाले राप्रपालाई नयाँ नेतृत्वले देशको वैकल्पिक प्रजातान्त्रिक शक्तिको रूपमा स्थापित गराउने विश्वाससमेत व्यक्त गर्नुभयो ।
७. दिल्लीमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट : ओमिक्रोन
भारतको दिल्लीमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन को सङ्क्रमण देखिएको छ ।
दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनका अनुसार तान्जेनियाबाट दिल्ली फर्किएका ३७ वर्षीय व्यक्तिमा कोरोनाको नयाँ सङ्क्रमण देखिएको हो । ती व्यक्तिको एलएनजेपी अस्पतालमा भइरहेको बताइएको छ ।
भारतमा यो ओमिक्रोन भेरियन्टका पाँचौँ केस हो । यसअघि बेङ्गलोर (कर्नाटक) मा दुई, मुम्बईमा एक र गुजरातमा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको थियो ।
अहिलेसम्म १७ जनामा कोभिड परीक्षण पोजेटिभ पाइएको र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको स्वास्थ्यमन्त्री जैनले बताउनुभयो ।
गएको हप्ता दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ओमिक्रोन भेरियन्टलाई लिएर चिन्ता व्यक्त गर्दै प्रभावित देशमा यात्रा प्रतिबन्ध लगाउन प्रधानमन्त्री नरेन्द्र मोदीसँग अपिल गर्नुभएको थियो ।
अहिलेसम्म विश्वका २३ देशमा ओमिक्रोनको सङ्क्रमण पुष्टि भइसकेको छ ।
नयाँ भेरियन्टका कारण बेलायत, युरोपेली सङ्घ, अमेरिका र क्यानडाजस्ता देशले दक्षिण अफ्रिकासहित केही अफ्रिकी देशबाट आउने उडानमा प्रतिबन्ध लगाएका छन् ।
गएको २६ नोभेम्बरमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यसलाई ओमिक्रोनु नाम दिँदै यो नयाँ भेरियन्ट चिन्ताको विषय भएको जनाएको थियो ।
८. ग्लोबल पोस्चर रिभ्युस् अमेरिका थप युद्धमा संलग्न हुने संकेत, चीनलाई घेर्ने योजना
गत सोमवार अमेरिकाको रक्षा मन्त्रालयले सार्वजनिक गरेको ग्लोबल पोस्चर रिभ्युले अमेरिका थप युद्धहरूमा संलग्न रहने स्पष्ट संकेत दिएको छ ।
महिनौंको विश्लेषण र अमेरिकाका विभिन्न सरकारी निकायहरूबीचको समन्वयका आधारमा यो समीक्षा तयार पारिएको अमेरिकाको रक्षा मन्त्रालयको कथन छ । राष्ट्रिय सुरक्षा रणनीतिको मस्यौदा तयार पार्नका लागि यस समीक्षाले योगदान गर्नेछ । प्रतिस्पर्धी मुलुकहरू चीन र रुसलाई फाइदा पुग्न सक्ने आकलन गर्दै उक्त समीक्षाको पूर्ण प्रतिवेदन सार्वजनिक गरिएको छैन ।
प्रतिवेदनको रूपरेखाका बारेमा अमेरिकाको रक्षा मन्त्रालयले दिएको जानकारीलाई हेर्दा अमेरिकाले शीतयुद्धकालीन मानसिकताका साथ चीन र रुससँगको प्रतिस्पर्धालाई चर्काउन खोजेको देखिने भनी दी इन्टरसेप्ट पत्रिकामा जेरेमी स्काहिलले टिप्पणी गरेका छन् ।
त्यस्तै अमेरिकाका सैन्य विश्लेषक स्कट रिट्टरले ग्लोबल टाइम्समा यस समीक्षाको विश्लेषण गर्दा दुईवटा कुरा पाएका छन् ।
उनका अनुसार, पहिलो कुरा त यस समीक्षाले अमेरिकाको राष्ट्रिय सुरक्षालाई चीनसँग एक पक्ष मात्र अन्तिममा बाँकी रहने ९जिरो सम० लडाइँका रूपमा लिएको छ । दोस्रो, बाइडन प्रशासनले अमेरिका र चीनबीचको संघर्षलाई लोकतन्त्र तथा निरंकुशताको लडाइँका रूपमा लिएको छ ।
तदनुरूप चीनलाई हिन्द–प्रशान्त क्षेत्रमा जसरी भए पनि रोक्ने अमेरिकाको रणनीति हो । समीक्षाको सारांशमा स्पष्ट रूपमा लेखिएको छ, ‘हिन्द प्रशान्त क्षेत्रमा यस समीक्षाले साझेदार र सहयोगीहरूसँग थप सहकार्य गर्न निर्देशन दिएको छ । क्षेत्रीय स्थिरतामा योगदान गर्ने पहलहरूलाई अघि बढाउन अनि चीनको सैन्य आक्रामकता तथा उत्तर कोरियाबाट आउने जोखिमलाई निवारण गर्न सहकार्य गरिनेछ ।’
चीनको घेराबन्दी गर्नका लागि अस्ट्रेलिया र प्रशान्त महासागरमा रहेका टापु मुलुकहरूमा सैन्य पूर्वाधार निर्माण गर्ने र सैन्य साझेदारी बढाउने उल्लेख पनि समीक्षामा गरिएको छ । विशेषगरी अस्ट्रेलिया र ग्वाममा सैन्य अड्डा बनाएर चीनलाई सेकेन्ड आइल्यान्ड चेनमा घेराबन्दी गर्ने अमेरिकाको योजना देखिन्छ ।
सेकेन्ड आइल्यान्ड चेन भन्नाले जापानको बोनिन टापुसमूह र भोल्केनो टापुसमूहदेखि लिएर मारियाना टापुसमूहको ग्वाम अनि पश्चिमी क्यारोलाइन टापुसमूहदेखि पश्चिमी न्यु गिनीसम्मको क्षेत्र हो ।
कुरिल टापुसमूहदेखि ताइवान र फिलिपिन्स हुँदै बोर्नियोसम्मको क्षेत्र चिनियाँ भूभागबाट अत्यन्तै नजिक छन् र तिनलाई फर्स्ट आइल्यान्ड चेन भनिन्छ । त्यसको सबभन्दा महत्त्वपूर्ण टापु ताइवान हो र त्यसमा कब्जा गर्न सके वरपरका क्षेत्रमा शक्तिप्रदर्शन गर्न चीनलाई सहज हुनेछ । त्यसैले अमेरिका कुनै पनि हालतमा चीनलाई ताइवानमाथि कब्जा जमाउन दिने पक्षमा छैन ।
तर ग्लोबल पोस्चर रिभ्युमा अमेरिकाले जोड दिएर सेकेन्ड आइल्यान्ड चेनलाई सैन्य रूपमा थप सशक्त बनाउन खोजेको देख्दा कतै उसले फर्स्ट आइल्यान्ड चेनमा हार मानिसकेको त हैन भन्ने प्रश्न पनि उठाउन सकिन्छ ।
विशेषगरी चीनका परम्परागत ब्यालिस्टिक तथा क्रुज क्षेप्यास्त्रहरूमा फर्स्ट आइल्यान्ड चेनलाई तहसनहस बनाइदिन सक्ने क्षमता विकसित भइसकेको अमेरिकाको थिंकट्यांक र्यान्ड कर्पोरेसनले आकलन गरेको छ । त्यसभन्दा एक कदम अघि बढ्दै चीनका हतियारले सेकेन्ड आइल्यान्ड चेनमा रहेका अमेरिकाका सैन्य अड्डालाई समेत जोखिममा पार्न थालेकाले अमेरिकाले त्यहाँ सैन्य मजबूती बढाउन खोजेको देखिन्छ ।
अमेरिकाले संसारभरि आफ्नो सैन्य शक्ति प्रदर्शनलाई थप चर्काउने संकेत दिने गरी ग्लोबल पोस्चर रिभ्यु सार्वजनिक गरेको छ । युद्ध भन्दा पनि कूटनीतिमा विश्वास गर्ने भनिएका बाइडनले अमेरिकाको युद्ध पूँजीवादी नीतिलाई पल्टाउने हैसियत राख्दैनन् भन्ने तथ्यलाई यसले स्थापित गरेको छ ।
अमेरिकाले त्यस क्षेत्रमा जमीनबाट मार हान्ने मध्यम दूरीका क्षेप्यास्त्रहरू तैनाथ गर्ने सम्भावना छ । यही सम्भावनालाई मद्देनजर गर्दै अमेरिकाले सन् २०१९ मा इन्टरमिडिएट रेन्ज न्युक्लीयर फोर्सेस सन्धिबाट हात झिकेको थियो ।
उक्त सन्धिले ५०० देखि ५ हजार किलोमिटर दूरीको दायरामा जमीनबाट मार हान्ने ब्यालिस्टिक र क्रुज क्षेप्यास्त्रहरूको तैनाथीमा प्रतिबन्ध लगाएको थियो । अब त्यस सन्धिमा नबाँधिएको अमेरिकाले सेकेन्ड आइल्यान्ड चेनका मुलुकहरूमा त्यस्ता क्षेप्यास्त्र राख्न सक्ने देखिन्छ ।
हिन्द प्रशान्त क्षेत्रमा चीनलाई रोक्नका लागि अमेरिकाले यसै कडीमा अकस साझेदारी पनि ल्याएको यहाँ स्मरणीय छ ।
अमेरिका, बेलायत र अस्ट्रेलियाबीचको यस साझेदारीले अमेरिकालाई हिन्द प्रशान्त क्षेत्रमा निगरानी गर्ने अवसर दिएको छ । अमेरिकाले अस्ट्रेलियालाई आणविक ऊर्जाबाट चल्ने पनडुब्बीको सम्झौता गराएर अस्ट्रेलियामा सैन्य उपस्थिति बढाउने रणनीति बनाएको स्पष्ट हुन्छ । अस्ट्रेलिया सेकेन्ड र थर्ड आइल्यान्ड चेनको बीचमा पर्ने रणनीतिक रूपमा महत्त्वपूर्ण मुलुक हो ।
अस्ट्रेलियामा अमेरिकाले लडाकू तथा वमवर्षक विमानहरू तैनाथ गर्ने अनि स्थलसेनाको तालिम तथा बन्दोबस्तीका सामानमा थप साझेदारी गर्ने जानकारी रक्षा मन्त्रालयकी अधिकारी मारा कार्लिनले दिएकी छन् । त्यसका साथै दक्षिण कोरियामा अट्याक हेलिकप्टरको जत्था तथा आर्टिलरी डिभिजनको हेडक्वार्टर पनि राख्ने अमेरिकाको योजना रहेको छ ।
त्यस्तै उक्त क्षेत्रको अर्को सानो मुलुक पालाउमा पनि अमेरिकाले सैन्य अड्डा राख्न खोजेको छ । ताइवानलाई मान्यता दिने सीमित मुलुकहरूमध्ये एक पालाउलाई फकाउनका लागि सन् २०१९ को अगस्ट महिनामा अमेरिकाका तत्कालीन रक्षामन्त्री मार्क एस्पर त्यहाँ पुगेका थिए । पालाउ चीनको बेल्ट यान्ड रोड इनिसिएटिभतिर नलागोस् भनी अमेरिकाले वर्षैैपिच्छे त्यहाँ ठूलो लगानी गर्ने कुरा पनि एस्परले उठाएका थिए ।
अमेरिका आफैं मात्र नभई आफ्ना साझेदारहरूलाई पनि युद्धको भुमरीमा पार्न तम्तयार रहेको यसबाट देखिने भनी काउन्टरपन्च नामक वेबसाइटमा विनोय क्याम्पमार्कले गरेको टिप्पणी गरेका छन् ।
हिन्द प्रशान्त क्षेत्रबाहेक बाइडन प्रशासनले युरोप, पश्चिम एसिया, हर्न अफ अफ्रिका लगायतका ठाउँमा पनि सैन्य उपस्थिति कायम राख्ने र त्यसलाई थप बलियो बनाउने ग्लोबल पोस्चर रिभ्युमा उल्लेख गरिएको छ ।
युक्रेन संकटका कारण रुससँग अनि ताइवानका कारण चीनसँग अमेरिकाको भिडन्त हुने सम्भावना जीवितै छ । त्यसबाहेक इरानसँगको आणविक सम्झौता वार्ता पनि गत साता हुन नसकेर धकेलिएको छ र त्यसको कुनै टुंगो छैन ।
यस्तो अवस्थामा अमेरिकाले संसारभरि आफ्नो सैन्य शक्ति प्रदर्शनलाई थप चर्काउने संकेत दिने गरी ग्लोबल पोस्चर रिभ्यु सार्वजनिक गरेको छ । युद्ध भन्दा पनि कूटनीतिमा विश्वास गर्ने भनिएका बाइडनले अमेरिकाको युद्ध पूँजीवादी नीतिलाई पल्टाउने हैसियत राख्दैनन् भन्ने तथ्यलाई यसले स्थापित गरेको छ ।
लोकान्तरबाट ।।
९. २४ घण्टामा २ सय ५ जनामा कोरोना सङ्क्रमण, ४ सय ३६ जना निको
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमण दर दुई प्रतिशतभन्दा तल झरेको छ । पीसीआर र एन्टिजेन गरी १० हजार सात सय ४७ जनाको नमुना परीक्षण गर्दा एक दशमलव नौ प्रतिशत अर्थात् दुई सय पाँच जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा चार सय ३६ जना सङ्क्रमित निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख चार हजार पाँच सय ४४ पुगेको छ ।
यही अवधिमा एक जनासहित कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ४१ पुगेको छ ।
अहिले नेपालमा ६ हजार पाँच सय सात जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबीच पछिल्लो २४ घण्टामा ५७ हजार नौ सय ३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा,मंसिर २७, स्याङ्जा, । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश