वैशाख १४ गते र २२ गते स्थानीय तहको निर्वाचन गर्न सरकारसमक्ष आयोगको प्रस्ताव, कसको हालत के हुन्छ आउने निर्वाचनले देखाउने छ: प्रचण्ड, अध्ययन गरेर मात्र एमसीसी पारित गर्ने प्रक्रियाअघि बढाउनु पर्छ: माधव नेपाल

एन सञ्चार, पौष ९, काठमाडौं ।।

१. वैशाख १४ गते र २२ गते स्थानीय तहको निर्वाचन गर्न सरकारसमक्ष आयोगको प्रस्ताव

निर्वाचन आयोगले आगामी वैशाख १४ गते र २२ गते स्थानीय तहको निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रीहरुसँग शुक्रबार छलफल गरेको निर्वाचन आयोगले पहिलो चरणमा वैशाख १४ गते र दोस्रो चरणको २२ गते निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

स्थानीय तहका पदाधिकारी पदावधि जेठ ५ गते सकिन लागेको र स्थानीय तह सञ्चालन ऐन अनुसार पदावधि सकिनु २ महिनाअघि निर्वाचन गरिसक्नु पर्ने व्यवस्था रहेको पौडेलले जारी गरेको विज्ञप्तिमा स्मरण गराइएको छ।

‘सम्पूर्ण सुरक्षा व्यवस्था मिलाई सबै स्थानीय तहको निर्वाचन एकै दिन गर्नु उपयुक्त हुने हुँदा २०७९ वैशाख १४ गते बुधबारका दिन निर्वाचनको मिति तोक्न उपयुक्त हुने र यदि कुनै कारण एकै दिन निर्वाचन गर्न सम्भव नभएमा पहिलो चरणको वैशाख १४ गते बुधबार र दोस्रो चरणको वैशाख २२ गते बिहीबार गर्न सकिने व्यहोरा प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी गराउनुभएको थियो,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

संविधानको धारा २२५ बमोजिम कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था छ। कार्यकाल समाप्त भएपछि स्थानीय तह संचालनसम्बन्धी कुनै स्पष्ट कानुनी व्यवस्था नभएकोले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा २ महिनाअघि नै निर्वाचन गर्न आयोगले प्रस्ताव गरेको हो। आयोगको प्रस्तावमा मन्त्रिपरिषदले यसबारे निर्णय गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

२. भाडामा बस्नेलाई पनि विद्युत् मिटर उपलब्ध हुन्छ:  ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको आयात न्यूनीकरण र विद्युत खपतको नीति बनाएर प्रभावकारी कार्यान्वयन गरिने बताएकी छिन्। मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले अबका दिनमा सङ्गठित क्षेत्रमा प्रयोग हुँदै आएको ग्यास चुल्होलाई विद्युतीय चुल्होले विस्थापित गर्ने नीति अख्तियार गरिएको बताइन्। उनले भनिन्, “विद्युत खपत गर्ने ठूला उद्योग स्थापनाका लागि प्रोत्साहन गर्ने र विद्युतीय सवारी साधनको प्रवर्द्धनदेखि हरेक क्षेत्रमा विद्युतीय उपकरण उपयोग गर्ने नीति लिएको छु। त्यसका लागि सरकारी एवं निजी क्षेत्रका सङ्घसंस्थासँग निरन्तर छलफल गरिरहेको छु।”

विद्युत् वितरण विनियमावली २०६९ लाई परिवर्तन गरेर ग्राहकमैत्री विद्युत् वितरण विनियमावली बनाइएको उनले जानकारी दिइन्। मन्त्री भुसालका अनुसार अब ग्राहकले मागेको समयमा सहजै विद्युत् पाउने छन्। एक सय केभिएसम्म विद्युत् सबैलाई तथा सामुदायिक डेरी, चिस्यान केन्द्र, खानेपानी, सिँचाइ क्षेत्रलाई २०० केभिएसम्म विद्युत् प्राधिकरणकै ट्रान्सफरमरबाट उपलब्ध हुनेछ।

“अब घर भाडामा बस्नेले पनि प्राधिकरणको छुट्टै मिटर लिइ ग्राहक बन्न सक्ने र अपार्टमेन्ट तथा कोलनीमा बस्नेले छुट्टै मिटर लिएर ग्राहक बन्न सक्नेछन्। यसबाट शहरी क्षेत्रमा डेरा गरी बस्ने लाखौँ जनता लाभान्वित हुनेछन्”, मन्त्री भुसालले भनिन्। नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सहकार्य गरी आगामी दुई वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण गर्न कार्ययोजना बनाएर काम अगाडि बढाएको उनले जानकारी दिइन्। सिँचाइतर्फका राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्यलाई तीव्रता दिएको छ भने स्यालो तथा डीप ट्युवेल निर्माण गरी सिँचाइ सुविधा विस्तार गरिएको मन्त्री भुसालले जानकारी दिइन्।

हरेक प्रदेशमा अर्धजलाशय र जलाशययुक्त आयोजना विद्युत् प्राधिकरणमार्फत अगाडि बढाउन कार्ययोजना बनाइरहेको जानकारी दिँदै मन्त्री भुसालले यस्ता आयोजना बनाउँदा ऊर्जा सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको उल्लेख गरिन्। नेविप्राका सहायक कम्पनीमार्फत निर्माणाधीन आयोजनाको निर्माण कार्यलाई तीव्रताका साथ अगाडि बढाउने कामको निरन्तर नियमन भइरहेको जानकारी दिँदै उनले भनिन्, “निजी क्षेत्रबाट निर्माणाधीन आयोजना छिटो सम्पन्न गर्न आवश्यक समन्वय एवं सहजीकरण तथा अनुगमन गर्ने काम भइरहेको छ।”

निर्माणाधिन प्रशारणलाइन संरचना छिटो सम्पन्न गर्न अनुगमन तथा आवश्यक समन्वयलाई विशेष प्राथमिकता दिएको बताउँदै मन्त्री भुसालले नेविप्रा र राष्ट्रिय ग्रिड प्रशारण कम्पनीबीच समन्वय गरी प्रशारण लाइन तथा सबस्टेशनहरू निर्माणलाई द्रूत गतिमा अगाडि बढाउँदै लगेको उल्लेख गरिन् । विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न विद्युतीय सवारी चार्जिङ स्टेसनको विद्युत् महसुल दर निर्धारण गरिएको उल्लेख गर्दै उनले भनिन्, “प्राधिकरणमार्फत देशभर चार्जिङ स्टेसनको निर्माण कार्य तीव्रताका साथ अगाडि बढाइएको छ। व्यक्तिगत, निजी तथा संस्थागतरुपमा चार्जिङ स्टेसन स्थापना गर्न सक्ने व्यवस्था मिलाइएको छ।”

मन्त्री भुसालका अनुसार राष्ट्रिय विद्युत् प्रणालीमा उपलब्ध विद्युत् शक्ति बढी भइ खेर जाने भएमा वा विशेष परिस्थिति आइपरेको अवस्थामा विद्युत् महसुल बाँकी बक्यौता रहेका ग्राहकहरूले क्षमता वृद्धि वा नयाँ विद्युत् लाइनका लागि आवेदन गरेमा कार्यकारी निर्देशकले क्षमता वृद्धि वा नयाँ लाइन जडान गर्न सक्नेछन्। सोही निर्णयका कारण पछिल्लो समय करिब २५० मेगावाट विद्युत् खपत बढेको छ भने छिट्टै थप २५० मेगावाट विद्युत् खपत बढ्नेछ। त्यस्तै भारतको विद्युत् मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत् व्यापारका लागि नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत् बिक्री गर्न अनुमति प्राप्त भएको छ।

नेविप्राको विद्युत् व्यापार कम्पनीलाई विद्युत् व्यापारको अनुमति प्रदान गरिएको र निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको अनुमति दिने तयारी गरेको उनको भनाइ छ। सिँचाइ नीति पुनरावलोकन गरी देशभरका खेतीयोग्य जमिनमा सिँचाइ पुर्याउने गरी काम अघि बढाएको र नदी नियन्त्रण तथा तटबन्ध निर्माण कार्यलाई दीगो र किफायती बनाउन नयाँ प्रविधिको प्रयोगलाई प्राथमिकता दिइने उनले बताइन्।

आफूले मन्त्रालय सम्हालेको पाँच महिना पूरा भएको र यस अवधिमा सर्वसाधारण जनतालाई राहत पुग्ने गरी केही महत्वपूर्ण निर्णय भएको उनको दाबी छ। उनले भनिन्, “विद्युतको अन्तर्राष्ट्रिय व्यापारमा महत्वपूर्ण सुरुआत भएको छ। कृषिको आधार मानिएको सिँचाइ क्षेत्रमा पनि महत्वपूर्ण निर्णय भएका छन्। मेरो देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिएको छु। यस अवधिमा गरिएका निर्णयले आत्मनिर्भर अर्थतन्त्र जलविद्युत क्षेत्रले सहयोग गर्नेछ।”

३. माओवादीले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि बढायो, १० प्रतिशत मनोनित गर्ने जिम्मा प्रचण्डलाई

नेकपा ‘माओवादी केन्द्र’ ले राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि टुङ्ग्याएको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले नियमित प्रक्रियाबाट आएका १४८३ र त्यसको १० प्रतिशत मनोनयन गर्ने भएको छ ।

प्रतिनिधि मनोनयनको जिम्मा बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने जिम्मा प्रचण्डलाई दिएको प्रवक्ता कृष्णबहादुर महराले बैठकपछि जानकारी दिए । यसअघि माओवादीले ५ प्रतिशत मनोनयन गर्ने भनेकोमा त्यसलाई बढाएर १० प्रतिशतमा पुर्याएको हो ।

महरका अनुसार १० प्रतिशत मनोनयन गर्दा १ सय ४८ जना प्रतिनिधि छानिने छन् । माओवादीले यसअघि सम्मेलनमा १५ सय ३३ प्रतिनिधि हुने भनेको भए पनि अब त्यो संख्या १६ सय ८ हुने भएको छ ।

स्थायी कमिटीमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक दस्तावेजमाथि शनिबार बस्ने बैठकमा छलफल हुने माओवादी नेताहरुले बताएका छन् । नेकपा माओवादीको राष्ट्रिय सम्मेलन यही पुस ११–१३ मा काठमाडौमा हुँदैछ ।

४. कसको हालत के हुन्छ आउने निर्वाचनले देखाउने छ: प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने चुनावले कुन पार्टीको हालत के हुने भन्ने देखाउने बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित पार्टी एकीकरण कार्यक्रम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै प्रचण्डले कसैले अहिले धाक धम्की दिए पनि चुनावले वास्तविकता देखाउने बताए।

उनले ओली अहिले गाउँ/गाउँमा शिला खोज्न निस्किएको बताए। ओलीले बिहीबारमात्रै पर्सामा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष जितेका जालिम मियाँलाई एमालेमा प्रवेश गराएका थिए।

ओलीलाई प्रतिगमनकारी शक्ति भन्दै प्रचण्डले गत वर्ष पुस ५ मा संसद विघटन गरेर अहिलेको व्यवस्था उल्टाउन खोज्ने ओलीको प्रयासलाई सबै मिलेर सफल हुन नदिएको बताए।

उनले अहिलेको पाँच दलीय गठबन्धनलाई अझ बलियो बनाउँदै लैजानु पर्ने पनि उल्लेख गरे।

‘यो गठबन्धनलाई अगाडि लैजानुपर्छ। यसलाई बलियो बनाउन हाम्रोतर्फबाट सबै प्रयासहरू गरिनेछ,’ प्रचण्डले भने।

५. कोरोना अपडेटः थप २६० जनामा संक्रमण, एक जनाको मृत्यु

गत २४ घण्टाभित्र नेपालमा थप २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ८९८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ८ हजार ६० जनाको पिसिआर परीक्षण र
३ हजार ८३८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

हालसम्म संक्रमितको संख्या पिसिआर परीक्षणबाट ८ लाख २६ हजार ९०१ र एन्टिजेन परीक्षणबाट ९६ हजार ११५ रहेको छ ।

निको हुनेको संख्या ३४९ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म निको हुनेको कूल संख्या ८ लाख १० हजार २७१ पुगेको छ।

संक्रमणबाट १ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५८२ रहेको छ।

नेपालमा हाल ५ हजार ४८ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३ लाख २९ हजार ३७१ खोप लगाइएको छ।

६. पुलिस र फ्रेन्ड्सबीचको खेल बराबरीमा सकियो

शहीद स्मारक ‘ए’  डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबबीचको खेल बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज शुक्रवार भएको दोस्रो खेलमा पुलिस र फ्रेन्ड्सले गोलरहित बराबरी खेलेका हुन् । बराबरी खेल्दै दुवैले अङ्क बाँडेका छन् ।

खेलमा दुवै टोलीले केही उत्कृष्ट मौका बनाउँदा पनि गोल भने गर्न सकेनन् । आजको बराबरीसँगै पुलिस क्लब ६ खेलमा ६ अङ्कसहित तालिकाको आठौँ स्थानमा छ भने समान खेल खेलेको फ्रेन्ड्स तीन अङ्कसहित पुछारमा छ ।

७. थप ६ लाख ६४ हजार डोज फाइजर खोप नेपाल आइपुग्यो

नेपालमा थप ६ लाख ६४ हजार ५ सय ६० डोज फाइजर खोप आएको छ । आज शुक्रवार बिहान आइपुगेको खोप कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकाबाट प्राप्त भएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियाले बताउनुभयो ।

सरकारले आउँदो १३ गतेदेखि काठमाण्डौ उपत्यकाका तीनसहित आठ जिल्लामा र केही दिनभित्र बाँकी १२ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोर–किशोरीलाई कोरोनाविरुद्धको फाइजर खोप लगाउने कार्यतालिका सार्वजनिक गरेको छ ।

नेपालले कोभ्याक्स सुविधामार्फत फाइजर खोपको एक लाख ६ सय २० डोज गएको कात्तिक महिनाको दोस्रो हप्ता प्राप्त गरेको थियो ।

सरकारले प्रदेश नम्बर १ को झापा, मोरङ र सुनसरी, प्रदेश नम्बर २ को सप्तरी, धनुषा, र पर्सा, वाग्मती प्रदेशको काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन र सिन्धुलीमा १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई फाइजर खोप दिने जनाएको छ । यस्तै गण्डकी प्रदेशको कास्की र बागलुङ‚ लुम्बिनी प्रदेशको रुपन्देही, बाँके र दाङ‚ कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा र कैलाली जिल्लामा १२ देखि १७ वर्षका किशोरकिशोरीलाई खोप दिने जनाएको छ ।

८. १९ वर्षमुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल १ सय ५४ रनले पराजित

१९ वर्षमुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । यूएईमा आज शुक्रवार भएको खेलमा नेपाल बङ्गलादेशसँग एक सय ५४ रनले पराजित भएको हो ।

शारजाह क्रिकेट मैदानमा बङ्गलादेशले दिएको दुई सय ९८ रनको लक्ष्य पछ्याएको नेपाल ४२ ओभर ३ बलमा अलआउट हुँदै एक सय ४३ रनमै सीमित भयो । नेपालका लागि गुलशन झाले सर्वाधिक ३५ रन बनाए । यस्तै विवेक यादव २६ रनमा आउट भए । बङ्गलादेशका तान्जिम हसन शकिब, राकिबुल हसन, मेहेरुब र नईमुर रोहमानले दुईरदुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले ५० ओभरमा चार विकेट गुमाएर दुई सय ९७ रन बनाएको थियो । बङ्गलादेशका लागि प्रान्तिक नबिलले अविजित रहँदै एक सय २७ रन बनाए । नेपालका गुलशन झा तिलक भण्डारी मोहम्मद आदिल आलमले एक–एक विकेट लिए ।

समूह ‘बीु’ मा रहेको नेपालले दोस्रो खेलमा पर्सि आइतवार श्रीलङ्कासँग खेल्नेछ ।

९. अध्ययन गरेर मात्र एमसीसी पारित गर्ने प्रक्रियाअघि बढाउनु पर्छ: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले अध्ययन गरेर मात्र एमसीसी सदनबाट पारित गराउने प्रक्रियाअगाडि बढाउनु पर्ने बताएका छन्।

सल्यानमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुगेका अध्यक्ष नेपालले शुक्रबार पत्रकारसँग भेटघाटमा आर्थिक सहयोग मात्र भए एमसीसी पास गर्नुपर्ने र अन्यथा पारित गर्न नहुने बताए।

‘एमसीसीसम्बन्धी वास्तविकता के छ त्यो बुझ्छौं र जनताको चाहना के छ त्यो बुझ्छौं। त्यसपछि मात्र प्रक्रिया अगाडि बढाउँछौं ,’ उनले भने ‘अमेरिकाले उपलब्ध गराउने आर्थिक सहयोग निस्स्वार्थ हो भने हामी स्वीकार्छौं। सबै कुराको सुनिश्चित छैन तथा स्वार्थगत छ भने हामी कदापी स्वीकार्दैनौं।’

एमसीसी पास गर्ने अधिकार जनतामा रहेको र त्यो विषय जनतामा लैजानु पर्ने अध्यक्ष नेपालले बताए।