चितवनको इच्छाकामना गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका दानबहादुर गुरूङ निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसकी गीताकुमारी गुरूङलाई पराजित गरेका हुन्।
दानबहादुर गुरूङले ६११० र गीताकुमारी गुरूङले ४६०८ भोट ल्याए।
पराजित भएकी गुरूङ अघिल्लो निर्वाचनबाट यो गाउँपालिकाको अध्यक्ष बनेकी थिइन्। यसपालि पाँच दलीय गठबन्धनको साझा उम्मेदवार बन्दा पनि उनी एमालेसँग पराजित भएकी हुन्।
गाउँपालिकाको अध्यक्षमा विजयी भएका दानबहादुर गुरूङ पूर्वशिक्षक हुन्। राष्ट्रिय आधारभूत विद्यालय पैरेनीका प्रधानाध्यापक गुरूङ सेवा निवृत्त हुन ४ वर्ष मात्रै बाँकी रहँदा राजीनामा दिएर अध्यक्षको उम्मेदवार बनेका थिए। एउटामात्रै विद्यालयको नभएर गाउँपालिकाका सबै विद्यालयका लागि आफ्नो जरूरी रहेको ठानेर राजीनामा दिएका थिए।
उनले इच्छाकामना- ६ स्थित राष्ट्रिय आधारभूत विद्यालय पैरेनीमा २०५२ सालबाट पढाउन थालेका थिए। उनी २०६३ सालमा स्थायी भएका थिए।
इच्छाकामना-६ याक्राङमा २०२८ सालमा जन्मिएका गुरूङ चार पटकसम्म नेकपा एमालेको जिल्ला समिति सदस्य भए। उनी हाल पार्टीको इच्छाकामना गाउँपालिकाका इन्चार्ज हुन्। उनी नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्वजिल्ला अध्यक्ष हुन्।
गुरूङले गाउँपालिकाको अध्यक्षमा विजयी भए सबैभन्दा पहिले शिक्षाका समस्या समाधानमा लाग्ने बताएका छन्। चेतनाको अभावका कारण बाल मजदुर बढेको, प्राथमिक विद्यालयमा पनि सबैको पहुँच नभएको उल्लेख गर्दै उनले सबै बालबालिकाले पढ्न पाउने व्यवस्था मिलाउने उनले बताए। उनले बाल मजदुरको संख्यालाई शून्यमा झार्ने बताए।
गुरूङले इच्छाकामना किसानलाई शिक्षासँग जोडेर उत्पादन बढाउने कार्यक्रम ल्याउने बताए। स्थानीयलाई कृषिमा आत्मनिर्भर बन्न प्रेरित गरिने बताए।
त्यसैगरी गुरूङको योजना गरिबीको रेखामूनि रहेका चेपाङ, दलित समुदायको जीवनस्तर उकास्ने खालका कार्यक्रम ल्याउने, मेयर आवास कार्यक्रम सञ्चालन गरी बासस्थानको व्यवस्था गर्ने, सुकुम्बासीलाई व्यवस्थित गर्न लालपुर्जा वितरण गर्ने, इच्छाकामनाका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने, सडक सञ्जालको बिस्तार गर्नेलगायतका योजना रहेको छ। इच्छाकामनाका ग्रामीण क्षेत्रका सडकको अवस्था दयनीय रहेकाले ती सडकको स्तरोन्नति गर्ने, भौतिक पूर्वाधारका क्षेत्रलाई प्राथमिकतामा राख्ने बताए।
‘इच्छाकामनाको ग्रामीण क्षेत्रमा सडक कालोपत्रे हुन सकेको छैन। मेरो योजना गाउँमा सडक विस्तार गर्ने, ग्राभेल भएका सडकलाई कालेपत्रे गर्ने छ,’ गुरूङले भनेका छन्, ‘विकासका दृष्टिले असाध्यै पछाडि परेको इच्छाकामनामा विकासको लहर सुरू गर्ने लक्ष्य मेरो छ।’
इच्छाकामना गाउँपालिकाको उपाध्यक्ष पदमा पनि एमालेकै माया सिलवाल विजयी भइन्। उनले ५३४४ भोट ल्याइन्। प्रतिद्वन्द्वी गठबन्धनबाट माओवादी केन्द्रका प्रताप गुरूङले ५०४४ भोट ल्याए। गुरूङ गठबन्धनका उम्मेद्वार हुन्।
गाउँपालिकाका ५ वटा वडा एमालेले, एउटा माओवादी र एउटा वडा कांग्रेसले जितेका छन्।

