२५ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च तहका अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । स्वास्थ्यमन्त्री भवानी खापुङले राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. सञ्जय ठाकुर स्वास्थ्य समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी दिएका छन् ।

राष्ट्रिय क्षयरोग केन्द्रमा भने लामो समयदेखि फाजिलमा रहेकी डा. रिता जोशी पठाइएकी छन् । त्यसैगरी, फाजिलमा रहेका नारायण ढकाललाई प्रदेश १ मा पठाइएका छन् । यसअघि उनी औषधि व्यवस्था विभागका महानिर्देशक थिए ।

यस्तै डा. विश्वबन्धु बगालेलाई किटजन्य रोग केन्द्र हेटौंडा पठाइएको छ भने केन्द्रका प्रमुख डा.केशव पण्डितलाई स्वास्थ्य मन्त्रालयमा आएका छन् ।

डा. संगीता मिश्रा प्रमुख विशेषज्ञमा बढुवा भएसँगै एक महिनाभन्दा बढी समयदेखि मन्त्रालयको प्रवक्ताको जिम्मेवारी तोकिएको छैन । डा. मिश्राको बढुवा भएसँगै सहप्रवक्ता डा. समीर कुमार अधिकारीले प्रवक्ताको भूमिका निर्वाह गरेका छन् ।

मन्त्रालयमा यसभन्दा अगाडि स्वास्थ्य समन्वय महाशाखाको प्रमुखलाई प्रवक्ताको जिम्मेवारी दिइने चलन रहदै आएको छ । तर, यसपटक भने प्रवक्ताको जिम्मेवारी कसलाई दिने भन्ने कुरामा मन्त्री तथा सचिव बीच  विवाद भएको मन्त्रालयका अधिकारी बताउँछन् ।

एक महिनासम्म किन प्रवक्ताको जिम्मेवारी नतोकिएको भन्ने प्रश्नमा मन्त्री खापुङ अबको केही दिनमा निर्णय हुने बताए । मन्त्री खापुङले भने,’ मन्त्रालयमा आन्तरिक सल्लाह गर्दै छु । अबको केही दिनभित्रमा निर्णय हुन्छ ।’