कुल ३ करोड ९२ लाख ६५ हजार ८ सय ७ रुपिँया ७ पैसामा ठेक्का सम्झौता गरेर कार्य गरिरहेका ३ कम्पनिहरु कास्यप, प्राकृतिक र समिर जेभी भएपनि यसको प्रमुख जिम्मेवारि ठेकेदार माधव घिमिरेले लिएका हुन् ।
एनसञ्चार अनलाईन संवाददाता, साउन ८, नवलपुर : नवलपरासि (वर्दघाट सुस्ता पूर्व)को कावासोति नगरपालिका वडा नं. १३ मा निर्माणाधिन बौनाहा खानेपानि आयोजना ठेकेदारको लापरवाहिका कारण अलपत्रमा परेको छ । आर्थिक वर्ष २०७५/७६ मा ठेक्का सम्झौता भई काम सुरु गरेको कास्यप, प्राकृतिक, समिर जेभिले निर्माण सम्पन्न गर्नुपर्ने समयसिमा नाघिसक्दा समेत कार्य पुरा गर्न नसक्दा आयोजना अलपत्र परेको हो ।
बौनाहा खानेपानि आयोजनाका अध्यक्ष उत्तम लानमिछानेले ठेकेदारले लापरवाहि गरिदिँदा आयोजना अलपत्र परेको भन्दै समितिले ताकेता गर्दासमेत ठेकेदार माधव घिमिरेले कुरै नसुन्ने गरेको बताएका छन् । अध्यक्ष लामिछानेले एनसञ्चार अनलाईनसँग भने : “आयोजना सुरु गरेको केहि समय पछि कोरोना संक्रमणको समय भएकोले काम ठप्प नै भयो, पछि सरकारले आयोजनाको म्याद थप गरिदिएपछि कार्य सुरु त भयो तर आधा अधुरो काम गरेर ठेकेदार घिमिरे सम्पर्क विहिन बनिदिए ।”
सँगै निर्माण कार्य सुरु भएको कावासोति १२ का वासिन्दाले निर्माण सम्पन्न भएर पानि पिउन सुरु गरिसक्दा समेत वडा नं. १३ को उक्त आयोजनाको आधा काम पनि हुन नसक्नुमा ठेकेदारको चरम लापरवाहि नै रहेको लामिछानेको भनाई छ ।
गण्डकी प्रदेश सरकार अन्तर्रगतको डिभिजन खानेपानि कार्यालय तनहुँका ईन्जिनियर मुकुन्द पौडेलका अनुसार बौनाहा खानेपानि आयोजनाको अहिलेसम्म २५ प्रतिशत मात्रै काम भएको एनसञ्चार अनलाईनलाई बताएका छन् । ईन्जिनियर पौडेलले एनसञ्चार अनलाईनसँग भने : “यहि असार मसान्त सम्म निर्माण कार्य सम्पन्न गर्नुपर्ने थियो २५ प्रतिशत जति काम गरेर, निर्माणको सम्पूर्ण जिम्मेवारि पाएका घिमिरे अहिले सम्पर्क विहिन बनेका छन् ।”
पैडेलले भने : “खासमा यस आयोजना हेर्ने जिम्मेवारि पाएको मेरो एक वर्ष मात्रै भयो, यसअगाडि देखि नै ठेकेदारले कामदारहरुलाई दिनुपर्ने पारिश्रमिक समयमा नदिँदो रैछ, हामिले रकम पठाउँदा ठेकेदारकै खातामा पठाउनुपर्छ, पैसा नपाएपछि कामदार नआईदिने, फेरि नयाँ कामदारहरु ल्यायो केहि समय काम गरायो फेरि उनिहरुलाई पनि त्यस्तै गर्दा काम अलपत्र बनेको रहेछ ।”
डिभिजन खानेपानि कार्यालय तनहुँका प्रमुख राजेन्द्र प्रसाद न्यौपानेले पनि निक्कै लामो समयदेखि ठेकेदार माधव घिमिरेलाई कार्यालयबाट सम्पर्क गर्न खोज्दा सम्पर्कमै नआएको बताएका छन् । एनसञ्चार अनलाईनसँग कुराकानि गर्दै न्यौपानेले भने : “यो ठेकेदार नै खराब रहेछ, अन्यत्र पनि यसले यस्तै गरेको सुनेका छौँ, अब यसअघिको सम्झौता अनुरुप यहि असार मसान्तमा निर्माण सम्पन्न गर्नु थियो, फेरि संघि सरकारले नै निर्माण सम्पन्न नभएका आयोजनाले म्याद थप्न पाउने नियम बनाएको छ, अब नियमले पनि ठेकेदारलाई कुनै कारबाहि गर्न सक्ने अवस्था नरहेकोले पर्ख र हेर बाहेकको अर्को विकल्प छैन ।”
न्यौपानेका अनुसार कुल ३ करोड ९२ लाख ६५ हजार ८ सय ७ रुपिँया ७ पैसामा ठेक्का सम्झौता गरेर कार्य गरिरहेका ३ कम्पनिहरु कास्यप, प्राकृतिक र समिर जेभी भएपनि यसको प्रमुख जिम्मेवारि ठेकेदार माधव घिमिरेले लिएका हुन् । निर्माण कम्पनिले बैंक ज्ञारेन्टि अर्थात पेश्कि बापत राखेको रकम मध्य करिब ५० लाख बाँकि रहेको भन्दै आयोजनाकोलागि यसअघिको वर्षमा ९० लाख सम्म छुट्याईएको भएपनि यस वर्ष १० लाख मात्रै छुट्याईएको उनको भनाई छ ।
उनले भने : “धेरै पैसा मात्रै छुट्याएर पनि के गर्नु, काम नै गर्दैनन्, अघिल्लो पटक पनि बौनाह खानेपानि आयोजनालाई छुट्याएको रकम अन्यत्र रकमान्तर गर्नुपर्यो, आयोजनाको म्याद थप्न पाउने नियम सरकारले लागु नगरिदिएको भए निर्माण कम्पनिको लापरवाहि पछि कालो सुचिमा राख्ने, ठेक्का रद्ध गर्ने लगायतको प्रकृया हुन सक्थ्यो तर सरकारले नै म्याद थप्न पाउने बनाईदिएकोले हामिले उहि ठेकेदारलाई ताकेता गर्ने हो ।”
सम्पूर्ण आयोजना भित्र ओभरहेट ट्याङ्किको डुम बनाउन, कार्यालय भवन फिनिसिङ्ग गर्न धेरै समय लाग्ने काम नभएपनि कामै नगरिदिएपछि अब कहिले सम्म आयोजना सम्पन्न हुन्छ भनेर भन्न सकिने अवस्था पनि नरहेको न्यौपानेले बताएका छन् ।
उनले भने : “हामि ठेकेदारलाई सकेसम्म र मिलेसम्म दबाब दिने काम त गर्छौ नै, स्थानिय स्तरबाट पनि ठेकेदारलाई दबाब दिनुपर्ने देख्छु ।”
आयोजना निर्माणको जिम्मा लिएका ठेकेदार माधव घिमिरेलाई एनसञ्चार अनलाईनले टेलिफोन सम्पर्क गर्न खोज्दा फोन रिसिभ नै गरेनन् ।

