भदौ ३, नवलपुर : राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालले भारतस्थित बागेश्वर धामका आचार्य धीरेन्द्रकृष्ण शास्त्रीलाई नभेट्ने बताए । शास्त्रीले भेट्न खोजेपनि विवादास्पत व्यक्ति भएकाले उनलाई भेट्न इन्कार गरेको स्रोतले बताएको हो ।
चौधरी ग्रुपका प्रबन्धनिर्देशक बरुण चौधरीको निमन्त्रणमा शुक्रबार काठमाडौं आइपुगेका शास्त्रीलाई शनिबार राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गराउने तयारी थियो तर दुबैसँग भेट हुन सकेन । स्रोतका अनुसार प्रधानमन्त्रीसँग शनिबार विहान समय मागिएको थियो । तर निजी सचिवालयले प्रधानमन्त्री प्रचण्डको व्यस्तताको कारण देखाएर भेट नगराएको स्रोतको दाबी छ । शास्त्रीलाई शनिबार नै राष्ट्रपति रामचन्द्र पौडेल पनि भेट गराउने प्रयास भएको थियो । तर राष्ट्रपति पौडेललाई सञ्चो नभएकाले कुनै पनि भेटघाटका कार्यक्रम नराखेको शीतल निवास स्रोतले बताएको छ ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड शनिबार रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी कार्यालय, पेरिसडाँडामा आयोजित श्रद्धाञ्जली कार्यक्रममा पुगेका थिए । प्रधानमन्त्रीका स्वकीय रमेश मल्लले पनि कार्यव्यस्तताको कारण भेट हुन नसकेको जानकारी दिए ।
२७ वर्षका धीरेन्द्रकृष्ण शास्त्री भारतमा विवादित छन् । उनीमाथि अन्धविश्वास तथा धार्मिक विद्वेष फैलाउने गरेको आरोप लाग्दै आएको छ । शनिबार काठमाडौं आएका उनले पशुपतिनाथ दर्शन गर्नुका साथै सवा करोड दीप प्रज्वलनमा सहभागी भएका थिए । उनी काठमाडौं आएपछि शुक्रबार काठमाडौंमा एक प्रवचन कार्यक्रममा सहभागी भएका थिए । उक्त कार्यक्रममा चलचित्र क्षेत्रका कलाकारहरु सहभागी थिए । शनिबारनै नवलपरासी पूर्व नवलपुरमा रहेको शाश्वतधाममा हनुमन्थ कथा बाचन कार्यक्रम जारि राखेका छन् ।

