असाेज १५, कावासाेती  :  नवलपुरको कावासोतीमा आज देखि दशैँ मेला सुरु भएको छ । कावासोती नगरपालिका ६, विष्णुनगर खेलमैदानमा दशै मेला शुरु भएको हो। मेला असोज २५ गते सम्म चल्नेछ । मेलामा विभिन्न व्यापारीक स्टल , बाल उधान लगायत विविध मनोरञ्जनात्मक गतिविधी रहने अध्यक्ष सोवित कुमार रानाले बताउनुभयो ।

मेलामा प्रत्येक दिन राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति समेत रहने मेला संयोजक झविन्द्र प्रसाद काफ्लेले बताउनुभयो । मेलामा पचास हजार दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको आयोजकले बताएको छ। प्रथम विष्णुनगर दशैँ मेलाबाट ग्रामीण क्षेत्रमा रहेका धार्मिक पर्यटकीय क्षेत्रको प्रर्वद्धन, स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको मेला संयोजक झविन्द्र काफ्लेले बताउनुभयो ।

प्रतिभा युवा क्लबले यस अघि पनि विभिन्न सांस्कृतिक कार्यक्रमहरू गर्दै आएकोमा अहिले थप व्यवस्थित रुपमा ११ दिन सम्म कार्यक्रमहरू संचालन गर्ने गरि दशैँ मेला संचालन गर्न लागेको उहाँले बताउनुभयो । मेलाबाट संकलित रकमबाट प्रतिभा युवा क्लबको भवन निर्माण गर्ने साथै सामाजिक कार्यमा खर्च गरिने अध्यक्ष रानाले बताउनुभयो ।

मेलामा प्रवेश शुल्क एक सय राखिएको छ । विद्यार्थीका लागि परिचयपत्रको आधारमा असी र ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।