
७ जेठ, काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकाका अस्पतालमा कोरोना संक्रमितको चाप घटेको छ ।
कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढ्दा र संक्रमितमा जटिल समस्या देखिंदा काठमाडौं उपत्यकाका सरकारी र निजी अस्पतालमा बेड भरिनुका साथै प्रांगणमा राखेर समेत उपचार गरिएको थियो । तर पछिल्ला केही दिनमा बिरामीको चाप घटेको अस्पतालका अधिकारीहरु बताउँछन् ।
उपचार गराउन आउने संक्रमितको चाप केही कम भए पनि आईसीयू, भेन्टिलेटरसहितको बेड भने भरिभराउ रहेको उनीहरुको भनाइ छ ।
अघिल्लो हप्तासम्म टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पालजस्ता ठूला सरकारी अस्पतालमा अस्पतालबाहिर, बरण्डामा कुर्ची, बेञ्च तथा भुइँमा समेत राखेर संक्रमितको उपचार गरेको थियो ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दुई दिनयता संक्रमितको चाप कम भएको अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा.सन्तकुमार दासले बताए । उनले भने ‘इमर्जेन्सीमा मात्रै पालो कुरेर बस्ने ४० देखि ५० जना हुन्थे । हिजो १३ जना भए आज जम्मा ४ जना छन् ।’ अस्पतालमा बिरामीको चाप हेर्दा हुरी जस्तै एक्कासी आएर अब कम हुँदै जान थालेको हो कि भन्ने अनुभव भइरहेको डा.दासले सुनाए ।
बेड, अक्सिजन, आईसीयूका लागि आउने फोन पनि ८० प्रतिशत कम भएको दासले बताए । अहिले संक्रमित केही मात्रामा कम हुँदै जानुमा निषेधाज्ञाको कारण चेन ब्रेक भएको हुन सक्ने डा. दासको अनुमान छ ।
कोरोना संक्रमण तीव्र रुपमा बढेपछि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले वैशाख १६ गतेदेखि अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन नपाइने गरी निषेधाज्ञाको आदेश जारी गरेका छन् ।
निषेधाज्ञा जारी भएको ३ हप्ता पुगिसक्दा संक्रमितको संख्या भने केही घटेको छ । वैशाख २४ गते भेटिएका ४१९८ जना संक्रमित नै उपत्यकामा २४ घण्टाभित्र देखिएको संक्रमण संख्याको उच्च विन्दु हो । शुक्रबार उपत्यकामा २,४११ जना संक्रमित भेटिएका छन् ।
टेकु अस्पतालका चिकित्सक डा. अनुप बास्तोला बिरामीको चाप कम भएको तर अस्पतालको बेड खाली नभएको बताउँछन् ।
‘सिकिस्त बिरामी उपचारका लागि आउने क्रम पनि उस्तै छ,’ उनले भने, ‘तर केही दिनअघिको जस्तो संक्रमितको चापका कारण भुइँंमा, कुर्सीमा राखेर उपचार गर्नुपर्ने अवस्था कम भएको छ ।’
उनले अघि भने ‘केही दिनयता हुल जस्तै आउने क्रम केही कम भएको छ । नियमित र सिकिस्त बिरामीहरु आउने क्रम भने उस्तै छ ।’ डा.बास्तोलाका अनुसार अहिले अस्पतालमा बेडको पालो कुरेर बस्ने संक्रमितको संख्या घट्नुमा निषेधाज्ञाको पनि प्रभाव हुनसक्छ ।
वीर अस्पतालमा केही दिन अघिसम्म दैनिक कम्तीमा १५ जना बेड भन्दा बाहिर कुर्सीमा राखेर उपचार गर्नुपर्ने अवस्था थियो । गएको दुईदिन यतादेखि त्यहाँ पनि इमर्जेन्सीमा चाप घटेको छ । हिजोआज दुईदेखि तीन जनासम्म संक्रमित बेडका लागि पालो कुरिरहेका हुन्छन् । सम्पर्क व्यक्ति डा. अच्युत कार्की भन्छन् ‘इमर्जेन्सीमा धेरै कम भएको छ । बेडको प्रतीक्षामा दुई अथवा तीन जना मात्रै हुनुहुन्छ । काम गर्न धेरै सहज भएको छ ।’
अहिले अस्पतालमा संक्रमितको संख्या कम हुनुको कारण निजी अस्पतालमा निशुल्क उपचार हुनु र अक्सिजन सरकारले उपलब्ध गराउनुको कारण हुनसक्ने उनको बुझाइ छ ।
डा. कार्की भन्छन् ‘संक्रमितको संख्या कम भएर भन्दा पनि निजीतिर बाँडिएर हुनसक्छ । किनभने अहिले पनि संक्रमण दर र मृत्युदर त उस्तै छ नि त ।’
अस्पतालमा आउनेको संख्या कम भए पनि अक्सिजन, आईसीयू, भेन्टिलेटर खोजीका लागि आउने फोनमा भने कमी नआएको उनले बताए ।
डा. कार्की पनि निषेधाज्ञाले संक्रमण कम भएको अनुमान गर्छन् ।
सशस्त्र प्रहरी बल अस्पताल बलम्बुका सम्पर्क व्यक्ति डा. प्रवीण नेपालका अनुसार दैनिक ४० देखि ५० जनासम्मले बेडको लागि फोन गर्थे । तर शुक्रबार त्योभन्दा आधाले मात्रै बेडको लागि फोन गरेको अनुभव सुनाउँछन् ।
‘शुक्रबार १६ जना संक्रमित भर्ना भएका छन्,’ उनले भने ‘आज चाप घटेको महसुस भएको छ । बेडको लागि फोन पनि धेरै कम आयो तर सिकिस्त बिरामीको संख्या र मृतकको संख्या चाहिँ उस्तै छ’ उनले भने ।
निजामती कर्मचारी अस्पतालमा भने बिरामीको नघटेको सम्र्पक व्यक्ति प्रा.डा. दिनेशकुमार लम्सालले जानकारी दिए । उनले भने ‘दैनिक सयदेखि डेढ सयसम्म बेड, अक्सिजन, आईसीयू, भेन्टिलेटरको लागि फोन आइरहेको छ । चाप घटेको छैन ।’
अहिले अस्पतालको सबै बेड, इमर्जेन्सीलगायत प्याक रहेको र अक्सिजनको अभावका कारण थप संक्रमितको भर्ना लिन नसकेको उनले बताए ।
कोभिडका कारण अन्य बिरामीको उपचार गर्न समस्या भइरहेकोले उनीहरुको उपचार पाउने अधिकार हनन प्रा.डा. लम्सालको भनाइ छ । उनले भने ‘कोभिडमा मात्रै सरकारको फोकस छ । अरु बिरामीले उपचार नै पाइरहेका छैनन् । त्यसैले तत्काल सरकारले नन कोभिडका लागि अस्पताल छुट्याउन जरुरी छ ।’
उनका अनुसार सरकारले कोभिडका लागि अस्पताल र सम्पर्क व्यक्ति तोकेजस्तै अहिले नन कोभिड बिरामीको लागि अस्पताल र सम्पर्क व्यक्ति तोक्न जरुरी छ ।
निजीमा पनि घट्यो चाप
उपत्यकाका निजी अस्पतालहरुमा पनि तुलनात्मक रुपमा संक्रमितको चाप कम रहेको अस्पतालका सञ्चालकहरु बताउँछन् ।
किस्ट अस्पतालका सीईओ अमिश पाठकले पछिल्लो समय अस्पताल आउने संक्रमितको चाप कम हुँदै गएको बताए ।
‘केही दिनयता भेन्टिलेटरमा र हाइफ्लो अक्सिजनमा राख्नुपर्ने बिरामीका आफन्तको फोन आएको छ’ उनले भने, ‘सुरुसुरुमा त बेड चाहियो भनेर धेरै नै फोन आउँथ्यो । अस्पतालमै पनि आएर बेड चाहियो भनेर हारगुहार गर्नेहरु धेरै हुन्थे । अहिले त्यस्तो अवस्था छैन ।’
किस्टमा एचडीयूमा २८ र भेन्टिलेटरमा १४ गरी ४० जना कोभिडका बिरामी उपचाररत रहेको उनले बताए ।
सरकारले अक्सिजन वितरणमा सहजता ल्याएसँगै बिरामीहरु सरकारी अस्पतालमा गएका कारण निजीमा चाप कम भएको हुनसक्ने उनले अनुमान गरे ।
हेल्पिङ ह्यान्ड अस्पतालका डा. हेमबहादुर लिम्बुले पछिल्लो समय बेड खोज्दै आउने संक्रमित घटेको बताए ।
‘अत्याधिक चापको अवस्थामा अस्पतालले ३० भन्दा बढी संक्रमितको उपचार गरेको थियो । त्यसपछि अक्सिजनको अभाव देखिन थाल्यो’ डा. लिम्बुले भने, ‘अक्सिजन अभावमा थप बिरामी भर्ना गर्न सकेनौं । अहिले १५ जना संक्रमितको उपचार भइरहेको छ ।’
ललितपुरको स्टार अस्पतालमा पनि संक्रमितको चाप घटेको डा. गोविन्द अकेलाले बताए । ‘संक्रमण संख्या तीव्र हुँदा होल्डिङ सेन्टरमा राखेर पनि उपचार गरेका थियौं । तर अहिले त्यो अवस्था छैन’ डा. अकेलाले भने, ‘आईसीयू र भेन्टिलेटरसहित अहिले ६५ जना उपचाररत छन् ।’
निजी अस्पतालमा संक्रमितको चाप घट्दै जानुमा तीन कारण रहेको उनी बताउँछन् । सरकारले धेरै सरकारी अस्पतालहरुमा अक्सिजनसहितको उपचार व्यवस्था मिलाउनु, निजीमा उपचार गराउँदा पैसा लाग्ने र विस्तारै संक्रमण पनि कम हुँदै जानुले पनि निजीमा संक्रमितको चाप घट्दै गएको हुन सक्ने उनको तर्क छ ।
संक्रमण तीव्र देखिंदा ८० जनासम्मको उपचार गरे पनि अहिले त्यो संख्या ६५ मा झरेको उनले बताए ।
मेडिसिटी अस्पताल र अल्का अस्पतालमा भने बिरामीको चाप पहिलाको जस्तै रहेको ती अस्पतालका अधिकारीहरु बताउँछन् ।
मेडिसिटी अस्पताल अस्पतालकी सूचना अधिकारी मनिता पोखरेलका अनुसार आईसीयू र भेन्टिलेटर खोज्नेको संख्या उस्तै छ । तर नर्मल बेडमा भने बिरामीको चाप पहिला भन्दा घटेको उनको भनाइ छ ।
अस्पतालमा दैनिक पीसीआर परीक्षण गर्न आउनेको संख्या पनि कम रहेको उनले बताइन् । अस्पतालको आईसीयूमा ८२ र भेन्टिलेटरमा ४० जना बिरामी उपचाररत रहेको उनले बताइन् ।
अल्का अस्पतालका सीईओ दीपेन्द्र पोखरेलले आईसीयू र भेन्टिलेटरसहित ७० जना संक्रमितको उपचार भइरहेको बताए ।
‘अस्पतालको बेड क्षमता १०० हो । हामीले बढीमा ९० जना संक्रमित राखेर उपचार गरेका थियौं’ पोखरेलले भने, ‘तर अक्सिजन आपूर्ति सहज नभएपछि कटौती गरेर ७० जनाको उपचार गराउन बाध्य भएका छौं ।’
अनलाइनखबरबाट……………………..