
नवलपुर । नवलपुरको दुम्कीवास दाउन्ने क्षेत्रका होटल, रेष्टुरेन्ट तथा खाजा घर संचालकलाई खाद्य स्वच्छता, गुणस्तर तथा उपभोक्ता संरक्षणका विषयमा तालिम दिइएको छ । नवलपुर होटल व्यवसायी संघको समन्वयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँले एक दिने तालिम दिएको हो ।
तालिममा ४० भन्दा बढी होटल, रेष्टुरेन्ट तथा खाजा घर संचालकको सहभागिता रहेको होटल व्यवशायी संघका जिल्ला अध्यक्ष सन्तोष राना मगरले जानकारी दिए । खाद्यन्नमा अखाद्य रंगको प्रयोग गर्ने गरेको समाचार, समाचार सेवा डटकमले छापेपछि जिल्लामा सचेतना कार्यक्रम र तालिमहरु बढाइएको छ ।
यसअघि पनि डिभिजन कार्यालयले जिल्लाका विभिन्न पालिकाका होटल, रेष्टुरेन्ट सञ्चालकलाई तालिम दिएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तनहुँका कार्यालय प्रमुख ज्योति आचार्यले पकाएर खानुपर्ने मासु, ललीपप, आलुचप, माछा लगायत खाद्य पदार्थमा सिन्थेटिक रंग प्रयोग गर्न नपाउने विषयमा सञ्चालहरुलाई सचेत गराइएको जानकारी दिए ।
त्यस्तै खाने कुरा पोको पार्न, बेर्न, मसीयुक्त पत्रपत्रिका, किताब लगायत कागजका पाना प्रयोग गर्न नपाइने, आयातित खाद्य पदार्थमा नेपाली आयातकर्ताको नाम अनिवार्य राख्नुपर्ने, नेपाली खाद्य पदार्थमा अनुमति पत्र नम्बर हेर्नुपर्ने विषयमा पनि होटल, रेष्टुरेन्ट सञ्चालकलाई सचेत गराइएको आचार्यले बताए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा, जिल्ला प्रशासन कार्यालयका प्रशासन अधिकृत रविन्द्र प्रसाद ढुङ्गाना, पर्यटन तथा उद्योग कार्यालयका प्रमुख निर्मल राज बराल, होटल व्यवसायी संघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष दुर्गा विलास भट्टराई, खाद्य निरीक्षण अधिकारी सन्तोष थापा मगर, नवलपुर होटल व्यवसायी संघका अध्यक्ष सन्तोष राना मगर लगायतको उपस्थिति रहेको थियो ।