भीम रावलमै अड्कियो एमालेमा सर्वसम्मतिको प्रयास, विधानमा एमालेको गल्ती : गोदावरीमा जानिनँ, सौराहामा मानिनँ
१. भीम रावलमै अड्कियो एमालेमा सर्वसम्मतिको प्रयास
मंसिर ११,
नेकपा एमालेको दसौं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने विषय पेचिलो बन्दै गएको छ।
अध्यक्ष केपी शर्मा ओलीले आफूसहित सबै पदाधिकारी सर्वसम्मत बनाउन चाहे पनि आफ्नै समूह र प्रतिष्पर्धी अर्को समूहका नेताहरूलाई मिलाउन नसक्दा सर्वसम्मतिको प्रयाससँगै एमाले महाधिवेशनको अवधि लम्बिने देखिएको छ।
अध्यक्ष ओलीनिकट नेताहरूका अनुसार सर्वसम्मतिको प्रयास अहिले अध्यक्षमा दाबेदारी गरेका भीम रावलमा अड्किएको छ।
उपाध्यक्ष रावलको उम्मेदवारीले ओलीले अरूलाई सर्वसम्मत बनाउने भन्दा पनि आफू सर्वसम्मत बन्न चुनौती थपिएको छ।
अध्यक्ष ओली नै सर्वसम्मत हुनेरनहुने टुंगो नभएकाले उनको समूहका पदाधिकारी आंकाक्षी नेताहरूले आफ्नो दाबी छोडेका छैनन्।
अध्यक्षमा दाबी गरेका रावललाई मिलाउन अध्यक्ष ओलीले छलफल गर्न खोजे पनि उनीहरूबीच चितवनमा कुराकानी हुन सकेको छैन।
यसअघि काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले रावलको उम्मेदवारी आफूलाई चुनौती नभई सम्मान भएको टिप्पणी गरेका थिए।
शुक्रबार राति बसेको केन्द्रीय कमिटी बैठकमा सहमतिका लागि सजिलो होस् भनेर पदाधिकारी र केन्द्रीय कमिटी सदस्य थप्ने प्रस्ताव गरेका ओलीले शनिबार बिहान पनि सर्वसम्मतिका लागि नेताहरूलाई भेटेका थिए।
उनको समूहमै रहेका ईश्वर पोखरेल र सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका छन् भने विष्णु पौडेल र शंकर पोखरेल महासचिवका दाबेदार हुन्।
ओलीले आफ्नो समूहका नेतालाई मिलाउनु पहिला आफू सर्वसम्मत भएको देखाउनु छ। तर त्यसका लागि रावल सहमत छैनन्।
शुक्रबार राति केन्द्रीय कमिटीले पदाधिकारी बढाउने निर्णय गरेपछि पनि उनले यसले सहमतिको वातावरण नबनाउने बताएका थिए।
शनिबार बन्दसत्रभित्र प्रवेश गर्नुअघि संवाददाताहरूसँग कुरा गर्दै रावलले सर्वसम्मतिको प्रयास भइरहेको आफूले थाहा नपाएको र अध्यक्षमा आफ्नो उम्मेदवारी कायम रहेको बताएका थिए। उनले महाधिवेशन प्रतिनिधिहरूसँग आफूलाई भोट मागेको पनि देखिएको थियो।
रावलनिकट नेताका अनुसार उनी अध्यक्षबाट पछाडि फर्किने मुडमा छैनन्। ओलीले आफू सर्वसम्मत हुन पदाधिकारीमा पनि सर्वसम्मत बनाउन खोजेको उनको बुझाइ छ।
२. विधानमा एमालेको गल्ती : गोदावरीमा जानिनँ, सौराहामा मानिनँ
नेकपा एमालेले दुई महिनाअघि ६ हजार ३४७ प्रतिनिधिको उपस्थितिमा गोदावरीमा प्रथम विधान महाधिवेशन गरेको थियो । सो महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव कार्यान्वयनमै नपुगी गलत साबित भएको छ ।
विधान महाधिवेशनमा एमालेले गरेको गल्ती शुक्रबार राति सौराहामा आयोजित केन्द्रीय कमिटीको बैठकले सच्याएको छ । एमाले नेताहरूमा रहेको दूरदर्शिताको अभावका कारण दुई महिना नपुग्दै विधान संशोधन गरिएको हो । यो परिघटनाले उपमहासचिव पौडेलको राजनीतिक परिपक्वता र दूरदर्शितामाथि पनि प्रश्न उठेको छ । साथै अध्यक्ष ओलीकै नेतृत्वमा गोदावरीमा यो प्रस्ताव प्रस्तुत भएकाले अध्यक्षको ‘भिजन’ माथि पनि प्रश्न उठेको छ ।
अहिले महासचिव वा उपाध्यक्षको दाबी गरिरहेका विष्णु पौडेलद्वारा गोदावरीमा प्रस्तुत विधान संशोधन प्रस्तावमा २२५ जनाको केन्द्रीय कमिटी प्रस्ताव गरिएको थियो । सो प्रस्तावलाई ६३४७ जनाको हलबाट ताली बजाएर पारितसमेत गरिएको थियो । तर, २२५ जनाको केन्द्रीय कमिटीले एमालेको अहिलेको आवश्यकतालाई सम्बोधन गर्न नसक्ने रहेछ भन्ने नेताहरूको दिमागले त्यसबेला सोच्नै सकेन ।
केन्द्रीय कमिटीको सङ्ख्या २२५ राख्दा नयाँ नेताहरूले अवसर पाउने त परै जाओस्, अहिले केन्द्रीय कमिटीमा रहेका १४ जना पुरुषहरू बाहिरिनुपर्ने रहेछ भन्ने शुद्धि एमालेका नेताहरूले सौराहामा पुगेपछि मात्र महसुस गरे । त्यसपछि शुक्रबार रातारात विधान संशोधन गरियो र ‘गोदावरीमा भएको गल्ती’ लाई सच्याउँदै ३०१ सदस्यीय कमिटी बनाउने निर्णय गरियो । र ९९ सदस्यीय पोलिटब्यूरो कमिटी पनि थप्ने निर्णय एमालेले लियो ।
३.कांग्रेसको नेतृत्व बदल्नुपर्छ: गगन थापा
नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व बदल्ने कुरा मुख्य रहेको बताएका छन् ।
शनिवार नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति सभापति पदका उम्मेदवार कृष्ण बानियाँ (सबुज) समुहको उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले आफु महामन्त्री हुने कुरा गौण भएपनि पार्टीको नेतृत्व बदल्ने कुरा भने मुख्य रहेको बताएका छन् । उनले नेपाली नागरिकलाई देश बदलिन्छ र अब राम्रो हुन्छ भन्ने विश्वास र भरोसा चाहिएको उल्लेख गर्दै त्यो भरोसा दिनसक्ने नेतृत्व चाहिएको बताए ।
नेता थापाले पार्टीको महाधिवेशनबाट कांग्रेसको नेतृत्व बदल्नुपर्ने बताएका छन् । उनले भने – ‘यो अधिवेशनबाट कांग्रेसको मुल अनुहार, कांग्रेसको मुख्य नेतृत्व हामी बदल्न सक्छौँ कि सक्दैनौँ त्यो सबैभन्दा ठुलो प्रश्न हो । हाम्रो अगाडीको सबैभन्दा ठुलो प्रश्न यो हो । हामी कोही केही नभएर केही हुँदैन तर कांग्रेसको मुख्य नेतृत्व बदल्नुपर्नेछ । आम नागरिकको बिचमा गयो भने ठुलो निराशा छ । चुनावदेखि चुनावको गोलचक्रमा देश घुमेर मात्र हुँदैन । हामी सबै भन्छौँ कांग्रेसले चुनाव जित्नुपर्छ, जित्छ चुनाव तर चुनाव जितेपछि के रु नागरिकलाई अहिले चुनाव जित्ने कुरा होईन, नागरिकलाई एउटा भरोसा चाहिएको छ । यत्रो लामो संक्रमण पछाडी एउटा भरोसा चाहिएको छ केही ठिकठाक हुन्छ, केही कुरा बदलिन्छ । यो भन्दा राम्रो हुन्छ । युवामा मेरो जीवनकालमा नेपाल बदलिन्छ भन्ने विश्वास चाहिएको छ । त्यो विश्वास दिनसक्ने नेपाली कांग्रेसको नेतृत्व चाहिएको छ । यो अधिवेशनबाट कांग्रेसको नेतृत्व बदल्नुपर्छ ।’
४.उपाध्यक्षमा लालबाबु पण्डितको उम्मेदवारी
नेकपा एमालेका नेता लालबाबु पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । एमालेको १०औं महाधिवेशनमा पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने बताएका छन् ।
नेता पण्डित मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य तथा पार्टीका पोलिटव्यूरो सदस्यसमेत हुन् ।
५. झण्डै दुई लाख अमेरिकी डलरसहित पोखराबाट एक जना पक्राउ
पोखराबाट झण्डै दुई लाख अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–९ शिवालय चोक बस्ने मुस्ताङ लो–घेकर दामोदर कुण्ड गाउँपालिका–१ घर भएका ४२ वर्षीय छिरिङ डुन्डु गुरुङ १ लाख ९४ हजार २ सय अमेरिकी डलरसहित पक्राउ परेका प्रहरीले जनाएको छ ।
कास्कीमा विदेशी मुद्राको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, ईलाका प्रहरी कार्यालय हंशपुर र वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको संयुक्त टोलीले उनलाई काठमाण्डौबाट पोखरा जाँदै गरेको गाडी जाँच गर्ने क्रममा पोखरा महानगरपालिका–३३ गगनगौंडाबाट अमेरिकी डलर सहित पक्राउ गरेको र आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
६. अनुसन्धान भन्छ : नेपालमा दैनिक एक सय २५ जना दृष्टिविहीन थपिन्छन्
नेपालमा प्रत्येक दिन एक सय २५ जना दृष्टिविहिन थपिने गरेका छन् । आँखासम्बन्धी गरिएका विभिन्न अनुसन्धानले यस्तो देखिएको हो ।
राप्ती आँखा अस्पतालका नेत्र अधिकृत शालिकराम गौतमले अझै सबैको पहुँचमा आँखा उपचारको सेवा नहुँदा दृष्टिविहीनको संख्या धेरै भएको बताए । उनले अहिले दैनिक एक सय २५ जनामा अन्धोपन देखिने गरेको बताए । ‘समयमा उपचार पाएमा ८० प्रतिशत पुनः दृष्टि पाउन सकिन्छ’ राप्ती आँखा अस्पतालले आयोजना गरेको आँखाको सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रममा प्रशिक्षक नेत्र अधिकृत गौतमले भने ‘तर सबैको पहुँचमा नहुँदा आँखाको दृष्टि गुमाउनु परेको छ ।’ नेपालमा करिब ८० लाख मानिसले आँखाको उपचार नपाएको उनले बताए ।
सबैको पहुँचमा आँखको सेवा पुर्याउन सरकारले योजना बनाएर काम गर्नु पर्ने बताए । शरीरका अन्य अंग जस्तै आँखा संवेदनशील भए पनि यसबारे धेरैले चासो नराखेको उनको भनाइ छ । पछिल्लो समय आँखाका समस्या लिएर अस्पताल आउनेको संख्या बढ्दै गएको उनले बताए । आँखा सुक्खा हुने, धेरै समयसम्म हेर्न नमिल्ने, आँखामा विभिन्न संक्रमण हुनेलगायतका समस्या देखिएको उनले बताए । मोतीविन्दु, जलविन्दु, दृष्टिपर्दाको समस्या, रतन्धो र आँखामा लाग्ने चोटपटक नै दृष्टिविहीन बनाउने प्रमुख कारणह रहेको उनले बताए ।
७.शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासलको पहिलो जित : एपीएफको लगातार दोस्रो हार, हिमालयन शेर्पालाई हराउँदै मनाङ मर्स्याङ्दी शीर्ष स्थानमा
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले एपीएफ क्लबलाई १–० गोलले हराएको छ ।
च्यासलको जितमा खेलको ४९ औँ मिनेटमा रुमेश बर्तौलाले गरेको गोल नै निर्णायक बन्यो । च्यासलको यो पहिलो जित हो । च्यासल पहिलो खेलमा थ्री स्टारसँग पराजित भएको थियो । विभागीय टोली एपीएफको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा एपीएफ ब्रिगेड ब्वाइजसँग ३–२ गोलले पराजित भएको थियो । जितसँगै च्यासलको तीन अंक भएको छ ।
आजै भएको अर्को खेलमा सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले लगातार दोस्रो जित निकालेको छ ।
उक्त खेलमा हिमालयन शेर्पा क्लबलाई मनाङ मर्स्याङ्दीले १–० गोलले हराएको हो ।
दशरथ रंगशालामा भएको खेलमा मनाङका आफिज ओलावालेले खेलको ८४ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । यो जितसँगै मनाङ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा मनाङले जावलाखेल युथ क्लबलाई हराएको थियो । उसको दुई खेलमा ६ अंक छ ।
पहिलो खेलमा हिमालयन शेर्पाले संकटासँग बराबरी खेल्दै अंक बाँडेको थियो । उसको एक अंक छ ।
८. सरकारलाई बिजुली खपतको चिन्ता, जनता पोल हेर्न बाध्य
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका दर्जनौँ गाउँ बिजुली बाल्ने प्रतीक्षामा बसेको वर्ष बितिसक्यो । तर, गाउँमा अझै बिजुली बाल्न सकेको छैन ।
गाउँपालिका भरी एकै साथ बिद्युत् करण गर्ने काम सुरु भएको भए पनि केही पालिकाका केही गाउँमा मात्र बिजुली बलेको स्थानीयको भनाई छ । अझै दर्जनौँ गाउँ बिजुली बाल्ने पर्खाइमा अन्धकारमा रात काटिरहेका छन् । गाउँपालिका प्रमुख कारसाङ लामाका अनुसार गाउँपालिकाको वडा नम्बर १, २, ४ र ५ का आंशिक घरधुरीले बिजुली बाल्न सुरु गरेका छन् । गाउँपालिका प्रमुख लामाका अनुसार केही वडामा अहिले पनि संरचना निर्माणको काम चलिरहेको छ । पोल र तारको काम सम्पन्न भइसकेको स्थानमा पनि बिजुली बलेको छैन ।
गाउँ पालिकाकाले ध्यान नदिएको र ठेकेदार कम्पनीले समेत बेवास्ता गर्दा आफूहरूले समयमै बिजुली बाल्न नपाएको हरिहपुरगढी गाउँपालिका–६, का स्थानीय आइते लामाले गुनासो गरे । हामी वर्ष दिन देखी बिजुलीको पोल र तार हेरी रहेका छौँ, उनले भने, काम सकिएको ठाउँमा पनि किन यतिको समय बिजुली बाल्न नदिएका हो रु उता सरकार बिजुली खेर गयो भन्छ । कुरा बुझ्न सकेको छैन । विभिन्न बहानामा काममा ढिलासुस्ती गरेको स्थानीयको आरोप छ ।
९.महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र अस्ट्रेलिया नेपाल अल्मुनाई संघले मैत्रीपूर्ण फुटबल खेल खेल्दै शनिवार बिहान महिला हिंसाविरुद्धको १६ दिने अभियानको सुरुआत गरेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपाली खेल पत्रकारहरूको छाता संगठन एनएसजेएफले ३–१ को जित निकाल्यो । ३० मिनेटको दुई हाफमा गरी कूल एक घण्टा खेलाइएको खेलमा दुवै टिममा महिला र पुरुष खेलाडी एकसाथ मैदान उत्रिएका थिए ।
‘हाम्रो गोल महिला हिंसाविरुद्धको बोल’ भन्ने नारासहित खेलिएको खेल महिला अधिकारको पक्षमा लामो समयदेखि काम गर्दै आएको गैह्र सरकारी संस्था साथी, एनएसजेएफ, नेपालस्थित अस्ट्रेलियाली दूतावास, अस्ट्रेलिया नेपाल अल्मुनाई संघ र एन्फाको संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।
यता कावासोती नगरपालिकाले पनि शुक्रबार साँझै एक कार्यक्रमकाबिचमा ‘घरघरबाटै शुरु गरौं, महिला हिंसा बन्द गरौं’ भन्ने नारासहित दिप प्रज्वलन गरी अभियान शुरुगरिसकेको छ ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले
कावासोती : हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारी
सन्जय भट्टराई, कावासोती । पुर्व पश्चिम राजमार्ग छेवैमा जोडिएको