
१. पराजय स्वाभाविक, पार्टी अस्तव्यस्त ढङ्गले चल्न थाल्यो भने सशक्त प्रतिवाद गर्छौँ : शेखर कोइराला
२९ मंसिर, काठमाडौं ।।
नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टी सभापतिमा भएको पराजयलाई आफूले स्वाभाविक रूपमा लिएको बताउनुभएको छ ।
पार्टीको १४ औँ महाधिवेशनमा सभापति पदमा पराजित भएपछि आज बुधवार काठमाण्डौमा आयोजित आफ्ना विचार समूहका नेता, कार्यकर्ताको भेलामा बोल्दै उहाँले सभापति देउवा स्वस्थ प्रतिस्पर्धाबाट सभापति बन्नुभएको उल्लेख गर्दै कार्यकालको पूर्ण सफलताको कामनासमेत गर्नुभयो ।
नेता कोइरालाले नवनिर्वाचित पार्टीका सभापति देउवालाई विगतमा जसरी बेथितिका साथ पार्टी चलाए सशक्त प्रतिवादमा उत्रने चेतावनीसमेत दिनुभयो । आफूले सभापतिमा भएको पराजयबाट कुनै कुण्ठा नलिएको भन्दै उहाँले यस महाधिवेशनबाट आफ्ना विचार समूहको विचारको जित भएको बताउनुभयो ।
नेता कोइरालाले महाधिवेशनले आफूलाई जनताको घरदैलोमा जाने सन्देश दिएको उल्लेख गर्दै आजैदेखि उनीहरूको घरदैलोमा पुगेर आउँदो महाधिवेशनमा आफ्नो विचार समूहलाई विजयी बनाउने विश्वाससमेत व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सबैभन्दा पहिले त सभापतिमा विजयी शेरबहादुरजीलाई बधाई दिन चाहन्छु । साथै उहाँको चार वर्षको कार्यकालको सफलताको पनि कामना गर्दछु । उहाँसँगको प्रतिस्पर्धा नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्र हो । स्वस्थ प्रतिस्पर्धाबाट उहाँ विजयी हुनुभएको छ । विजयी भइसकेपछि अब उहाँको टिम कस्तो आउँछ, हाम्रा साथीहरू कति जनाले जित्नुहुन्छ रु त्यो त मतगणना पछि निर्णय गर्नेछ । तर जसरी साढे पाँच वर्ष पार्टी बेथितिको हिसाबले चल्यो, त्यसैगरी चल्न थाल्यो भने हामी सशक्त रूपले प्रस्तुत हुनेछौँ । म पराजय भएँ । निर्वाचन भइसकेपछि कोही जित्छ, कोही हार्छ । त्यो स्वाभाविक हो । मैले यसलाई एकदमै स्वाभाविक रूपमा लिएको छु ।’
नेता कोइरालाले आफूलाई माया, इज्जत, मान र प्रतिष्ठा दिएको भन्दै महाधिवेशनका प्रतिनिधिप्रति आभार व्यक्त गर्दै आउँदा दिनमा त्यो मायालाई कहिल्यै नबिर्सने बताउनुभयो ।
२. कागजी सवारीचालक अनुमति पत्रको पनि नविकरण थालियो
यातायात व्यवस्था सेवा कार्यालय भरतपुरले बिहीबारदेखि कागजी सवारी चालक अनुमति पत्र नविकरणको काम सुरु गर्ने भएको छ । यही मङ्सिर ८ गतेदेखि स्मार्ट अनुमति पत्रको नविकरण प्रक्रिया सुरु गरेको यस कार्यालयले सबै प्रक्रिया पूरा गरी बिहिबारबाट काम सुरु गर्न लागेको हो ।
कार्यालयका प्रमुख विनोद पौडेलका अनुसार कागजी अनुमति पत्रको नविकरणमा केही समस्या भएका कारण ढिला गरी काम सुरु गरिएको हो । कागजी अनुमति पत्रमा ६० प्रतिशत समस्या आउने भएकाले काम ढिला गरी सुरु गरिएको उनको भनाइ छ । सवारी चालक अनुमति पत्र जारी गर्न केही समय लाग्ने भएकाले अहिले प्रतिलिपि जारी गर्न कठिन भएको उनले जानकारी दिए ।
दैनिक ३० जना हाराहारीले नविकरण गर्ने गरेको जनाउँदै उनले हालसम्म यहाँबाट २०० भन्दा बढी नविकरण फर्म भरेका बताए । चालु आर्थिक वर्षभित्रै सवारीचालक अनुमतिपत्र जारी गर्ने गरी काम भइरहेको उनले जानकारी दिए । सवारी चालक अनुमति पत्र नविकरण गर्न हेटौँडा जानुपर्ने बाध्यता भने हटेको छ ।
३. उपसभापतिको १५०० मतगणना ः धनराज र पूर्णबहादुरको अग्रता कायमै
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नेतृत्व चयनका लागि भएको मतदानअन्तर्गत उपसभापति पदको १५०० मतगणना भएको छ ।
उपसभापतिको १५०० मतगणना हुँदा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता लिएका छन् भने चन्द्र भण्डारी र विजयकुमार गच्छदारले पछ्याइरहेका छन् ।
कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकामा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।
केन्द्रीय कार्यसमितिका २ उपसभापतिमा डा। चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरुङ, पूर्णबहादुर खड्का, महेश आचार्य, विजयकुमार गच्छदार र सुजाता कोइरालाबीच प्रतिस्पर्धा छ ।
यसअघि सभापति पदमा दोस्रो चरणको निर्वाचनबाट प्रधानमन्त्री शेरबहादुर देउवा विजयी भइसकेका छन् ।
४. विवेकशील साझामा पुन विवादः मिश्रले सोधे पाण्डेलाई स्पष्टीकरण, नदिए कारबाही गर्ने चेतावनी
विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेसँग स्पष्टीकरण सोधेको छ । बुधबार बसेको विवेकशील साझाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पाण्डेलाई स्पष्टीकरण सोध्न निर्णय गरेको हो ।
पार्टी अध्यक्ष रवीन्द्र मिश्रले हस्ताक्षर गरेको स्टीकरण पत्रमा पार्टीप्रति आफ्नो जिम्मेवारी बोध नगरी केन्द्री समितिका पछिल्ला कयौं बैठकमा लगातार उपस्थित रहने, दुई तिहाइ भन्दा बढी केन्द्रीय सदस्यले बैठकबाट एकमतले गरेका निर्णय अस्वीकार गर्ने र ती निर्णय तथा पार्टी मूल नेतृत्वविरुद्ध अनर्गल र भ्रमपूर्ण प्रचार गरेको आरोप लगाउँदै त्यस्तो कार्य किन गरेको भन्दै प्रश्न गरिएको छ ।
त्यस्तै निर्वाचन आयोगमा पटक पटक तथ्यहीन आरोपसहित निवेनद दिइ किन भ्रम छर्ने कार्य गरेको भन्दै पाण्डसँग जवाफ मागिएको छ ।
पत्रमा लिखित कारणसहितको स्पष्टीकरण पेस गर्न पुस ४ गतेसम्मको समय दिइएको जनाइएको छ। र, जवाफ नदिए कारबाही गरिने चेतावनी दिइएको छ ।
५. एमालेले संसद बैठक अवरुद्ध गर्नुको औचित्य छैनः भीम रावल
नेकपा एमालेका नेता भीम रावलले संसद बैठक अवरुद्ध गर्नको औचित्यमाथि प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमार्फत रावलले सरकारलाई कामकारबाही गर्न दिएर संसदका बैठक अवरुद्ध गरिएको र त्यसको औचित्य नभएको जनाएका हुन्।
उनले कसैलाई बोल्न मौका नै नदिएर होहल्लाका बीचमा एमसीसीसँग गरिएको सम्झौता अनुमोदन गर्ने खेल त भइरहको छैन भन्दै प्रश्न गरेका छन्।
उनले भनेका छन्,’यस्तो गरियो भने राष्ट्रघात ठहर्ने छ।’ उनको दल नेकपा एमालेले लगातार संसद अवरुद्ध गर्दै आएको छ।
६. मनकामना केबलकार आइतबारदेखि चारदिन बन्द हुने
मनकामना केबलकार आइतबारदेखि चारदिन बन्द हुने भएको छ ।
गियर बक्स र टावरको मर्मत गर्नुपर्ने अनुसार केबलकार सेवा मर्मत सम्भारको लागि पुस ४ गते आइतबारदेखि ७ गते बुधबारसम्म बन्द रहने मनकामना केबलकारले जनाएको छ ।
पुस ८ गते बिहीबारदेखि पुनः सञ्चालनमा आउने एक सूचनामार्फत जानकारी गराइएको छ ।
७. २४ घण्टामा २ सय ८० जनामा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा देशभर दुई सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ११ हजार नौ सय ९४ जनाको नमुना परीक्षण गरेकोमा पीसीआर परीक्षणबाट दुई सय ५२ जना र एन्टिजेन परीक्षणबाट २८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज थपिएका सङ्क्रमितमध्ये काठमाण्डौ उपत्यकामा एक सय १८ जना रहेका छन् । मन्त्रालयका अनुसार काठमाण्डौमा ८९, ललितपुरमा २० र भक्तपुरमा नौ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा तीन सय जना कोरोना सङ्क्रमित निको भएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर पाँच हजार ६ सय ३५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।
यस्तै कोरोना सङ्क्रमणका कारण ६ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा दुई हजार पाँच सय २३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
८. नेपालले श्रीलङ्कालाई ६–० गोल अन्तरले हरायो
१९ वर्षमुनिको महिला साफ च्याम्पियनशिपमा नेपालले श्रीलङ्कालाई ६–० गोलले हराएको छ । बङ्गलादेशको ढाकामा आज बुधवार भएको दोस्रो खेलमा नेपालले श्रीलङ्कालाई ६–० गोलको फराकिलो अन्तरले हराएको हो ।
नेपालका लागि रश्मीकुमारी घिसिङले दुई तथा सविता राना मगर, मेनुकाकुमारी आले मगर, सलोनी राना मगर र रजनी थोकरले एकरएक गोल गरे ।
श्रीलङ्कालाई हराएसँगै नेपालले प्रतियोगितामा पहिलो जित निकालेको छ । जितसँगै नेपालले दुई खेलमा चार अङ्क जोडेको छ । पहिलो खेलमा नेपालले बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो ।
श्रीलङ्काको यो लगातार तेस्रो हार हो । श्रीलङ्का अङ्कविहीन छ । यसअघिका खेलमा श्रीलङ्का, भुटान र भारतसँग पराजित भएको थियो ।
नेपालले आउँदो १७ तारिखमा भुटानसँग र १९ तारिखमा भारतसँग खेल्नेछ ।
आयोजक बङ्गलादेशसहित नेपाल, भुटान, भारत र श्रीलङ्का गरी पाँच देश सहभागी प्रतियोगितामा शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् ।
सन् २०१८ मा भएको च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग फाइनलमा पराजित भएको थियो ।
९.सिलवाललाई राखेप फर्कन सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप) तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवाललाई पदमा फर्कन आज बुधवार अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले राखेपका तत्कालीन सदस्य सचिव सिलवाललाई बर्खास्ती गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । आदेशको पूर्ण पाठ भने तयार नभएको सर्वोच्च अदालतले जनाएको छ ।
सिलवाललाई गएको कात्तिक १ गतेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको थियो । त्यसविरुद्ध सिलवालले कात्तिक २८ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । राखेपमा प्रतिस्पर्धाको माध्यमबाट नयाँ सदस्य सचिवमा टङ्कलाल घिसिङ नियुक्त भइसक्नुभएको छ ।