दीपेन्द्र रेग्मी, (मनोविष्लेशण)
साथि रहेछ…, दुःख….
(गायक …… पेलाले गाईरहेको )
सुःख पाहुना रहेछन्,……, छुट्नै हतार हुन्छ….।
के….लत् बस्यो मलाई… ।
गित रेडियोमा बजिरहेको थियो, ब्याग्राउण्डमा सहकर्मि बहिनि यामु कुमालले नेताहरुको बाईट ईडिट गर्दै थिईन् …।
अघि, बाईकबाट ओर्लिएर भित्र छिर्नै लाग्दा खेल्दै गरेका ४,५ केटाकेटि मध्य एकजना सानो बाबुले “क्यामेरा मेन” अलिक चर्को स्वरमै मलाई सुनायो…., या बोलायो ?
जे होस्, माथिको गित र तलको त्यो मेरो मौनता विच केहि थियो । जसका कारण धेरैको वेवास्तामा परेको वर्तमानमा एउटा नमिठो लत भने कयौँ हण्डरका बाबजुत छुट्ने तरखर गरिरहेको छैन ।
संघर्ष जारि छ सायद त्यो त शरिर चितामा पुग्नु अगाडि सम्म त अवश्य जारि रहन्छ, रहन पनि पर्छ ।
तर यो लतमा म असन्तुष्ट छैन…..। लतको अर्थ नै त्यो विना अपूर्ण सम्झनु हो, त्यो नै महत्वपूर्ण मान्नु हो । मेरो लत देखेर धेरैले धेरै थरि सोँच्दो हो, भन्दो हो…तर म मेरो लतमा नै आनन्दित छु …., खुसि छु….. बस्, असन्तुष्टि त राज्यको वर्तमानसँग हो….।
मेरो वर्तमान मेरोलागि आनन्दित छ तर राज्यको वर्तमान, मेरो सरकारको वर्तमान, मेरो स्वाभिमान र मेरो राष्ट्रियताको वर्तमान यो सबै सबै नेपाली जनताकोलागि पिँडादायक छ ।
त्यहि पिँडामा घण्टौँ…., महिनौँ…..र अझ कोहि त वर्षौँ वर्ष सम्म पनि लाईनमा लाग्दा लाग्दा थाकेका छन्, कोहि अदालत धाउँदा धाउँदा चिथोरिएका छन् त कोहि…..घरै पिच्छे बेचिएका छन्, कोहि पाईलै पिच्छे ठगिएका छन् त कोहि…..मिनेटै पिच्छे बलात्किृत बनिरहेका छन् ….।
म अत्तालिन्छु….. पुरै देशको कहानि सम्झन थालुँ भने, देशभित्रका कालो कोटमा लुकेको न्याय, सेतो कोटले देखाईरहेको गन्धगि अनि निलो कोटमाथि षडयन्त्र गर्न कहिले दौरा सुरुवाल त कहिले टाई सुट पाईन्टमा अनेकन रङ्गहरु फेरिरहने ति जनप्रतिनिधि नामका छेपाराहरु……जब यिनिहरु देख्छु, यिनलाई सुन्छु अझ यिनिबारे जान्दछु तब क्रोध र वितृष्णा बाहेक अरु कुनै भाव भङ्गि नै भेट्टाउँदिन…..। तर म संहालिनुको अर्को विकल्प पनि छैन…., त्यसबाट संहालिनकैलागि हो यो लत….। यहि लतकै कारण म चाहान्छु कि भोलि पनि आओस्, मेरो मन मस्तिष्क, शरिर सबै सबै यहि लतमा यसैगरि रमाओस् ।
पिँडा छ….., पिँडा विनाको त लाश नै हो हुने…..तर त्यहि पिँडाका विच, अनेकन बहानामा वर्षौँदेखि अनुत्तरित बन्न बाध्य बनेका केहि मनहरुलाई उत्तर खोज्न मद्दत गरिरहनु……अनि कहिँ कतै कोहि एकले पाएको उत्तरबाट कयौँ मनले सन्तुष्टि दर्शाउनु …….वाह….., यो अनि यस्तै महसुस ….. अनुभव हुनेले नै त गर्ला…., “बेतुकमा समय फालेर ।” एक मनले त मलाई पनि गालि गर्छ ……. तर त्यो त्यस्ता गालिलाई तुरुन्त भुलाईदिन्छु, अनि सम्झिन्छु त्यो बाबुको शब्द “क्यामेरा मेन” ।
नेपालका सबै जसो मिडिया या स्वतन्त्र रुपमा कार्यरत क्यामेरामेनहरूको जीवन एक अनन्त यात्रीको कथा हो ।
जहाँ प्रत्येक फ्रेममा इतिहासको सास फुलिन्छ, तर त्यसको पछाडि लुकेको दुःखको आहाल भने अक्सर अन्धकारमय रहन्छ ।
“क्यामेरा मेन” जसलाई’ दृश्यका योद्धा’ भन्न सकिन्छ, हिमालयका उकाली–ओरालीदेखि शहरका व्यस्त सडकहरू र गाउँका कुना कन्धरामा, कैमराको आँखाले सत्यलाई कैद गर्छन् । तर यो यात्रालाई धेरैले हेर्न दृष्टिकोणमा हिजो र आजको समाज निक्कै भिन्न भएको छ । हुन त आजको समाजमा आँफुले आँफैलाई सम्मान गर्न नसक्नेहरुबाट अन्य पेशाले सम्मान खोज्नु मुर्खहरुको विचमा वुद्धत्व सिकाउनु जस्तै लाग्छ …..। थहा छ यो यात्रा सहज छैन; यो एक मनोवैज्ञानिक संघर्षको मैदान हो, जहाँ शारीरिक थकान र मानसिक आघातले निरन्तर युद्ध छेडिरहन्छन् ।
विगतका दिनहरूमा, जस्तै मीन रत्न बज्राचार्य जस्ता दिग्गजहरूले कैमरा भाडामा लिएर सुरु गरेको यात्रा, आज पनि कम तलब र महँगो उपकरणको बोझले थिचिएको छ ।
मिडिया सञ्चालकहरूले हट न्युज चाहान्छन्, नेताहरु विचको झगडा र कलाकारहरुको व्यक्तिगत गोपनियता उजागर गर्न क्यामेरामेनलाई निर्देशन जारि गर्छन् तर उनीहरूलाई सुदूर क्षेत्रमा पठाउने, देशको वास्तविक कथा वाहिर ल्याउने काममा लगानी गर्न हिचकिचाउँछन् ।
उमा बिष्ट जस्ता महिलाहरूले पुरुष–प्रधान समाजमा एक्लै संघर्ष गर्दै आएकी छन्, जहाँ लैङ्गिक असमानता र साथीहरूको अभावले मनलाई एक्लो बनाएको कयन् तिता अनुभव सम्हालेको उनि सुनाउँछिन् । केहिले फोटोजर्नालिज्मलाई साधारण फोटोग्राफी जस्तै ठानेर व्यवहार गर्छन् ।
कुनै सार्वजनिक कार्यक्रममा क्यामेरा लिएर उभिएको पत्रकारलाई “मेरो फोटो खिचिदेउ न” भन्दै पोज दिनेहरु बग्रेल्ति भेटिन्छन् ।
तर वास्तवमा फोटोजर्नालिज्म वा भिडियो जर्नालिज्म भनेको कथा भन्ने एक अद्भुत कला हो, जसमा प्रत्येक छायाँले भावनाको गहिराइ बोक्छ, जे देख्छ त्यहि देखाउँछ ।
त्यसलाई नबुझि क्यामेरामेनहरुप्रति गरिने अस्वभाविक व्यवहारले मनोवैज्ञानिक आघात निम्त्याउँछ, अझ विभिन्न स्थानमा हुने आक्रमणले क्यामेरा मेनहरुलाई शारीरिक चोट मात्र होइन, डर, तनाव र ट्रामाको सिर्जना गर्छ, जसले हामिहरूलाई निरन्तर असुरक्षित महसुस गराउँछ ।
मेरो १ दशक भन्दा लामो सञ्चारकर्मको यात्रामा म स्वंयले पनि यसकिसिमको भौतिक आक्रमण र मनोवैज्ञानिकरुपमा चेतावनिमुलक शाब्दिक आक्रमणको समेत सामना गरेको छु ।
समग्र अवस्थालाईं मनोविश्लेषण गर्दा, यो जीवन एक द्वन्द्वपूर्ण अवस्था हो । कोभिड–१९ महामारीले ८३% पत्रकारहरूमा असुरक्षाको भावना बढायो, ७५% मा चिन्ता, र ६२% मा दुःख ।
फोटोजर्नलिस्टहरू र भिडियोग्राफरहरूले घटनास्थलमा निकटताको कारण संक्रमणको जोखिम पनि बढी सहनुप¥यो, जसले कामको गुणस्तरमा असर पा¥यो ।
महिलाहरूमा अनलाइन उत्पीडनले मानसिक स्वास्थ्यलाई थप कमजोर बनाएको महिला सञ्चारकर्मीहरु सुनाउँछन् । यो सबैले उनीहरूलाई एकाकी बनाउँछ—एउटा मनोवैज्ञानिक जेल, जहाँ सत्यको खोजीमा आफ्नै अस्तित्व जोखिममा पर्छ ।
सत्य कैद गर्ने उत्साह र जीवनको अनिश्चितताको भयबीच, सायद मेरो जस्तै सबै सबैको मनमा निरन्तर द्वन्द्व चल्छ होला । तर यो दुःखमा पनि आशाको किरण छ । विकाश रौनियार जस्ता फोटोजर्नालिस्टहरू भन्छन्, “सबै राम्रा फोटोहरूमा राम्रो कथा हुँदैन, तर सत्यको खोजीमा हामी जुम इन र आउट गर्छौँ ।” सामाजिक सञ्जालको दबाब र डिजिटल युगको चुनौतीबीच पनि, हामीहरूले वास्तविक कथाहरू खोजिनै रहेका छौँ । यसलाई संस्कृत श्लोकले अझ सुन्दर रूपमा व्यक्त गर्छः
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ।।
(भगवद्गीता २ः४७) — कर्ममा मात्र अधिकार छ, फलमा होइन; फलको हेतु नबन, न त कर्मबाट विमुख हौ । यो श्लोक तिनीहरूको समर्पणलाई प्रतिबिम्बित गर्छ, जसले कम तलब र जोखिमबीच पनि सत्यको दृश्य कैद गर्छन् ।
दुःख सहने शक्तिलाई स्मरण गराउने अर्को श्लोक छः
दुःखेष्वनुद्विग्नमनाः सुखेषु विगतस्पृहः ।
वीतरागभयक्रोधः स्थिरमनिरुच्यते ।।
(भगवद्गीता २ः५६) — दुःखमा उद्विग्न नहुने, सुखमा स्पृहा नराख्ने, राग–भय–क्रोधबाट मुक्त, त्यो स्थिर मन वाला । जो म हुँ, जो हामि क्यामेरामेनहरु हौँ ।
तसर्थ म त्यो बालकको त्यो वाक्यांशमै सन्तुष्ट छु, कमाउने र गुमाउने त जिवनको यथार्थ खेल नै हो, तर सानो प्रयासबाट कमसेकम एक बालकको मनष्पटलमा म आँफुलाई क्यामेरामेनको रुपमा उभ्याउन सफल बनेकोमा म खुशि….., निक्कै …..। अझ कति गजब हुँदो हो, सबै सबैले क्यामेरामेनहरू सत्यका निर्भीक साक्षी भएको महषुस मात्र गरिदिए, हाम्रा जीवनमा चुनौतीहरूको आँधी चल्छ, तर हाम्रो कैमराले आशाको उज्यालो छर्छ भन्ने बुझिदिए । समाजले हामीहरूलाई कम्सेकम फोटो खिच्ने मान्छेको रुपमा मात्र नबुझि हाम्रो मानसिक स्वास्थ्यको रक्षा गरे मात्र म त्यो बालकको शब्दमा खुसि हुनुको अर्थले सार्थकता प्राप्त गर्ने थियो ।

