
काठमाडौं । ‘कबड्डी ४’पछि घरेलु बक्स अफिसमा देखिएको संकट तत्कालै थामिने संकेत छैन । अहिले प्रदर्शन भइरहेका दुई फिल्म ‘पानीफोटो’ र ‘म’ले औसत रेटिङ प्राप्त गरे पनि दुवैको व्यावसायिक प्रस्तुति निराशजनक छ ।
वितरक र निर्माता दुवै कमाइ सार्वजनिक गर्न तयार छैनन् । रिलिजअघि ‘हाइप’ बटुलेको फिल्म पानीफोटोले अपेक्षित ओपनिङ गर्न नसकेपछि के गम्भीर फिल्मप्रति दर्शकको आकर्षण नभएकै हो भन्ने प्रश्न तेर्सिएको छ ।
‘चिसो मान्छे’, ‘पानीफोटो’ र ‘दोख’को असफलताको अर्थ के हो ? यसले राधा र प्रकाशलाई कस्तो सन्देश दिन्छ ? समीक्षक तथा निर्देशक मनोज पण्डित भन्छन्, ‘अब गम्भीर होइन, विशेष फिल्मको जरुरी छ । दर्शकले विशेष फिल्म हेर्न चाहेका छन् । अब यस्तोखाले क्राफ्ट बनाउनुको विकल्प छैन ।’
‘कबड्डी’ निर्देशक रामबाबु गुरुङ आफ्नो फिल्म हिट हुनु पछाडि पात्र र संवाद नै मुख्य पक्ष रहेको बताउँछन् । ‘पात्र, संवाद र स्थानीयताले दर्शकलाई तानेको हुनुपर्छ । दर्शक इन्टरटेन हुन चाहन्छन्,’ गुरुङको विश्लेषण छ ।
समीक्षा राम्रो भएपछि ‘दोख’ र ‘पानीफोटो’को असफलताले प्रकाश र राधालाई झस्काएको छ । किनभने, यी फिल्मको ‘सिनेम्याटिक पर्सपेक्टिभ’ एउटै हो ।
‘हामीले यस्तो कथा नभने हाम्रो कथा कसले आएर भन्ने त ?’ पानीफोटो निर्देशक खगेन्द्र लामिछानेको प्रश्न छ, ‘हाम्रो कथा हामीले नै भन्नुपर्छ । हाम्रो कथा कोही आएर भनिंदैन,’ बक्स अफिस नतिजा मात्र सबथोक भएर कलात्मक पक्ष पनि महत्वपूर्ण हुने खगेन्द्र बताउँछन् ।
के दर्शकले गम्भीर नभएर विशेष फिल्म नै चाहेका हुन् त ?