शाश्वतधाम प्रवेशका लागि अनलाइन फर्म भरेर पास लिने व्यवस्था मिलाइएको छ । अनलाइन मार्फत भरिएको कार्डमा फोटो अनिवार्य गरिएको छ । फोटोसहित इमेलबाट प्रिन्ट गरिएको पासलाई आधिकारिक मान्ने बताइएको छ ।
एनसञ्चार संवाददाता, भदौ २, नवलपुर : बागेश्वर बाबाका नामले चर्चित भारतीय युवा धर्मगुरु धीरेन्द्रकृष्ण शास्त्रीलाई भेट्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउद होटलमै पुगेका छन् । गएराति अबेर सानेपास्थित होटल भिवान्तामै पुगेर दुई मन्त्रीले शास्त्रीलाई भेट गरेका हुन् ।
स्रोतका अनुसार होटलको एउटा कक्षमा शास्त्रीले मन्त्रीद्वयलाई गोप्यरूपमा भेट दिएका थिए । गृहमन्त्रीलाई भेटका लागि राति ९ बजेको समय दिइएको थियो । मन्त्री श्रेष्ठले शास्त्रीलाई भेट्न केहीबेर प्रतिक्षा समेत गर्नुपरेको बुझिएको छ । उनी राति साढे १० बजेतिर होटलबाट बाहिरिएका थिए ।
भेटमा शास्त्रीले गृहमन्त्रीलाई नेपाललाई पुनः हिन्दु राज्य बनाउन पहल गर्न सुझाव दिएको स्रोतको भनाइ छ । श्रेष्ठले आफू पनि हिन्दु नै भएको भन्दै आध्यात्मप्रति झुकाव रहेको बताएका थिए ।
यस्तै शास्त्रीले आजै प्नधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्दै छन्। स्रोतका अनुसार आज बिहान ९ बजे प्रधानमन्त्रीलाई भेट्ने तय भएको हो ।प्रधानमन्त्रीसँगको भेटपछि उनी आजै नवलपरासी पूर्व, नवलपुर स्थित शाश्वत धाममा हनुमान प्रवचन दिन आउँदैछन् ।
शाश्वतधामको तयारी पुरा : कसरी प्रवेश गर्ने ?
चौधरी ग्रुपका निर्देशक वरुण चौधरीको निमन्त्रणामा शुक्रबार नेपाल आएका शास्त्री काठमाडौंमा रहेको चौधरीकै भिवान्त होटलमा बसेका हुन् । शनिबार (आज) करिब १० बजेपछि भरतपुर विमानस्थल हुँदै उनी नवलपुरको दुम्कौलीमा रहेको शाश्वतधाममा आउने छन् । उनि आउनु अगावै कार्यक्रम स्थल निर्माण देखि मञ्च व्यवस्थापन लगायतको सम्पूर्ण तयारी पुरा भैसकेको चौधरी ग्रुपका प्रबन्धक रामचन्द्र धितालले बताए ।
शाश्वतधाममा लगातार तीन दिन दिउँसो हनुमान कथा वाचन गर्ने प्रबन्धक धितालले जानकारी दिए । शाश्वतधाम परिसरमा त्रिपाल टांगेर सर्वसाधारका लागि बस्ने व्यवस्था मिलाइएको छ ।
शाश्वतधाम प्रवेशका लागि अनलाइन फर्म भरेर पास लिने व्यवस्था मिलाइएको छ । अनलाइन मार्फत भरिएको कार्डमा फोटो अनिवार्य गरिएको छ । फोटोसहित इमेलबाट प्रिन्ट गरिएको पासलाई आधिकारिक मान्ने बताइएको छ । हरेक दिन दिउँसो २ बजेबाट साँझ ५ बजेसम्म उनले कथा वाचन गर्ने बताइएको छ ।
कथावाचन श्रवणका लागि श्रद्धालुहरूको हिजै देखि बाक्लो आगमन र जमघटले दुम्कौली क्षेत्रका होटलहरू भरिएकाछन् । नवलपुरको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले कार्यक्रम स्थलको निरिक्षण गरि आवश्यक सुरक्षा व्यवस्था मिलाईएको बताईन । कथावाचन स्थलमा चोरी डकैती होहल्ला हुन नसकोस भनि थप शान्ति शुरक्षाका लागि नेपाल प्रहरी सहित चारै तहको सुरक्षा टोली कार्यक्रम स्थल वरपर रहने जिल्ला प्रहरी प्रमुख भूवनेश्वर तिवारीले बताए ।
तिवारीले स्वयंसेवकहरूले आगन्तुकहरूको छुट्टै लाईन बनाउने र राजमार्गको आवागमनलाई सुचारू राख्न ट्राफिक प्रहरी परिचालन गरिने बताउदै जो कोहीलाई प्रहरी सहायता चाहिदा १०० (एक सय) वा ९८५७०९०३४४ मा सम्पर्क गर्न सुझाएका छन ।
को हुन् त धिरेन्द्र कृष्ण शास्त्री ? कस्ता छन् विवाद ?
भारतमा उनी विवादास्पद छवि भएका चर्चित धार्मिक गुरु हुन् । बीबीसीका अनुसार, उनी आफूसँग अलौकिक शक्ति रहेको, बिरामीहरूलाई निको पार्न सक्ने र भूतप्रेत लागेकाु मानिसलाई त्यसबाट मुक्त गर्न सक्ने दाबी गर्छन् । मानिसहरूलाई आफ्नो व्यापार(व्यवसायमा आएका सङ्कट तथा आर्थिक समस्याबाट पार लगाउन सक्ने बताउँछन् ।
उनी २६ वर्षका भए । भारतको मध्यप्रदेशस्थित बागेश्वर धाम मन्दिरका यी पुजारी रङ्गीचङ्गी पोसाकमा ठाँटिन्छन् र इतिहासमा महाराष्ट्रका पेशवा शासकहरूले लगाउनेजस्ता टोपी लगाउँछन् । शक्तिशाली मन्त्री र राजनीतिकर्मीहरू आफ्ना अनुयायी रहेको उनले बताउँदै आएका छन् ।
सामाजिक सञ्जालसँगै टेलिभिजनमा पनि उनको चर्चा हुने गरेको छ । फेसबुकमा उनका ५५ लाख फलोअर्स छन् । युट्युबमा उनका ३९ लाख सब्स्क्राइबर छन् । इन्स्टाग्राम र ट्विटरमा पनि उनका लाखौं फलोअर्स छन् ।
अन्धविश्वासविरुद्ध अभियान चलाउँदै आएका भारतका दर्शनशास्त्री श्याम मानवले उनलाई आफूले गरेको दाबी पुष्टि गर्न चुनौती दिएपछि यी धार्मिक गुरु थप चर्चामा आएका थिए । मानवले उनको अन्ध श्रद्धा निर्मूलन समितिमार्फत् आफूले तोकेका १० जनाको मन पढ्न सके ३० लाख भारतीय रुपैयाँ दिने घोषणा गरेका थिए । त्यो चुनौती सामना नगरी शहर छोडेपछि कैयौँले शास्त्री भागेको भनेका थिए । शास्त्रीले भने महाराष्ट्रमा त्यस्तो चुनौती सामना नगर्ने बरु तटस्थ छत्तीसगढमा गर्न भनेका थिए । तर मानव, उनले महाराष्ट्रमा त्यस्तो शक्ति दाबी गरेकाले त्यहीँ चुनौती सामना गर्नुपर्ने बताएका थिए ।
शास्त्री राजनीतिक विवादमा पनि पर्ने गरेका छन् । उनले अल्पसङ्ख्यकविरोधी विज्ञप्तिहरू दिने र भारतलाई हिन्दूराष्ट्र बनाउनुपर्ने बताउँदै आएका छन्। उनीमाथि छुवाछूतको व्यवहार गरेको आरोप पनि गत वर्ष लागेको थियो । उनले एकजना मानिसलाई ुमलाई नछोऊ‘तिमी अछूत हौु भनेका थिए । उनलाई दक्षिणपन्थी हिन्दू नेताहरूको महत्त्वपूर्ण समर्थन छ, जसले हिन्दूहरूलाई धर्मान्तरण गराइरहेकाहरूको विरोध गरेका कारण उनको आलोचना भएको मान्छन् ।
शास्त्रीले आफूलाई धेरैजसो गाउँले र एक अनपढ मानिसु भन्छन् र मन्दिरको औपचारिक वेबसाइटका अनुसार उनी बाल्यकालदेखि नै धर्मप्रति रुचि राख्ने तथा धार्मिक कार्यक्रममा जानका लागि स्कूलका कक्षाहरू छोड्ने गर्थे । सन् १९९६ मा गरिब ब्राह्मण परिवारमा छत्रपुर जिल्लाको गडा गाउँमा जन्मिएका उनले परिवारको गुजाराका लागि थप कमाइ गर्न विद्यालयको पढाइ बीचैमा छोडेका थिए । उनको स्कूलका एक साथीले बताएअनुसार केही वर्षअघि शास्त्री एक वर्षका लागि हराएका थिए । उनी फर्केपछि राजनीतिकर्मी र प्रभावशाली मानिसहरू उनको मन्दिर धाउन थालेका थिए । उनले भने, पाँच वर्ष अगाडिसम्म शास्त्री मोटरसाइकलमा यात्रा गर्थे। अहिले उनी एक दर्जन कार अगाडिपछाडि राखेर यात्रा गर्छन्। भारत र विदेश यात्रा गर्दा कहिलेकाहीँ त निजी जेटको प्रयोग गर्छन् ।